गुरु : रुपक राई (कविता )

गुरु : रुपक राई (कविता )
कपन अनलाइन
काठमाण्डौ,फागुन ११।
प्यासी र मुलको
सुगन्ध र फुलको जस्तै हाम्रो मिलन हुँदा
तिम्रो कमलचरण आँशुले धोइदिएको थिएँ मैले
मेरो कमलो मन मुस्कानले छोइदिएका थियौ तिमीले
यसरी तिमीलाई गुरु मानेको थिएँ मैले ।
मेरो लाचारी र गरिबी थाहा पाएर
मेरो घर नाउँको घारीमा
मलाइ खोज्दै आएर
एक्कासी आफुसाथै लैजाँदा एकदिन
म माटोबाट छुट्टिएको अंकुर जसरी छट्पटाएको थिएँ
तर,तिमीले मलाइ अझै
नयाँ फराकिलो बगैचामा रोपीदियौ– ललितकलाको
तत्क्षण तिमी गुरुबाट मेरो गुरुबा भयौ ।
चित्रकार बन्ने मेरो थामिनसक्नुको रहर थियो
तर मलाइ कताकता डर थियो
मेरो लगन र मन मगन देखेर
चकित एवम् पुलंकित तिमीले
कतै द्रोणाचार्यले जसरी माग्ने त होइनौ गुरुदक्षिणा ?
कतै हुने हुँ कि एकलव्य जस्तो म अङ्गुठा विना ?
मिलारेपाको जस्तै बेहाल पो हुने हो कि ?
कतै म अङुलिमाल पो हुने हुँ कि ?
तर सबै सङ्काहरु जलाइदिएर
सर्वस्व मलाइ दिएर
तिमी गुरुबाट मेरो गुरुवर भयौ ।
म शिष्यबाट सर्जक भएँ !
त्यो तिम्रै आशिर्वाद हो
त्यो तिम्रै साधुवाद हो
हे गुरु– ईश्वर छन् छैनन् ? मलाइ थाहा छैन
तिमी नै मेरो गुरु हौ
तिमी नै मेरो ईश्वर हौ !
(वरिष्ठ चराचित्रकार तथा कवि हेम पौडेल ज्यूमा समर्पित !)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।