मौन स्वीकृति : गङ्गा आचार्य सापकोटा (लघुकथा)
कपन अनलाइन
काठमाडौं,माघ २६।
काठमाडौं,माघ २६।
गरिमा भर्खरै कलेज भर्ना भएर पढ्दै थिइन् । बा आमाले उनको बिहे गरिदिए ।कत्रो पढ्ने रहर थियो ।धक्का लाग्यो ।बिहे पश्चात् पढाइलाई तत्काल निरन्तरता दिन सकिनन् ।
उनी आमा भइसकेकी थिइन् । तैपनि पढ्ने रहर उर्लिएर आउँथ्यो । एक दिन उनले सोचिन् । ‘कलेज जान पो बाधा घरमै पढेर परीक्षा दिन मलाई कसले रोक्छ र ?’ उनले सोही विचार श्रीमान सँग व्यक्त गरिन् । सायद कठिन देखे उनका श्रीमानले त्यति चासो देखाएनन् ।
गरिमाले पढ्ने अठोट गरिसकेकी थिइन् । किता बजम्मा गरिन् । अरु बेला कामले फुर्सद हुँदैनथ्यो । सुत्ने बेलाको केही समय पढ्न छुट्टाइन् । घर परिवार, व्यबहार र ससाना छोराछोरी बिच सामञ्जस्य मिलाउँदै परीक्षा दिने काम जारी राखिन् । उनको इच्छामा उनका श्रीमान कहिल्यै बाधक बनेनन् ।
पटकपटकको प्रयास पछि प्रवीणता प्रमाणपत्र तह पास गरिन् । संसार जिते जस्तै लाग्यो । श्रीमान सँगखुसी बाँडिन् । उनका श्रीमानको मुहारमा खुसीको चमक देखियो । गरिमालाई अझै प्रोत्साहन मिल्यो ।
जीवनकाआरोह अवरोहसँग सम्झौता गर्दै गर्दै गरिमाले एक दिन स्नातकोत्तर तहपनि पूरा गरिन् । र श्रीमानलाई प्रमाणपत्र देखाउँदै भनिन् ‘जीवन साथी होस् त हजुर जस्तै । यसको सम्पूर्ण श्रेय हजुरलाई जान्छ ।’ गरिमालाई हेर्दै उनका श्रीमानले झिनो स्वरमा भने ‘मैले तिमीलाई पढ भनेर कहिल्यै प्रोत्साहन गरिनँ ! मलाई किन श्रेय ?’ गरिमाले प्रेमपूर्वक भनिन् । ‘पढ नभने र के भयो त ? नपढ पनि त कहिल्यै भन्नुभएन ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।