खोलाघरे साहिँलोको ‘सौदामिनी’ अवलोकन : ठाकुर शर्मा भण्डारी ( पुस्तक समिक्षा)
मेरा भाव उदात्त भै रहिरहून् सङ्लो रहोस् यो मन
यो सम्बन्ध रहोस् सदैव मधुरो मैत्री सुखी पावन ।
मेरो साथ दिने सखा, सुहृदमा साँचो म साथी बनूँ
घेराबाट ‘म’को ‘म’ निस्नक सकूँ साझा बनोस् चिन्तन । (सौदामिनी पृष्ठ ८०)
यस्तो सुन्दर भावना अभिव्यक्त गर्ने कवि खोलाघरेको कृति–‘सौदामिनी’ भित्रको श्लोक हो । कवि भावना आध्यात्मिक चिन्तनसँग सम्बद्ध सामाजिक चेतना जगाउने कवित्व रहेको देखिन्छ । जसको कामना अन्तर्हृदयबाट प्रस्फुटित छ, जीवनको गहिराइलाई छुन सक्ने हुन्छ, त्यही जीवन सार्थक हुन्छ जस्तो लाग्छ । उनी पिता मोहनलाल अधिकारी एवं माता मनोरमा अधिकारीका सुपुत्र गङ्गाप्रसाद अधिकारी हुन् । उनको जन्म २०१३ साल आषाढ १३ गते फाफोकथुम, इलाममा भएको हो । हाल ः कागेश्वरी मनोहरा गोठाटार काठमाडौँमा बसोवास रहेको छ ।
खोलाघरे साहिँलोद्वारा रचित मुक्तकसङ्ग्रह ‘सौदामिनी’ विषयमा चर्चा यस लेखनको समुद्देश्य हो तसर्थ सौदामिनीको तात्पर्यको कुरा गरौँ – सौदामिनी अर्थात् विद्युत्, बिजुली वा आकाशमा चम्किने बिजुली । उनको यो सौदामिनी पनि त्यस्तै विद्युत्प्रवाह छन्दयुक्त मुक्तकबाट भएको छ । सार्थक शीर्षक दिएर मुक्तकमा विदुत्प्रवाह हुनुपर्छ, उज्यालो पनि दिने, सौन्दर्यको प्रतीक र हृदयमा तरङ्ग उत्पन्न गर्ने सङ्केत पनि कृतिद्वारा गरेका छन् कविले, शीर्षक सार्थक देखिन्छ ।
सुन्दर कविता सृजना गर्ने स्रष्टा–कविद्वारा आजसम्म प्रकाशित कृतिहरू हुन् ः आज एउटा जुलुस निस्किँदै छ (कवितासङ्ग्रह, २०५७), सानो छन्दवाटिका (छन्दपरिचय कवितासङ्ग्रह, २०६८), जिजीविषा, रिक्त रिक्त (गजलसङ्ग्रह, २०६३), मनचरीको मनपरी (गजलसङ्ग्रह, २०६५), एक्लिएको साँझ (गजलसङ्ग्रह, २०६५), स्थापित÷विस्थापित (कथासङ्ग्रह, २०६४), ऐजेरु र आगो (कथासङ्ग्रह, २०६७), इलाम जिल्लाको साहित्यिक विकासक्रम (खोज, २०७३), पाँचथरका नारी हस्ताक्षर (सङ्कलन, २०६४), …..खोलाघरेले (कवितासङ्ग्रह, २०७९), पद्यवल्ली (कवितासङ्ग्रह, २०७९), सौदामिनी (मुक्तकसङ्ग्रह, २०८०), पत्तासाफ (गजलसङ्ग्रह, २०८०) ।
