सम्झनामा केही स्रष्टाहरु : जेबी खत्री

सम्झनामा केही स्रष्टाहरु : जेबी खत्री

कपन अनलाइन

काठमाण्डौ ,पुस २८।

त्यसै कारण मैले भनेको हुँ । कहिल्यै कसैको पनि जिन्दगी बिटुलो हुँदैन । कथा यसरी शुरू हुन्छ । कथा पनि के भनौँ, यथार्थ कुरा हो । लेखकको मन–मष्तिस्कमा जुन कुराले बढी प्रभाव पा¥यो, लेखनमा पनि बढी त्यही कुरा झल्कदो रहेछ । दुःख, कष्ट, अभाव, भेदभाव, जालझेल जस्ता समाजमा रहेका हरेक विकृति, विसङ्गति र विद्रुपात्मक आदि कुरासँग मेरो सानैदेखि वैमनस्यता रहयो । मैले सानैदेखि यी र यस्ता कुराको खुब विरोध गर्दै आएँ । अहिले पनि यी कुराप्रति मेरो लेखन यथावत छ । लेखन परिवर्तनका लागि होस भन्ने मेरो धारणा हो । कहिले त लाग्छ म एक्लो बृहस्पति हुँ । त्यसैले कहिले काहीँ एक्लै आकाशतिर हेरेर पनि चित्त बुझाउँछु । मैले पटकपटक भनेको पनि छु । मैले लेख्ने कुरा लेखिसकेँ । होइन, रहेछ । एक पछि अर्को विषयवस्तु बनेर नयाँ नयाँ कुरा आउँछन् । यो पुरानो भइसकेको मन–मस्तिष्क विथोल्छन्, गिजोल्छन् र हरेक साल कृष्ण भीरमा पहिरो गएजस्तो मनमा कतै न कतै पहिरो जान्छ । थुप्रै नयाँनयाँ कुराहरू विषयवस्तु बनेर तँछाडमछाड गर्दै मन–मष्तिस्कमा ठाउँ ओगट्न आइपुग्छन् । सानैदेखि लेखन भनेपछि मरिमेट्ने बानि छ मेरो । साहित्यमा लागेर के पाइस ? भनेर मलाई कसैले प्रश्न ग¥यो भने यसको उत्तर छैन मसँग । जसरि जति पल्ट गनेपनि म साहित्यमा लागेको दरो ३० वर्ष भएछ । मलाई केही पाउँन भनेर साहित्यमा लागेजस्तो पनि लाग्दैन । साहित्य मनोरञ्जनका लागि भन्दापनि परिवर्तनका लागि हुनुपर्छ जस्तो लाग्छ । यसले कुनै न कुनै रूपमा चेतना प्रदान गरोस ।
म कुनै लक्ष्य लिएर साहित्यमा लागेको होइन । यो पनि यात्रा रहेछ । हिँड्दै जाँदा यहाँसम्म आइपुगेको हुँ । फर्केर हेर्दा निक्कै लामो बाटो पार गरिएछ । ३० वर्षको समय भनेको पनि चानचुने समय होइन । जन्मेर बालक युवा हुने समय हो । खुशी पनि लाग्छ । यस अर्थमा खुशी लाग्छ कि साहित्य कहिल्यै बूढो हुँदो रहेनछ ! सधैँ उस्तै जोश, उस्तै जाँगर बरू उमेर पो थप्न पाए हुन्थ्यो । अझै धेरै लेख्नु छ । लेखन पनि उमेर भरिको त रहेछ । मलाई आज त्यसै केको औडाहाले केही न केही लेखौँलेखौँ लागेर आयो । मलाई कहिले काहीँ बिना विषयले पनि यसरी लेख्न कुत्कुत्याइरहन्छन् । मैले मानवीय जीवनका आरोह अवरोहहरूसँग सम्बन्धित धेरै कुरा लेखेँ । ती कतिपय आफैँसँग सम्बन्धित पनि रहे । देशविदेश चाहार्दा आइपरेका दुःखसुखका कुरा पनि त्यहीँ समाहित भए । घरव्यवहार, मेलापात, अर्मपर्म, ऐँचोपैँचो,राष्ट्र–राष्ट्रियता, राष्ट्रप्रेम, स्वाभिमान, सार्वभौमसत्ता, देशकाल, परिस्थिति, राजनीति, जात, धर्म, अभाव, गरिवी, प्रकृति