चार मुक्तक : नव शिला
कपन अनलाइन
काठमाडौं, फागुन १९।
सजिलो छैन बाटो भिरपहरा उकालोओरालो अनि अक्कर छ
पार गर्नलाई कठिन यो उर्लिने खोलाखोल्सा नदी र सागर छ
अनिश्चित छ सधैँ जिन्दगीको यात्रा गन्तव्य कहाँ हो थाहा छैन,
तर पनि हारेको छैन हिम्मत यो नवशिलाको हिडाई निरन्तर छ ।
हेरौँला म पनि कहिलेसम्म बाँच्दो रहेछ यसरी शकुनी बनेर
मेरो कोमल यो हृदयलाई बारम्बर मारेर यसरी खुनी बनेर
भुलेर ति बिगतका मिठा स्वर्णिम पल बिर्सेर बाचा कसमहरु,
कठोर दिल बोकेर आफ्नै मान्छेसँग सधैँभरि बैगुनी बनेर ।
मै जान्ने मै सुन्ने बन्छ उ हिड्छ घमण्ड अनि अहंमता बोकेर
मनमा खुरापात र पाप अनि मस्तिष्कमा अराजकता बोकेर
कसैको भलो चाहाँदैन हरेक कार्यमा अड्चन मात्र तेस्र्याउछ,
हेर्छु म कहिलेसम्म टिक्छस् यो चर्तिकला बैमनश्यता बोकेर ।
कसरी रमाउन सक्छ मान्छे यसरी कोमल दिललाई दुखाएर
दिई दुख पीडा यातना अनि धोका सधैँभरि अरुलाई रुवाएर
कसरी बिर्सिएको होला मानवता धर्म निष्ठा कर्तब्य जिम्मेवारी,
किन राख सक्दैन सम्हाली आफ्नो इमान इज्यतलाई बचाएर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक