आयोजक भ्याली पब्लिक,ग्रिनल्यान्ड र गोल्डेनपिकलाई उपाधि

कपन अनलाइन
काठमाडौं,माघ २६।
ग्रिनल्यान्ड, आयोजक भ्याली पब्लिक र गोल्डेनपिकले १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबर जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बन्न सफल भए ।
सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५३–४७ ले पराजित ग¥यो । ग्रिनल्यान्डका सुरेश बिसीले २२ अंक जोडे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले श्री सत्यसाइलाई ५०–३८ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १४ अंक जोडिन् ।
जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले भ्याली पब्लिकलाई ४३–२३ ले पाखा लगायो । गोल्डेनपिकका नेल्सन गुरुङले १८ स्कोर गरे ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका जिग्मे शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ, सिनियर गल्र्समा भ्याली पब्लिककी रशी शाह र जुनियर ब्वाइजमा गोल्डेनपिकका नेल्सन गुरुङ गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका लाक्यप शेर्पा, सिनियर गल्र्समा भ्याली पब्लिककी एन्जल गुप्ता र जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक विक सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रतियोगिताभर लाक्यपले १ सय ११, एन्जलले ६६ र अशोकले ४४ स्कोर गरेका थिए ।
सिनियर ब्वाइजमा भद्रकाली, सिनियर गल्र्समा बीएमसीए र जुनियर ब्वाइजमा एसिया प्यासिफिक अनुशासित टिम बने । सिनियर ब्वाइजमा युनिभर्सिटी, सिनियर गल्र्समा ह्वाइट माउन्टेन र जुनियर ब्वाइजमा प्रारम्भ ‘इमर्जिङ टिम’ ठहरिए ।
विजेतालाई भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी सह–संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारी, प्याब्सनकी प्राज्ञिक सल्लाहकार अन्जु भट्टराई, ज्ञान संस्कारकी प्रिन्सिपल निलम बानियाँ बडूलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नौंदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २२, सिनियर गल्र्समा २४ र जुनियर ब्वाइजमा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।