आदि सबैसबै लेखनमा उतार्ने प्रयास गरेँ । कति जिवन्त भए कति भएनन् । कतिले मानिसको मन छोयो, कतिले छोएन । समयको भरपुर सदुपयोग भयो । असल पक्ष भनेको जीवनमा आजसम्म वितेको एक मिनेट समय त्यसै खेर फालियो जस्तो लाग्दैन । त्यसकारण पनि जीवनमा पछुतो छैन । साँच्चै त्यतिकै समय एक मिनेट पनि खेर गएन । बरू नपुग हुन्छ । लाग्छ, जे भयो, राम्रै भयो ।
दाइले नै भन्नुभयो, हिँड्दैहिँड्दै जाऔँ भाइ मेरोसम्म । ज्ञानुवाकर दाइ र म नगेन्द्रराज शर्माको पछिको घर गौरीनगर चावहिल, अभिव्यक्ति परिसरबाट हिँड्दैहिँड्दै उहाँको वासस्थान गौशाला चोकसम्म आयौँ । यही क्रममा बाटोमा हिँड्दै गर्दा प्रसङ्ग झिक्दै दाइले भन्नुभएको कुरा मेरो स्मरणमा आइरहन्छ । अहिले मात्र होइन । दाइले भनेको यो कुरा म बेलाबेला सम्झिरहन्छु । भाइ साहित्यकार अरू सामान्य मानिस जस्तो हत्तपत्त बहुलाउँदैन । साहित्यमा लाग्नेलाई कत्रो फाइदा छ हेर्नु है, उसले समयको सदुपयोग पनि गर्छ । गौरी नगरबाट गौशाला चोक स्थित उहाँको बासस्थानसम्म आइपुगेको पत्तै भएन । यस्तैयस्तै कुराले बाटो कटायो । यसैयसै गफ गर्दै मेरो घरतिरबाटै जाऔँ । फेरि दोहो¥याएर मेरो घरमा पनि एछिन् बसेर जानुस् भन्नुभयो, ज्ञानुवाकर दाइले त्यो दिन र हामी त्यसरी आएथ्यौँ । यसो कहिले काहीँ सम्झन्छु दाइले भनेका कुरा घत लागेर आउँछ । साँच्चै साहित्यकारको मनमा केही बाँकी रहदैन । सबैसबै लेखनमा पोखिन्छ । पोखिइदो रहेछ । मनको कुरा सबै पोखिएर केही बाँकी नरहेपछि के मन भारी होस् !
म फेरि मर्माहत भएँ । २०७८ फागुन ३ । मर्माहत मात्र होइन । भित्रि मनमा वताउँनै नसक्ने गरि कताकता केके भएजस्तो भइरहयो । प्रकृतिसँग जुँध्नु नै जीवनको रमाइलो हो । आखिर मृत्यु पनि त अदृश्य प्रकृति नै हो । प्राकृतिक शक्ति हो । उक्त प्रकृतिसँग जुँध्नु नै जीवनको रमाइलो हो । यो पङ्ति घनघस्याको उकालो काट्दा शीर्षकको निबन्ध भित्रबाट लिइएको पङ्ति हो । आज भन्दा ३५ वर्ष अगाडिको कुरा हो । जति बेला म त्यस्तै १६÷१७ वर्षको थिएँ । ८÷९ कक्षामा पड्दा मैले पढेको निबन्ध धित्रको पङ्ति हो यो । निबन्धका लेखक तारानाथ शर्मा हुन् । मैले विर्सेको छैन । सम्झिरहेको छु । नेपाली साहित्यमा नियात्रा लेखनका सुरुवात कर्ता शर्माको निधनले आज सिङ्गो नेपाली साहित्य भण्डार स्तब्ध मात्र होइन, शोकाकुल नै बन्न पुगेको छ । इटहरी साहित्यिक समूहको एक साहित्यिक कार्यक्रममा माधव पोखरेलले प्रसङ्ग कोट्याउँदै भने, लेखक कहिल्यै मर्दैन किनभने ऊ आफ्ना सिर्जना मार्फत् पाठकहरूसँग कुनै न कुनै रूपमा सम्वाद गरिरहेको हुन्छ । हाँसिरहेको हुन्छ । बोलिरहेको हुन्छ । अनि ऊ कसरी मर्छ ? कवि तथा गीतकार दिनेश अधिकारीले