असर : सोम कुमार सुब्बा ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ ६।
एक साँझपख, रुपा शिक्षण सकि घर फर्कदै थिइन् । बाटोमा सानो बजार भेटथ्यो । उनलाई त्यो बजारदेखि फाटकसम्म पुग्न असहज लाग्थ्यो । सधैँ झैँ आज पनि उनी भयभीत थिइन् । हत्तपत्त हिड्दै उनी फाटक पुगिन् । ढुक्कको श्वास फेरिन् र पछि फर्केर हेरिन् ।
आज उनलाई बजारमा कसैले जिस्काएनन्, सिटी पनि फुकेनन् । उनले साइँलीको भट्टी पसलतिर हेरिन् । अबेरसम्म खुल्ला रहने पसल बन्द देखें । तास, जुवा खेल्ने गल्लीहरु पनि चकमन्न थिए । उनले फाटक वरिपरि नियालिन् । गजडीहरूको झुन्ड देखिनन् । नयाँ अनुभूति महसुस गर्दै उनी घरतिर लागिन् ।
घर पुग्नसाथ आमालाई दङ्ग्याइन्, ‘मामु, आज किन फोन नगर्नु भाको ?’
‘ढुक्कले !’ आमाले निश्चिन्त भावमा भनिन् ।
‘के को ढुक्कले मामु ?’
‘हाम्रो प्रहरी चौकीको नयाँ निरीक्षकले सबै गैरकानुनी गतिबिधिहरु बन्द गरे !’
‘अन्त, प्रहरी चौकी र निरीक्षक त पहिलैदेखि नै छन् त मामु !’ रुपाले जिज्ञासा राखिन् ।
‘यो चौकीको होइन, चौकीमा बस्नेको असर हो !’ आमाले प्रष्ट पार्दै भनिन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।