नेपाली साहित्यको सेवा गरेवापत विभिन्न सङ्घ÷संस्थाहरूबाट पुरस्कार÷सम्मानहरू प्रापत गरेका छन् । अनेक संस्थाहरूसँग संलग्न रहेका साहित्यसेवी सर्जकको कृति नवीनतम कृति हो र हामीजस्ता छन्दसृजनामा लागेका व्यक्तिका लागि खुसीको कुरा हो । अब अलिकता मुक्तकको कुरा गरौँ र कृतिको सम्बन्धमा चर्चा गरौँ । नेपाली साहित्यमा मुक्तकको इतिहास हेर्दा प्राथमिक कालदेखि सुरु भएर आधुनिक कालसम्म अर्थात्१८२६ सालदेखि वि.सं. २०१० सम्म लामो इतिहास बनेको छ । विविध उतारचढाव व्यहोर्दै आएको मुक्तकले तीन हरफदेखि सात÷आठ पङ्तिसम्मका मुक्तक लेख्ने गरेको पाइन्छ ।
वि.सं.२००९ सालतिर प्रगति पत्रिकामा मुक्तककार भीमदर्शन रोकाले चतुष्पदीको सुरुवात गरेको स्मरणीय रहेको छ । कविताको लघु रूपलेखनमा भीमदर्शन रोका, टेकबहादुर वीन, रत्नशमशेर थापा, कृष्णप्रसाद पराजुली, भूपि शेरचन, हरिभक्त कटुवाल, मोहनहिमांशु थापा, चेतन कार्की, यादव खरेललगायतले अगाडि बढाएको मुक्तकलेखन हाल आएर यसमा वहार नै आएको छ र यसमा पनि मुक्तक प्रतिष्ठानले पोखरा सम्मेलनमा चतुष्पदी मुक्तकको अवधारणालाई प्राथमिकताका साथ अग्रगति दिने प्रयास गरेको छ । अहिले मुक्तकसम्बन्धी संस्थाहरू, अनेक गोष्ठीहरू हुँदै आएका छन् । चतुष्पदी मुक्तकमा पहिलो हरफमा विषयवस्तुको उठान, दोस्रो हरफले त्यसको समर्थन र गतिदिने काम, तेस्रोमा अभिव्यञ्जकताका साथै विषयवस्तुको उद्देश्यपरिपूर्तिका लागि वातावरणको सृजना गर्दछ भने चौथो हरफले चोटिलो अभिव्यक्तिद्वारा चट्यााङ परे भैmँ गरी झड्का दिई जिज्ञासाको अन्त्य गर्नु मुक्तकको विशेषता मान्न सकिन्छ । यसको अग्रलेखमा स्वयं स्रष्टा खोलाघरेको महत्त्वपूर्ण लेख रहेको छ । जसमा मुक्तक इतिहास खोतलिएको छ – यस लेखले मुक्तकको विषयमा जान्न खोज्ने पाठकलाई धेरै ज्ञान दिन्छ । मुक्तकको व्युत्पत्ति, वैदिक कालदेखिको मुक्तकलेखन र संस्कृत साहित्यका विद्वान्हरूको पद्यांश उद्धृत गरेर त्यसलाई पुष्टि गरिएको छ । यहाँ भन्नुपर्ने कुरा के हो भने मुक्तकसम्बन्धी अध्ययन नगरीकन र वर्तमान समयमा लेखिने गरेका केही मुक्तक पढेर वा केही मुक्तकको स्वरूपमा ढालेर म नै सर्वेसर्वा हुँ वा मैले भैmँ जानेको कोही छैन भन्ने धारणा राख्ने व्यक्तिका लागि पनि यो सङ्ग्रह झापड हो ।
एक त छन्दमा लेख्न गाह्रो हुन्छ, त्यसमा पनि मुक्तकीय ढाँचामा लेख्नु भनेको फलामको चिउरा चपाउनुसरह हो । अहिले केही साहित्यकारहरूले छन्दमा मुक्तक लेख्न थालेका छन् ।