भनेको कुरा पनि मलाई अहिले सम्झना भयो । उनले पनि एक ठाउँ प्रसङ्गवस भनेका छन् । अक्षरको आयु लामो हुन्छ । अक्षरको खेती गर्ने मान्छेको आयुपनि लामै हुन्छ । उनको पनि आशय अक्षरको खेती गर्ने लेखक तथा कविको आयु लामै हुन्छ भन्ने नै हो । कवि एवम् गीतकार अधिकारीसँग एकबार प्रज्ञा प्रतिष्ठानमा भेट भएको थियो । त्यो बेला कविता विभागमा कवि तोया गुरुङ थिइन् । उहाँहरू बिच साहित्यका बारेमा कुराकानी हुँदै गर्दा सम्योगवस म पनि पुगेछु । २०६०÷६१ सालतिरको कुरा हो । त्यसपछि हाम्रो भेट भएको छैन । होला कुनै दिन भन्ने छ । समय मिलेमा म यो प्रसङ्ग निश्चय पनि कोट्याउँने नै छु ।
त्यही हो जीवनलाई कसैले पनि विटुलो नबनाऔँ । जीवनलाई जस्तो बनायो त्यस्तै हुने हो । जीवन जे सम्झियो त्यही रहेछ । रङ्गीचङ्गी सम्झिए रङ्गीचङ्गी हो । विटुलो सम्झिए विटुलै हो । सब कोहीको जीवन कहाँ जीवनजस्तो हुन्छ र ! कसैको शारीरीक रूपले नहोला । कसैको मानसिक रूपले । कसैको हृदय विदारक होला । सुन्दर आँखाले हे¥यो भने कुरुप नै किन नहोस सबै वस्तु सुन्दर नै देखिदो रहेछ । मलाई मेरो पात्रले एक दिन यसो भन्यो,म जसरी बाचेँ, त्यसरी नै बाँचिरहेँ । म जसरी मरेँ, त्यसरी नै मरिरहेँ । जसरी बाँच्नु पनि मर्नु रहेछ त्यसरी मर्नु पनि बाँचीरहनु होइन रहेछ । त्यसैले म पटकपटक मरेँ, मरिरहेँ । म यिनलाई त्यसरी नै सम्झिरहन्छु जो अहिलेपनि मेरो मन, मष्तिस्कमा छँदैछन् । बद्री विशाल पोखरेलले त्यही कार्यक्रममा स्वर्गीय धरणीधर दाहालको स्मरण गर्दै भनेका थिए, आँखा फुटेपछि मात्र आँखाको महत्व थाहा हुन्छ । दैवज्ञराज न्यौपाने, हिरा आकास, कृष्णप्रसाद पराजुली, भवानी घिमिरे, मोहनराज शर्मा, रत्नसम्सेर थापा, माधवप्रसाद घिमिरे, राजेन्द्र सुवेदी, तेजराज खतिवडा, तारानाथ शर्मा आदि जो कुनै न कुनै रूपमा मेरो आँखा अगि झल्झली आइरहन्छन् । उहाँहरू लागेको बाटो नसमाउँन्जेल मैले स्मरण गरिरहने नामहरू हुन् यी । यस्ता नामहरू अरू पनि थपिदै जालान् । आफ्नो पालो नआएसम्म म सम्झिदै जाउँला ।
अन्त्यमा मेरा स्मृतिका पाना पल्टाउँदै जाँदा राजेन्द्र सुवेदी जो म कीर्तिपुर पढ्दाको मेरो गुरू पनि हो । जसले मलाई किताव मात्र पढाउँनु भएन । उहाँले त मलाई जीवनको पाठ पढाउँनु भयो । जिउँने तरिका सिकाउँनु भयो । त्यति मात्र होइन । उहाँले मलाई काठमाडौँमा टिकाउँन धेरै प्रयास पनि गर्नुभयो । साहित्यमा लाग्न सदैव मलाई उत्साहित गराउँनु भयो । उत्प्रेरित गर्नुभयो । प्रेरणा प्रदान गर्नुभयो । जसको सम्झना मेरो आँखा अगि झल्झली आइरहन्छ । उहाँसँगको भेट पनि मेरो जीवन यात्राको एउटा अविस्मरणीय क्षण बन्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।