शीतलहरको कहर :अरुणबहादुर खत्री नदी (समिक्षा)

शीतलहरको कहर :अरुणबहादुर खत्री नदी (समिक्षा)
कपन अनलाइन
काठमाडौं, फागुन २६।
कवि विजयराज न्यौपानेको शीतलहरको कहर नामक बालकविता सङ्ग्रह छैठौ बाल कृतिको रुपमा २०७८ सालमा प्रकाशित भएको छ । उनको पहिलो बाल कृति सुनटिकी र जूनटिकी नामक बालकवितासङ्ग्रह २०५० सालमा निस्केको थियो । बाल र काव्य यी दुई शब्द मिलेर बालकाव्य शब्द बन्छ । बालकविताको विशिष्ट चुली विजयराज न्यौपानेद्वारा रचित शीतलहरको कहर बालकाव्य झिनो कथावस्तुका साथ अगाडि बढ्न सकेको छ । हेमन्त ऋतुमा प्रायः तराई क्षेत्रमा घाम देखिन नसक्दा बढ्ने चिसोपनलाई शीतलहर भनिन्छ । यहाँ यही शीतलहरका कारणले आमा, छोरी र सानो भाइ समेतको परिवारले खेप्नु परेको दुःखको मन छुने सम्वादबाट काव्य अगाडि बढेको छ । दूधमुखे भाइ बिरामी भएकाले झारफुक गरी निको पार्ने मनसायले आमाछोरीलाई धामीझाँक्री बोलाउन भन्छिन् । विद्यालयमा पढ्दै गरेको १२ वर्षकी छोरी शारदा धामीझाँक्रीको फुकफाकलाई अन्धविश्वास भन्छिन् । कविले आफूभन्दा सानालाई पालना गर्नुपर्ने अर्ती उपदेश सिकाएका छन् ।
कुरी बसी यो झुप्रो
ढाड पनि भो कुप्रो
कैल्यै सुख आएन
दुःख दर्द गएन ।
शीतलहरको कहर
बालकाव्यको कथावस्तुलाई आमा र छोरीबीचको संवादका माध्यमबाट कविले प्रस्तुत गरेका छन् । यो काव्य एउटा त्यस्तो गरिब परिवारको पीडाको कथा हो जसको मूली कमाउन विदेश गएका छन् र घरमा एक अशिक्षित आमाले छोराछोरीको पालनपोषण, शिक्षादिक्षा, घरव्यवहार सबै हेर्नुपरेको अवस्था छ ।
त्यस्तो अवस्थाको परिवारमा काखको छोरा शीतलहरको चिसोका कारण पखाला लागि बिरामी भएपछि छोरीलाई धामी बोलाउन आमाले भन्छिन् । तर विद्यालय जाने छोरीले धामी बोलाउन पर्दैन भन्दै भाइलाई चिसोबाट बचाउन गर्नुपर्ने उपायहरुका बारेमा विस्तृत रुपमा आमालाई बताउँछिन् ।
आमाः घाम देख्न नपाको
कति दिन भैसक्यो
चिसा हात छन् गोडा
गरेको छ झन् दिसा ।
सागपात गाजर गेडागुडी चम्सुर पकाएर पानीमा दिनु भन्छिन् सानीमा । सुप भयो तयार दिऊँ धेरै पियार खानु राम्रो झोल त मिल्छ अनि ताकत कविले लेखेका छन् । बोक्सी कोही हुँदैन देख्ने दोषी हुँदैन हाम्रो दृष्टि दोष हो अज्ञानको सोच हो भनेर कविले उपदेश दिएका छन् । यस बालकाव्य सङ्ग्रहभित्रका बालकविताका श्लोकहरु स्कूलमा पढ्न जाने भाइबहिनीहरुका निम्ति सन्देशमूलक छन् । अन्त्यमा कवि न्यौपानेका यस्तै सार्थक अन्य बालकविताका सङ्ग्रह थपिदै जाउन् भन्ने कामना गरिन्छ ।
पुस्तकः शीतलहरको कहर
लेखकः विजयराज न्यौपाने
प्रकाशकः अक्षरधाम नेपाल
संस्करणः पहिलो २०७८
पृष्ठः २०
मूल्यः रु.१४५।–
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।