चार मुक्तकहरु : कमला घिमिरे अधिकारी
कपन अनलाइन
काठमाडौं, पुस १३।
मरुभुमिको कठिन यात्रामा पनि प्यास भएन भने
बर्षौँ कुरेर भेटिएको वस्तु पनि खास भएन भने
अनावश्यक बन्धन र शंका नगर्नु मायामा,
टुक्रिन सक्छ सम्बन्ध, एक अर्कामा बिश्वास भएन भने ।
उब्जने कैयन् भावहरु शून्य र कैयन् स्थुल हुन सक्छन्
अन्जानमा गरेका गल्तिहरु फगत भूल हुन सक्छन्
स्वयं भोग्नु र अरुको देख्नुमा फरक कति छ कति,
नभोगेका भोगाइ मात्र कागजका फूल हुन सक्छन् ।
अक्कल हुनेले वातावरण उपयुक्त पार्न सक्छ
छरिएर रहेका वस्तुहरु पनि संयुक्त पार्न सक्छ
अध्यात्मको मार्गमा हिड्नेले नै सम्भव पार्छ सायद,
ज्ञान त्यो चिज हो, जसले विघ्नबाट मुक्त पार्न सक्छ ।
पराधिन छ कि स्वतन्त्र, भाव फुकाइ बाट प्रष्ट हुन्छ
वचनको वजन ब्यक्तिको शीर उठाइ बाट प्रष्ट हुन्छ
फलेको डाली र बौद्दिक ब्यक्ति निहुरिन्छ निरन्तर,
त्यस्तै, दाना कति भरिलो छ झुकाइ बाट प्रष्ट हुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक