एकता दिवस : दुर्गा वनवासी (लघुकथा)
कपन अनलाइनकाठमाण्डौ ,माघ ६।
‘राष्ट्रिय एकता दिवसको पावन अवसरमा आयोजित आजको गरिमामय कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।’
आयोजक मध्ये उद्घोषणको जिम्मेवारी निर्वाह गरेका युवकले माइक समाते । जोशिलो पारामा उनले अगाडि थपे – ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपालको भौगोलिक सिमाना बढाए । विविध जात, धर्म, वर्ग र सम्प्रदायलाई एकीकृत गरे । बलियो राष्ट्रिय एकताको भावनामा सबैलाई समेटे । आज उनको सम्मानमा भेला हुनुभएका नेताज्युहरु तथा विद्वत वर्गका मननीय विचारहरु हामीले सुन्यौँ । दर्शक दिर्घाबाट आएको उत्साहपूर्ण तालीले नेपाली समाजमा प्रखर चेतनाको दियो बलेको प्रष्ट हुन्छ । नेपालको सिमानाभित्र मात्र नभएर बिदेशी भूमिमा छरिएर रहेका सबै जाति, वर्ण र सम्प्रदायका नेपालीहरु एकै परिवार हौँ । हामीमा सहिष्णुता छ र बलियो एकता छ । यही एकताको भावनालाई अझ प्रबल बनाउने उद्धेश्यले हामीले सामूहिक भोजको आयोजना गरेका छौँ । सर्वप्रथम मञ्चमा आसीन विद्वत् व्यक्तित्वहरुलाई नै सामूहिक भोजन ग्रहणका निम्ति आयोजक परिवार हार्दिक अनुरोध गर्दछ ।’
आयोजकको अनुरोधसँगै मञ्चमा आसीन थुप्रै अनुहारहरु विचलित र फुस्रा देखिए । कोही शौचालयको बहाना गर्दै, कोही नबजेको मुबाइलमा बोल्दै त कोही अर्को कार्यक्रममा पुग्नुपर्ने व्यस्तता देखाउँदै कार्यक्रम स्थलबाट बाहिरिन थाले । दर्शक दिर्घाबाट पनि नपत्याउँदो गरी उपस्थिति पातलिइसकेको थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।