रहर : अम्बिका धिताल (लघुकथा)
कपन अनलाइन
काठमाडौं, फागुन १९।
‘कति हजारको सपिङ गर्नुभयो हजुरले ?’ रमिताले सोधिन् ।
‘त्यस्तै भयो होला दुई हजार जत्तिको ।’ अशोकले निराश देखिन्थे ।
रमिताले व्यङ्ग्य गरिन् ‘किन निरास हुनुहुन्छ ? केटा मान्छेको सदाबहार एकै ड्रेस हुन्छ, मात्र रङ फरक हो । हाम्रो त पन्ध्रपन्ध्र दिनमा नयाँनयाँ डिजाइन आउँछ ।’
अशोक बोले, ‘जति नयाँ आएपनि आखिर शरीर ढाक्ने न हो, किन दशथरि चाहियो ? म लुगा लगाउन सौखिन छैन ।’
‘हजुरको सौख अर्कै छ अनि किन लुगा चाहियो त ?’
‘ल छोड्देऊ यो लुगासुगाको कुरा साँच्चै त्यो अर्डर गरेको हार ल्यायौ ?’ अशोकले जिज्ञासा राखे ।
‘खै कहाँ जान भ्याएकी छु र ! आज
कपालमा मेहन्दी राखेँ ।’ रमिताले मुहार
धपक्क बलेको थियो ।
‘केके हो, केके तिमी त आफ्नै विवाहभन्दा पनि चर्को गर्दै छ्यौ है ?’ अशोक खिन्न थिए ।
‘सुन्नुहोस् न हजुर ! मलाई त अहिले आएको नयाँ डिजाइनको एउटा रानीहार बनाउन असाध्यै रहर लागेको छ ।’
अशोक बोले ‘मलाई त सादा जीवन नै मन पर्छ रमिता ! यी गहनाले तिमीलाई कृत्रिम बनाएको छ बुझ्यौ ?’
बाहिर राम्री केटी देखेपछि मन परिवर्तन नहोस् भनेर पनि मलाई अरूभन्दा राम्री हुन मन लाग्छ । बरू आज कति पुगेछ सुनको मूल्य ल्याउनु त पत्रिका’ भन्दै अशोकको हातको पत्रिका तान्दै
हेरिन् ।
‘ए एक लाख अठार हजार पुगेछ । पाँच तोलाले त बन्छ,बनाइदिनु न । खाना खाएपछि जाने है अर्डर गर्न ?’
अशोकको मुहारमा कालो बादल मडारिएको थियो । एक्कासी मेघ गर्जिदै भने ‘हेर रमिता ! तिम्रा सारा रहर पुरा गर्दा आज यो अवस्था आयो । अब के गर्ने तिमी नै भन’ भन्दै त्यही पत्रिका देखाए ।
जसमा उनकै नाममा भएको घरजग्गा लिलामीको पैंतिस दिने सूचना उल्लेखित थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।