छन्दमा पनि मुक्तकलेखन प्रारम्भ हुनु सुखद पक्ष हो । २०७३ सालमा ‘पद्यमुक्तक’ शीर्षकमा शस्त्रीयछन्दमा मुक्तकसङ्ग्रह यस पङ्क्तिकारले पनि निकालेको थियो, जसमा राष्ट्रकवि माधव घिमिरेको आशीर्वचन रहेको छ । यस्तै छन्दकवि त्रिलोचन आचार्यको छन्दमुक्तक ‘विनासर्त’ सङ्ग्रहको रूपमा पढ्ने मौका मिलेको थियो । त्यसपछि शास्त्रीयछन्दको प्रयोग गरेर चतुष्पदीय मुक्तकहरूको सँगालो छन्दलाई निरन्तरता दिने क्रममा साहित्यमा अग्रसर व्यक्तित्व प्रसिद्ध कवि खोलाघरे साहिँलोको ‘सौदामिनी’ शीर्षकको मुक्तकसङ्ग्रह (२०८०) नेपाली साहित्यको फाँटमा आएको छ ।
यस मुक्तकसङ्ग्रहले पनि नेपाली साहित्यको फाँटमा एउटा मानकको काम अवश्य गर्नेछ । मैले यहाँ यो भन्नुको तात्पर्य पनि कृतिगत रूपमा लेखिएको कार्यले अरूलाई अगाडि बढ्न सहयोग पु¥याउँछ । पूर्ण केही पनि हुँदैन र पूर्ण स्वरूप त परब्रह्म परमात्मा मात्र हुन्छ, पूर्णबाट पनि लिइएको अंश पनि पूर्ण नै हुन्छ तसर्थ यहाँको ‘सौदामिनी’ आफैमा पूर्ण छ ।
‘सौदामिनी’को अग्रलेख ‘शुभकामना’ शीर्षकमा समालोचक एवं साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल भन्नुुहुन्छ ः कवि खोलाघरेको मुक्तककाव्य सृजना र प्रस्तुतिले नयाँ ढोका अवश्य खोलेको छ । विविध शास्त्रीय छन्दलाई सहजताका साथ मुक्तकीय ढाँचामा प्रयोग गर्नु कवि खोलाघरेको प्रशंसनीय उपलब्धि हो ।
सुन्दर शैलीका कविता लेख्ने कविको विशेषतालाई स्पष्टतया उजिल्याउने काम यसभित्रका मुक्तकले गरेका छन् भने कृतिलाई आद्योपान्त अवलोकन गर्दा छन्दमा यस्ता सुन्दर मुक्तकीय अभिव्यक्ति दिनु महनीय कार्य भएको छ, त्यसैले पनि नेपाली साहित्यको फाँटमा नवीनतम कृति आएको छ ‘सौदामिनी’ ।
‘सौदामिनी’लाई संरचनागत दृष्टिकोणबाट हेर्दा खोलाघरेका मुक्तकहरू २५३ पद्यमुक्तक रहेका छन् । यसमा त्रिचालिसवटा छन्दको प्रयोग भएको छ । अनुष्टुप् छन्दका आठ अक्षरदेखि बाइस अक्षरसम्मका सरल, चर्चित र कठिन छन्दको प्रयोग गरेर मुक्तकमा कवितालाई ढाल्नु नै यसकोे मुख्य विशेषता हो । सबैभन्दा बढी पद्य वसन्ततिलका छन्दमा छन् ३० पद्य यस कृतिमा रहेका छन् ।
विषयवस्तु नेपाली समाज हो तापनि कतिपय कविताले मानवीय प्रवृत्तिलाई उजागर गर्ने हुनाले वैश्विक परम्परा र व्यवस्थालाई पनि उद्बोधन गर्दछन् । यस्ता अनेकौँ उदाहरण छन् मुक्तकका बान्कीहरूमा । यसको भिन्न भिन्न भाव मुक्तताको परिधि अर्थात् एक चतुष्पदीको अर्को चतुष्पदीको भाव–शृङ्खला फरक पारेर रचिएका पद्यमय मुक्तकहरू यहाँ राखिएका छन् । अत्यन्त परिष्कृत भाव र शैलीमा विविध विम्ब–प्रतीकहरूको प्रयोग गरेर मुक्तक आएका छन् । मुक्तकको मुख्य विषय राजनीतिक चेतनाको कमीले ल्याएको समाजको विसङ्गत अवस्थालाई शालीन तरिकाबाट व्यङ्ग्यप्रहार गरिएको छ । मानवीय स्वभावलाई विशेष गरेर लक्ष्य गरिएका यी मुक्तकहरूले आशावादिताको ढोका उघार्न सहयोग अवश्य पनि पु¥याउनेछन् । मूलतः भावगत हिसाबबाट यसरी हेर्न सकिन्छ – मुक्तकका बान्कीहरूलाई ।
