रेंगा कविता : श्रीराम श्रेष्ठ

रेंगा कविता :  श्रीराम श्रेष्ठ

कपन अनलाइन
काठमाडौं, भदौ २२।
१)
विद्रोही मन
संघीयतामा रम्दै
जातीय द्वन्द ।
००
काटमारको स्थिति
भलो हुन्न कसैको ।

२)
मिलेका मन
आपसी झै–झगडा
फरक दिशा ।
००
रिसले सिध्याउँछ
मेलमिलाप राम्रो ।

३)
दुनियाँ स्वार्थी
थोत्रो अपनत्वले
गनायो लाज ।
००
देखावटी मित्रता
कैची मार्ने स्वभाव ।

४)
धैर्यता गर्दै
बसेको मन थाक्दै
रोयो समय ।
००
आशा भरोसा टुट्यो
पखालेको सिन्दुर ।

५)
स्वार्थमा लिप्त
रिसले शत्रु बढ्छ
द्वन्दको खेल ।
००
भालेको जुधाईले
रगताम्य अवस्था ।

६)
सपना सुन्दा
झाङ्गिएको नेपाल
सत्य मरेछ ।
००
गफाडीको गफले
जिब्रो टोक्दै लजायो ।

७)
नयाँ नेपाल
एकताको आभास
गर्दै कल्पना ।
००
जुगाको लडाईले
विभाजित घमण्ड ।

८)
मान्छेको जन्म
सम्झेको सुख, दुःख
स्वार्थ क्षणिक ।
००
बाँचुन्जेलको मन
दुनो सार्दै आफैंमा ।

९)
खराव सोच
विवेक दुष्ट हुँदा
फन्दामा आफैं ।
००
मानेको पश्चाताप
स्वीकारेको गल्ती नै ।

१०)
चिप्लियो गल्ती
इज्जत जोगाउन
लाज पछार्दै ।
००
भावना पोखिएर
चाकडीमा अल्झेको ।

११)
अाँखै क्यामरा
निद्रामा मस्त हुँदा
रोयो सपना ।
००
उज्यालो बिम्झिंदा
विपनाले जिस्कायो ।
१२)
निलो तालमा
स्पर्श गर्ने मनले
खेलेको पौडी ।
००
गहिरो तातो पानी
पौडंदामा थाकियो ।

१३)
प्यास लागेर
खोलासम्म धाएको
पानी नै लेदो ।
००
हेर्दामै घिन लाग्ने
फर्के मन बुझाई ।

१४)
कष्ट सहेर
देखिएको सपना
भुल्नै नसक्ने ।
००
चलचित्र दृश्य झैं
दिमागै घुमिरह्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।