मातातीर्थ जाऔं, आमाको मुख सम्झिऔं : महेन्द्र चालिसे (यात्रा संस्मरण)

मातातीर्थ जाऔं, आमाको मुख सम्झिऔं : महेन्द्र चालिसे (यात्रा संस्मरण)

कपन अनलाइन

काठमाण्डौ ,माघ ६।

‘दाई भौजु अमेरिकाबाट फर्कनु भएको पनि यत्रो दिन भैसक्यो हैन कतै घुम्न नगई यतिका दिन कसरी वस्न सक्नुभएको होला ।’– बिहान बेलुका आरुबारी चोकमा जम्मा भएर चिया पिउने जमातको रमेश चालिसेले गरेको टिप्पणी हो यो । हुन त ऊ हामीसँग कहीँ कतै घुम्न जाँदैन, तर बेलाबेलामा यसरी टिप्पणी गर्न चाहिँ छाड्दैन । ‘आफु चाहिं कहिं कतै नजाने अनि अरुलाई चाहिं यसरी भन्न पाइन्छ ?’ रमेशलाई जवाफ दिँदै पुरुषोत्तम चालिसे (पुरु) भन्छ – ‘हैन तिमीहरु घुम्न गैराख्ने मान्छे नगएकोले भनेको नि रमेश भन्छ ।’ फेरी तिमीहरुसँग सधैँ घुम्न जाने ‘हेडसर’ (पुरुषोत्तम ढुंगाना जो अरुणोदय माध्यमिक विद्यालय, आरुबारीको प्रधानाध्यापक हुनुहुन्थ्यो त्यसैले ऊहाँलाई सबै हेडसर भन्थे) पनि बितिहाले, अब त तिमिहरूको समूहको सदस्य घट्यो नी ।’  हामी मध्येका धरै नै पाका तर हाम्रो चिया पिउने समुहका अर्का सदस्य सुदर्शन सिंह ठकुरी थप्नुहुन्छ ।

‘हो, हेडसर बुढा त्यत्रो पाको उमेरमा पनि घुम्न जान भनेपछि तम्सिहाल्ने, फेरी बाटोमा पनि रमाइलो गर्नुपर्ने र खानपानमा पनि सोखिन थे ।’ पुरु विगतका यात्रामा पुरुषोत्तम ढुङ्गानासँगको संगतको अनुभव सुनाउँछ ।
यी सबै कुरा सुनेर बसिरहेका बद्री पौडेल मलाई भन्छन्– ‘हो हो दाई यही हप्तामा यसो कतै जाऔंन त वनाउँ कार्यक्रम ।’ म सबैको कुरा सुन्दै मोबाइल चलाइरहेको थिएँ । मेरो आँखा टक्क मोबाइलमा पोस्ट गरेको एउटा समाचारमा अड्छ, हुन त समाचार नेपालको नभएर भारतको थियो तर समाचार एउटी आमासँग सम्बन्धित थियो । समाचार पढ्नासाथ मेरो मनमा अनायास मातातिर्थको सम्झना आयो । मैले एकपल्ट सुत्रकथा भनेर ‘बाँचुञ्जेल आमालाई वास्ता नगर्नेै छोरा छोरी, आमा मरेपछि मातातीर्थमा गएर मातातीर्थको औंसीको दिन डुबुल्की मार्छन ।’ आमाको नाममा भनेर लेखेको पनि थिएँ र म आजसम्म मातातीर्थ चाहिं पुगेको थिइन । तर खै किन हो साथीहरुले घुम्न जाने भन्दा मैले अनायास मातातीर्थ सम्झिएँ ।
‘ल त्यसो भए हामी यो चोटी मातातीर्थ घुम्न जाऔं । पहिला जस्तै घरबाट खानेकुरा लग्ने गरी जाने हैन त ?’ त्यहाँ भएका पुरु र बद्री दुवैजनाले सहमत गरिहाले – बाँकी साथीहरुसँग सल्लाह गर्ने कुरा भयो । यसरी हामि हाम्रो घुम्ने श्रृङ्खलाको कडि जोड्न यसपटक चन्द्रागिरी नगरपालिका स्थित मातातीर्थ मन्दिर जाने निश्चय ग¥यौं । काठमाडौँको मुटुबाट दक्षिण पश्चिममा रहेको धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपले ज्यादै नै महत्त्वपुर्ण देवस्थलको रुपमा रहेका विभिन्न देवस्थलहरु मध्ये यो मातातीर्थ पनि एक हो । बर्षै पिच्छे वैशाख कृष्णपक्षको औंसीलाई आमा खुवाउने औंसी अथवा आमाको मुख हेर्ने