(क) सामाजिक एवं राजनीतिक व्यङ्ग्य यसरी गरिएको छ –
जहाँ नेता स्वयं लाग्छन् भ्रष्टाचारी छुटाउन
हत्यारा चोर डाँकाको मनोबल उठाउन ।
बबुरा बन्दछन् दीन प्रशासन अदालत
मौलाई बढ्छ पाखण्ड न्यायदण्ड फुटाउन । (अनुष्टुप् छन्द, पृष्ठ २÷सामान्य अभिधार्थक)
(ख) देशप्रतिको माया, सद्भावना र देशको सौन्दर्य पक्षलाई यसरी हेरिएको छ –
फक्रेर हाँसून् प्रतिभा अनन्त, फैली सुसाओस् यश दिग्दिगन्त ।
बढी रहून् भौतिक लाभ सौख्य, दिगो बसोस् देश रुँगी वसन्त । (इन्द्रबज्रा छन्द, पृष्ठ १४)
खुल्छन् सुवर्ण नग उच्च हिमङ्करामा, डुल्दै प्रभात अनि चुम्छ गरागरामा ।
यो शौर्य तीर्थमय भूमि जहाँ म जन्मेँ, पाऊँ म मर्न पनि दिव्य यही धरामा । (वसन्ततिलका, पृ. ६३)
(ग) आमाको महिमालाई बडो राम्रोसँग उतारिएको छ –
हुन् आदिशक्ति छ प्रमाणित मातृरूप÷हुन् सृष्टिकारक सुपालक धतृरूप ।
आमा सुशब्द महिमामय हो अनन्त÷वात्सल्य आश्रय सुधारस दातृरूप ।। (वसन्ततिलका, पृ. ६३)
(घ) श्रमको मूल्यमान्यताको विषयलाई लिएर भनिएको छ –
सम्मानयुक्त तहमा मजदूर होऊन्÷सत्तानसीन हितमा मजबूर होऊन् ।
बाँचून् किसान पनि शान र गर्व पाई÷हार्दिक्य भाव शुभको श्रमकारलाई । (वसन्ततिलका, पृ. ६३)
(ङ) भाषाप्रतिको चिन्तालाई यसरी वर्णन गरिएको छ –
भाषा बिथोल्न कति भुन्डहरू यतै छन्
पार्ने दुरुस्त कति शण्डहरू यतै छन् ।
साँच्चै नियन्त्रण त बाहिरबाट गर्छन्
विक्षिप्त, वक्र, गलगण्डहरू यतै छन् । (वसन्ततिलका छन्द, पृ. ६१)
(च) धर्मप्रति गरिएको व्यवहार, संस्कारप्रतिको उद्दण्डतालाई हेर्ने क्रममा कविले एउटै पद्यमा अनेक विषयलाई जोडेर विकृति देखाउनुभएको छ । यसरी हेरिएको छ –
गाई कटाउन हुने विविधा तमासा
अर्को शिकार हुन पुग्छ कि राष्ट्रभाषा ।
हाम्रा प्रथा नियममाथि छ वक्रदृष्टि
रैतीहरू सकलमा छ बडो निराशा । (वसन्ततिलका छन्द, पृष्ठ ६०)
(छ) आदर्शको गुणगान यसरी गरिएको छ ः
पितामाता हाम्रा गुरुजन सबै गौरवजन
यिनीजस्तै अभ्यागत पनि हुने शिष्ट चलन ।
यिनैलाई मान्छौँ विधि–नियमले देवसरह
यही हो पुर्खाको पनि शुभ र आदर्श कथन । (शिखरिणी छन्द, पृष्ठ ७४)
