तिहार, गुलियो र स्वास्थ्य : राजेशमान के.सी.

तिहार, गुलियो र स्वास्थ्य : राजेशमान के.सी.
 कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २६ ।
गाउं नै गाउंले भरिएको हाम्रो देशमा धेरै मानिसहरु गरीव र अशिक्षित छन् । तर कला र संस्कृतिको धनी मानिने यस मुलुकमा परम्परागत चाडपर्वहरु अत्यन्त खुशी र हर्षोल्लासपूर्वक मनाइन्छ । के गाउं, के शहर, के धनी, के गरीव, पढेलेखेका वा अनपढ जो कोहीले पनि यस्ता चाडपर्वहरु बढो खुशी र आदरपूर्वक मनाउने गर्दछन् । खासगरी दशैं र तिहार जस्ता चाडहरू त हाम्रो मुलुकमा राष्ट्यि पर्वकै रूपमा मनाउने प्रचलन छ ।
चाडपर्वहरुको कुरा गर्दा दशैं त भर्खरै सकिएको छ र दशैंपछि अब हामी अर्को महान् पर्व तिहार मनाउने तर्खरमा छौं । तिहारलाई रमाईलो पर्वको रुपमा लिइन्छ र रमाइलो गर्ने क्रममा विभिन्न प्रकारका मिठाई र मिठाईजन्य परिकारहरु आफु  खाने र अतिथिलाई पनि खुवाएर अतिथिको सम्मान गर्नु नेपाली समाजको एउटा महत्वपूर्ण प्रचलनकै रुपमा रहेको छं । यस्ता मिठाइहरु देवी देवतालाई चढाउनेदेखि लिएर घर–परिवारमा खान र खुवाउनका लागि प्रयोग गरिन्छ । मिठाई प्रायः पीठो, दूध वा दूधबाट बनेका दूग्ध पदार्थ, चिनी, घिउ, तेल आदिबाट तयार पारिन्छ । मिठाईका यस्ता परिकारहरुलाई चिल्लो पदार्थ, प्रोटिन र कार्बोहाईड्ेटमा वर्गिकृत गर्न सकिन्छ ।
दशैं र तिहार जस्ता चाडपर्वहरूमा घरमा बनाइएको मिठाइमा होस् वा बजारमा बनाइएको
मिठाइमा । प्रायः मिसावट गरिएको खाद्य पदार्थबाट बन्ने गरेको पाइन्छ । मिठाई मात्र होइन बजारमा तयारी रुपमा पाइने अन्य कतिपय खाद्य पदार्थहरुमा समेत विभिन्न रंगहरुको प्रयोग गरी बनाइएको हुन्छ । देख्दा राम्रो र चिटिक्क देखिने यस्ता खाद्य पदार्थहरुमा विभिन्न रंगहरु हाल्ने गरेको पाइन्छ । तर देख्दा राम्रो र आकर्षक भएपनि यसले शरीरलाई कुनै फाईदा गर्दैन, बरु उल्टो वभिन्न रोगहरु निम्त्याउन मद्धत पुर्याउंछ । जस्तै कतिपय खाद्य पदार्थहरुमा रातो रंग हाल्ने गरेको पाइन्छ । रातो रंग पैदा गर्ने  ‘फास्टरेड कार्मोइसिन’ नामक रंग प्रयोग गरिन्छ । यसले रगतलाई रातो बनाउने हेमोग्लोबिनलाई नै नष्ट पारिदिन्छ र साथै रक्ताल्पता जस्तो रोग समेत लाग्ने सम्भावना रहन्छ । त्यस्तै पहेंलो रंगमा सेन्सेटको एफ.सी.एफ. रंग प्रयोग गरिन्छ । यसले पनि शरीरमा विभिन्न प्रतिकूलक असरहरु पु¥याउने गर्दछ । त्यसैगरी अधिकांश पेय पदार्थहरुको रंग र बाक्लोपनलाई सुरक्षित गर्न भनी  ‘ब्रोभिनेटेड तेल’ प्रयोग गरिन्छ । यसले मानिसहरुलाई बांझोपन गराउने तथ्य प्रकाशमा आएको छ ।
यसरी खाद्य पदार्थ जस्तो सम्बेदनशील कुरामा जथाभावी रुपमा विभिन्न रंगहरु प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने हुंदा यस्ता सामग्रीहरु बनाउंदा खान हुने र नहुने रंगहरुको जानकारी राखी उपभोक्ताहरुको स्वास्थ्यमाथि लापरबाही नगरी सुरक्षित गर्नु अति नै आवश्यक छ । हुन त खाद्य पदार्थमा प्रयोग गरिने सबै प्रकारका रंगहरु स्वास्थ्यको लागि हानिकारक नै हुन्छ भन्ने छैन । तर आवश्यक भन्दा बढी प्रयोग गरिंदा त्यही खाद्य पदार्थ पनि  विषाक्त बन्न पुग्दछ । त्यसैले खाद्य पदार्थमा प्रयोग गरिने यस्ता रंगहरुको परिमाणात्मक जानकारी राख्नु आवश्यक हुन्छ । विशेषज्ञहरुका अनुसार मानिसलाई लाग्ने विभिन्न रोगहरुमध्ये ९० प्रतिशत भन्दा बढी रोगहरु असुरक्षित खाद्य पदार्थबाट नै हुने गर्दछ । त्यसैले यसतर्फ राम्रो विचार पु¥याउनु आवश्यक हुन्छ । अर्को उदेक लाग्दो कुरा के छ भने हाम्रो जस्तो गरीव मुलुकमा खाद्य बस्तुको गुणस्तर प्रभावकारी रुपमा जांच गर्ने खासै परम्परा बनिसकेको छैन । तसर्थ खाद्य पदार्थ निर्माण गर्दा जनस्वास्थ्यलाई ख्याल गरी बनाउनु पर्दछ ।
त्यस्तै शुद्ध खाद्य पदार्थहरुमा पनि विभिन्न प्रकारका दूषित खाद्य पदार्थ जस्तै– विग्रीसकेको पूरानो खाद्य पदार्थ, रंग आदि मिसाएर शुद्ध भनी बेचिने वा प्रयोग गरिने प्रवृत्ति पनि पाइन्छ । यस्ता मिसावटयुक्त खाद्य पदार्थबाट निश्चीत रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । खासगरी दूधमा पानी, पाउडर, पीठो, सोडा आदि मिसाइन्छ भने खाने तेलमा आलस, पूरानो विग्रीएको तेल तथा घिउमा सखरखण्ड, च्यूरी घिउ, डाल्डा घिउ आदि  मिसाउने गरिन्छ । यसरी मिसाइएको खाद्य पदार्थबाट मिठाइहरु बनाइन्छ र खुलेआम रुपमा बजारमा विक्री वितरण समेत गरिन्छ ।
तिहार जस्ता चाडपर्वमा विशेषगरी मिठाइको प्रयोग घर–घरमा हुने गर्दछ र दैनिक रुपमा सेवन गरिन्छ । चिल्लोयुक्त रुपमा पकाइने यस्ता खाद्य पदार्थहरुको बढी सेवनले स्वास्थ्यमा नकारात्मक असर पर्दछ । चिल्लो पदार्थ भनेको खासगरी घिउ, तेल र विभिन्न प्रकारका रासायनिक यौगिक पदार्थको सम्मिश्रण हो । शरीरको लागि आवश्यक पर्नेभन्दा बढी चिल्लो खाएमा त्यो शरीरको   एडीपोस  टिस्यूमा जम्मा हुन थाल्छ र यसबाट शरीरमा बोसोको मात्रा बृद्धि हुन गई शरीर मोटो र थिलथिलो हुन पुग्दछ । त्यति मात्र नभई चिल्लो बढी भएको खाने कुराहरु अत्यधिक खाने गर्नाले ग्यास्टिक, उच्च रक्तचाप, ह्रदयघात आदि जस्ता घातक रोगहरु समेत उत्पन्न हुन सक्तछ । यसैले दशैं तिहार जस्ता चाडपर्वमा मिठाईका परिकारहरु बजारबाट खरीद गर्दा अथवा घरैमा बनाउंदा पनि  निम्न कुराहरुमा ध्यान पुर्याउनु राम्रो हुन्छ ।
– चिल्लो पदार्थ घिउ, तेल बजारबाट खरीद गर्दा त्यसमा मिसावट गरिएको छ–छैन राम्रोसंग जांच परख गरेर मात्र किन्ने ।
– पूरानो सील तोडेको नमीठो गन्ध आउने घिउ तेलको प्रयोग गरी मिठाई बनाउने गर्नु हुंदैन ।
– मिठाई खरीद गर्दा सकेसम्म विश्वासिलो र भरपर्दो पसलहरुबाट ताजा र पकाएको मिठाइमात्र किन्ने र प्रयोग गर्ने गर्नु पर्दछ ।
– ग्राहकहरुलाई आकर्षित गर्ने नाममा बजारमा विक्रीको लागि राखिएको नाना थरीका रंगहरु मिसाइएका रंगीन मिठाइहरुको प्रयोग बिल्कुलै गर्नु हुंदैन । अझ भन्ने हो भने भोजनमा मिठाइको प्रयोग सकेसम्म कम गर्नु नै राम्रो हुन्छ ।
– ठीक र उचित मात्रामा राखिएको चिल्लोले शरीरलाई जति फाइदा पुर्याउंछ, बढी खाएमा चिल्लोले शरीरलाई त्यति नै हानी पु¥याउंछ ।
त्यसैले दशैं र तिहार जस्ता चाडपर्वहरुमा मीठो खाऔं र रमाइलो पनि गरौं । तर साथसाथै आफ्नो  अमूल्य स्वास्थ्यको पनि ख्याल राखौं ।
तपाइँको प्रतिक्रिया ।