औंसी भनेर चिनिन्छ । त्यस दिन मातातीर्थमा ठूलो मेला लाग्छ भन्छन् । त्यहाँ मेला भर्न टाढा टाढाबाट मान्छेहरु आउने भएकोले त्यहाँ स्नान गर्नका लागि ढुंंगेधारा र कुण्ड निर्माण गरिएको छ । त्यहाँ सानो कुण्ड र ७ वटा ढुंगेधारा बनाइएको छ । ती ढुंगेधारा र कुण्ड वि.सं. १७१६ मा तत्कालिक राजा जयविष्णु मल्लद्वारा बनाइएको हो भनिन्छ । आमा नहुनेहरु सो कुण्डमा आएर आमाको मुख हेर्ने भएकोले नै त्यो स्थान र कुण्डलाई ‘मातातीर्थ’ भनिएको हो भनिन्छ । आमाको मुख  हेर्ने स्थान र अर्थात् मातातीर्थको बारेमा विभिन्न लोककथन, किम्वदन्ती या जनश्रूतीहरु सुनिन्छन् ।
तीनै जनश्रुती मध्ये संस्कृतिविद् एवं शताब्दी पुरुष श्रद्धेय स्वर्गीय सत्यमोहन जोशीको अनुसार मातातीर्थमा गाइ गोठाला गएकाहरुमध्ये एकजनाले त्यहाँ भएको पानीको कुण्डमा निहुरिएर यसो हेर्दा आफ्नी आमा जो मरिसकेकी थिइन, उनको मुख देखेछ । अनि आफुले खान भनेर लगेको रोटीको टुक्रा त्यही कुण्डको पानीमा खसालिदिएछ । त्यसरी खसालेको रोटीको टुक्रा उस्की आमाले खाइछन् । यो कुरा अरु गोठालाहरुले पनि थाहापाए र उनीहरु पनि आफुसँग भएका रोटीको टुक्रा पानीमा फाल्न
थाले । त्यसरी रोटीको टुक्रा फाल्दा ज–जसका आमा हुनुहुन्थ्यो तिनिहरुले फालेको रोटीका टुक्राहरु आमाहरु आउँदै खान थाले तर जसका आमा जिबित हुनुहुन्थ्यो तीनले फालेका राटी कुणडमा डुब्थ्यो । यो घटना सबै गाउँलेहरुले थाहापाए । तर त्यस्को भोलिपल्ट तिनै आमा नहुने गाठालाहरुले नै आएर रोटी फाले तर कसैको पनि आमा रोटी खान आउनुभएन । त्यो फालिएको रोटी दिवंगत आमाहरुले आएर खाएको दिन वैशाखकृष्ण औंसी परेको रहेछ र त्यही दिनदेखि त्यो कुण्डको नाम नै मातातीर्थ भनेर रहन गयो र प्रत्येक वर्ष वैशाख कृष्ण औंसीलाई मातातीर्थ भनिन थाल्यो र त्यही दिन त्यहाँ मेला लाग्न थाल्यो र बोलिचालिको भाषामा ‘आमा खुवाउने औंसी’ भनेर भन्ने चलन पनि चल्यो ।
यही मातातीर्थको बारेमा अर्थात् यहाँको कुण्डको बारेमा सुनिने जनश्रुती अनुसार यहाँ भगवान् रामले नै यो कुण्ड त्रेतायुगमा बनाएको हो भनिन्छ । जनश्रुती अनुसार भगवान राम राजा दशरथले दिएको १४ वर्षे वनवासकालमा भाई लक्ष्मण र पत्नी सीतासंगै घुम्दै घुम्दै हालको मातातीर्थ भएको ठाउँमा आइपुगे । नौलो मान्छेसंग राम्री स्वास्नीमान्छे देखेपछि भगवान भन्ने नचिनेर स्थानीय व्यक्तिहरुले उनीहरुलाई आक्रमण गर्न थाले । त्यसपछि स्थानीय र भगवान रामको बीच युद्ध हुन थाल्यो । सो युद्धमा दुवैथरीलाई थकाई र भोकप्यासले आकूल व्याकूल पार्न थाल्यो । सीतामाता पनि प्यासले आलस तालस भएको देखेर भगवान रामले वरीपरी पानीको तलास गर्न थाले तर कतैपनि पिउने पानी देखिएन । पानी कतै नभेटिएपछि भगवान रामले गंगामातालाई पुकार्न थाले ।