यस्ता अनेक उदाहरण दिन सकिन्छ तर यो सङ्क्षिप्त लेखनमा ‘थालिपुलक न्याय’बाट हेरिएको मात्र छ । सबै राम्रो मात्र भन्दा पनि यहाँहरूलाई लाग्ला यहाँ केही पनि कमजोरी भएको छैन त ! तर कतिपय लेख्दालेख्दै, सोच्दासोच्दै, मिलाउँदामिलाउँदै पनि गल्ती भएको हुन्छ र कतिपय ठाउँमा छन्दको व्यवधानले कमजोरी देखिन्छ– भावगत, छन्दगत रूपमा ।
उदाहरणार्थ– धर्ती तारा सारा गन्ने छन् । गन्नेछन्लाई जोड्दा भविष्यत् नजोड्दा गन्नेहरू अर्थ हुन्छ ।
एउटै छन्दका मुक्तक सँगै राख्दा फुटकर कविताको झल्को कुनै कुनैमा परेको छ – विषयवस्तु एकै किसिमको हुँदामा (पृष्ठ ८) यस्तै अरूमा पनि देखिएको छ ।
मुक्तकको चतुष्पदीय नियममा तेस्रोको अन्त्य शब्दमा अ, आ, इ, उ आदि स्वरान्त हुँदा नियम तोडेको अनुभूति दिन्छ । जस्तै –
के लेख्नु के लेख्नु हुँदै छ आज
के हुन्छ पाएजति शब्द ताज
बढ्दो छ बोक्रेपनको प्रभाव
उँधो छ लाग्दो कविको समाज । (उपजाति छन्द, पृ. २१)
यस्तो धेरै ठाउँमा भएको छ, जसले मुक्तकीय प्रभावमा असर पार्छ । अन्य कुराहरू सामान्य हुन् । ‘सौदामिनी’ मुक्तकसङ्ग्रहका यी मुक्तकहरूले अवश्य पनि पाठकवर्गलाई आकर्षण गर्नेछन् । विशेष गरेर कविता, काव्यमा निरन्तर लागिरहेका प्रसिद्ध कविको पद्यमय मुक्तकहरूले नेपाली समाज, मानवीय प्रवृत्ति, देशको सौन्दर्य, देशप्रतिको प्रेमलाई अत्यन्त राम्रोसँग सजाइएको छ । यसै सन्दर्भलाई लिएर मुक्तकीय भावना व्यक्त गर्ने प्रयासका साथै यो सङ्क्षिप्त भनाइबाट विश्राम लिन्छु ।
‘खोलाघरे’ स्वयं स्रष्टा ‘सौदामिनी’ छ मुक्तक
‘सौदामिनी’ स्वयं शुभ्र सामाजिक छ मुक्तक
अनेकौँ द्वन्द्वका साथ रमाउँछन् खोलाघरे
स्वतन्त्र मुक्तमालामा काव्यात्म बन्छ मुक्तक ।१।
धेरै छन् छन्दका बान्की ‘खोलाघरे’ विचारी हुन्
भाव–गम्भीरताभित्र प्रेम बाँड्ने विचारी हुन् ।
देशको सभ्यताचित्र विचित्रता सजाउँदै
वार्णिक–शब्द–तात्पर्य खोल्नेमा ती विचारी हुन् ।२।
व्यञ्जनात्मक सौन्दर्य प्रत्येक छन्द–मुक्तक
सम्झना–योग्य चातुर्य भावुक छन्द–मुक्तक ।
सृजना–श्रुति–माधुर्य बनेका पद्य छन् यहाँ
शालीन–धारणा–धार–नादमा छन्द–मुक्तक ।३।
वार्णिक छन्द आठौँ होस् बाइस वर्ण छन्द होस्
पदलालित्य ल्याएर आकर्षण र द्वन्द्व होस् ।
काव्यिक सिर्जनाभित्र ‘खोलाघरे’ रमाउँछन्
‘सौदामिनी’ सजाएर चलेको छन्द–नाद होस् ।४।
यस्तो सुन्दर यात्रामा सबै ती पद्य मुक्त छन्
भावना–सूक्ष्मताभित्र कला–लेखन मुक्त छन् ।
अन्तर्हृदयले भन्छ– वन्दना छ सधैँभरि
आलङ्कारिक सौन्दर्य पाइन्छ कथ्य सूक्त छन् ।५।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक