शुभेच्छा : पुनम घिमिरे (कविता )

शुभेच्छा :  पुनम घिमिरे (कविता )
कपन अनलाइन
काठमाण्डौ,भाद्र १५ ।

सुनसान छ रात
आकाशमा ताराको टिल्पिल देखिन्न कतै
म निहालि रहेछु
एकटक !

हतास छु
निरास छैन्
प्रतीक्षा छ
प्राप्तिलाई होइन !

चलिरहनेछ यही क्रम
क्रम भङ्ग नभए सम्म
प्रतिक्षा र प्राप्ति बीच
विभेद स्वार्थ नरहे सम्म !

आउदै छन्
यादका चिप्लेटिमा
सुनौला आभासहरु चिप्लेटि खेल्न
म आभाष सँगै चिप्लिदै छु
ठोकिदै छु !

आँखा हटेको छैन्
विश्वास डगमगाएन
नियति सँग संघर्ष चलि रहेछ
उदाउँनु र हुनु बीच !

झरि रोकियो
बादल फाट्यो
टिल्पिल टिल्टिल तारा नाच्यो
मनको घण्टी आफै बज्यो !

अचम्म
अनुहार यसरी उज्यालो भयो
जब आकासमा जून उदायो
शुभकामनाका शब्द सँगै
ओठ आफै सलबलायो !

सुवेक्षाका रङ्गले
रङ्गियो रङ्गायो
जूनले जब धर्ती भिजायो
शितल कान्तिले जीवन मृदुल बनायो
सुर ताल लयमा
जिन्दगीको मधुर गीत गुनगुनायो !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।