‘माता गंङ्गासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जव भगवान रामले गंगामाता पुकार्दै जमिनमा वाण प्रहार गरे, त्यो वाण प्रहार गरेको ठाउँमा पानीको कुण्ड बन्यो । उक्त कुण्डमा पानी उभाउन जांदा माता सीताले सारा ब्रह्माण्डको दर्शन पाउनु भयो रे । अनी कुण्डको जलमा सीतामाताको छायाँ पर्नासाथ त्यहाँ भएको ढुङ्गामा उनको मुर्ति कुदिन पुग्यो रे । साक्षात् गङ्गामातालाई पुकार गरी भगवान रामले उत्पत्ति गरेको कुण्ड भएको र त्यस्मा साक्षात् सीता माताको तस्वीर कुदिन गएकोले उक्त कुण्डलाई मातातीर्थ भनिन थालेको हो भन्ने धार्मिक मान्यता छ ।
अर्को किम्वदन्ती अनुसार त्यो क्षेत्र गोपालवंशहरुको वसोवास भएको क्षेत्र हो । अभैm पनि नेवार समुदायहरुमा ‘साप’ अर्थात् गाईपालक र ‘मेपु’ अर्थात् भैंसीपालकहरुको बसोबास थानकोट, टिस्टुङ्ग, टौखेल, चित्लाङ क्षेत्रका गाउँहरुमा छन् भनिन्छ । उनीहरुको बंंशले अर्थात् गोपाल बंशका भुक्तमान देखी यक्ष गुप्त सम्मका ८ राजाले मातातीर्थमा ५२१ वर्ष शासन गरेको कुरा राइट वंशावलीमा उल्लेख गरेको पाइन्छ । सोही ताका गाइ चराउने गोठालाहरु कुण्डको नजिक बसेर खाजा खाइरहेको वेला एउटा गोठालाले खान लागेको रोटी टिप्न भनेर कुण्डमा निहुरिंदा त्यहीँ उसले आफ्नो दिवंगत भइसकेकी आमाको छायाँलाई देखेछ । उस्ले त्यहाँबाट आमा विना घर फर्कन्न आमालाई लिएर मात्र घर फर्कन्छु भनेर ढिपी गर्न थालेपछी छायाँको रुपमा आएकी आमाले छोरालाई प्रत्येक वर्ष वैशाखकृष्ण पक्षको औंशीको दिन यहाँ उसलाई आशीर्वाद दिन आउने वाचा गरेर त्यो छोरोलाई घर फर्काइन र त्यसैदिन देखी त्यस कुण्डमा वैशाखकृष्ण औंशीको दिन आफ्नो दिवंगत आमाको दर्शन पाइ आशिर्वाद पाइन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । यस्ता जनश्रुतीहरु, किम्बदन्तीहरुको सत्यताको मापदण्ड के हो त्यो त के थाहा ? तर त्यस स्थाानमा पुगेपछि देखिन मनोरम प्राकृतिक दृष्यहरु अनि अन्य कृतिम सजावटले चाहिँ साँच्चै आमाकै काखमा वसेको अनुभूती  चाहिँ पक्कै हुन्छ ।
२०८० पुष २१ गते शनिवार निर्धारित समयमै हामी १० जना म, इन्दिरा चालिसे, पुरुषोत्तम चालिसे (पुरु) नारायण जोशी, तारा जोशी, कोपिला पौडेल,  बद्रीनाथ पौडेल, श्रीमती लक्ष्मी पौडेल, रामेश्वर ढुंगाना र उषा ढुंगाना मातातीर्थ पुग्यौं । त्यहाँ प्राचिन कुण्ड चाहि बार बारेर सुरक्षित र संरक्षित गरिएको
रहेछ । कंचन पानी र विचमा एउटा सुनौला ढुंगा र त्यो ढुंगामा विभिन्न केरमेट भएका आकृतीहरु थिए – जसरी वादलमा देखिने बुट्टालाई आफु अनुकुल आकृती वनाइन्छ । त्यो ढुंगामा भएको केरमेट पनि त्यही हो कि । त्यो कुण्डमा पुगेर हामीहरु सवै जनाले त्यहाँ आ आफ्ना आमाको स्मरण ग¥यौं । त्यो १० जनामा कसैको पनि आमा जिवीत हुनुहुन्नथ्यो । हामी १० जना मध्ये बांकी ९ जनाले त्यहा आमा देखेकि देखेनन्, मैले सोधिन, तर मैले कुण्ड भित्र चाहिँ आमाको छायाँ देखिन सायद आमाको मुख हेर्ने औंसी नभएर पो हो कि, तर आफ्नो मानस पटलमा र अाँखा भित्र आमाको त्यो सँधै ‘बाबु’ भनेर मुस्कुराउने अनुहार त प्रस्टै थियो, किनकि त्यो कहिल्यै मेटिएको थिएन, छैन र मेटिंदैन पनि ।
यही कुण्ड नजिकै अर्को टायल छापिएको, मैलो पानी र पिंधमा हिलो भएको अर्को कुण्ड थियो, सायद वैशाखकृष्ण औंशीका दिन सवैले आमाका नाउँमा स्नान गर्ने कुण्ड, जुन मेला लाग्ने समय गरिने सफाईको पर्खाइमा थियो । प्राचीन कुण्ड र आधुनीक कुण्डको बीच ढुंगेधाराहरु लस्कर देखिन्छन् । हामी मातातीर्थ मन्दिर परिसरबाट बाहिरियौं ।
‘ए दाई ! यहाँबाट आधाघण्टा जतिपर डाँडामा ‘बैकुण्ठनाथ धाम’ छ रे । गाडिमा गए ५ मिनेट लाग्छ रे । ‘जाने हैन त ?’ वद्रीजी प्रस्ताव गर्नु हुन्छ।
‘हैन वैकुण्ठ धाम मरे पछि पो जान्छन् त ज्यूँदै पनि जान पाइन्छ र ?’ म ठट्टाको पारामा बद्रीजीलाई भन्छु भगवानको ठाउँमा जान पनि के के भनेको त्यस्तो ? मेरो ठट्टामा श्रीमतीलाई अलि चित्त नबुझे जस्तो आवाज आयो ।
‘ल ल जाउँ त्यो मन्दिर त हाम्रो दाइले वनाउनु भएको हो, जौ जौं’ रामेश्वर उत्साहित हुन्छ मानौं उस्को दाइले बनाएकोले जानै पर्छ । नजाने पक्षमा त म मात्रै किन थिएँ र । ‘गाडिमा जाने कि हिंडेर’ म पुरुलाई सोध्छु–
‘आज बिहान हिंडेको छैन दाई, त्यसैले हिंडेरै जाउँ न त’– पुरुले यसो भनेपछि हामि सवै उकालो लाग्यौं । त्यहाँ देखि नै माथी मन्दिर सम्म मोटर जाने बाटो ढलान गरेर वनाइएको रहेछ । वैकुण्ठनाथधाम पुगेपछि त्यहाँको वातावरण पुजारीले गर्नुभएको व्यवहार, आदि देखेपछि त साँच्चै वैकुण्ठमा पनि त्यस्तै त होला भने जस्तो लाग्यो ।
त्यस मन्दिरमा आफ्नै पाराले पूजा अर्चना गरिसकेपछि त्यहाँका पूजारीले गराउनु भएको संकल्प पाठ सकेर उहाँबाट टिका प्रसाद ग्रहणपछि भगवानलाई लगाएको भोगको प्रसाद रुपमा स्वादिलो खिचडी खाएर हाम्रो टोली फेरी फेदीमा रहेको मातातीर्थ मन्दिर परिसरको पार्किङ्गमा राखिएको सवारी साधनतर्फ लाग्यौं ।
तल आएर आफुले लगेको खाना खाइवरी मन्दिर परिसरको अगाडि निर्मित मातातीर्थ फनपार्कमा एकाध घण्टा बसेर मातातीर्थमा आमाको पुनः स्मरण गर्दै आफ्नो बाटो लाग्यौं मनमा एउटा नमेटिने छाप लगाएर– यस्तो ठाउँमा हामी आजसम्म किन आएन छौं ?।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।