गाउँघर रोएका छन् : नारायण घिमिरे (कविता )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १३।
देश बनाउन निस्किएका एक हुल,
सिकर्मी दाजुहरुले, डकर्मी भाईहरुले
नीतिको हलोले, नैतिकताको बलमा
नागरिकको भविष्य नजोत्ने
लाचार ! हलि देखेर
बिरक्तिएका सिकर्मी दाजुहरु र डकर्मी भाईहरु
देश छोडेर खाडी छिरेदेखि
गाउँ घरबाट चाडबाड हराएका छन्
खुशी बन्दकी छ, जवान तन्नेरीको अभावमा
खेत धान फलाउँदैन
बारि मकै उमार्दैन
करेसो बाँझो बसेको छ
मलामी अभावमा कृतिशेषहरु
तरुण तन्नेरीको बलिष्ठ काध पर्खिएका छन्
साँच्चै ! आजकाल गाँउघर रोएका छन् ।
साँईली भाउजू र कान्छी बुहारीका मन्
खँडेरीका बाली भएका छन्
पल्लाघरे कान्छीको तरुणी वैंस
न फक्रदै ओईलाएको छ
दाजुभाइ खाडी छिरेदेखि
खोरमा भाले बास्न छोडेको छ
सायद ! आँगनमा प्रकाश नपोखिएर होला
आजकाल गाँउघर रोएको छ ।
उता ! देश जोत्नेहरु, अध्यागमनको गेट भित्र
चर्किएको काँच जस्तै, चिरा परेको अबोध पैतला टेकेर
आशाको कसौडिमा, समृद्धिको मानु पकाउने रहरले
जाल झेलको टेबुलबाट
अफ्नो कर्म लेखिएको कागज लिन
लाचार ! लाईन बसिरहेका छन्
यता ! मखमली आशनमा बसेर
गफ् चुट्नेहरु
मूलाको बाँसुरीमा
बेताले राग अलापेर
कुराले चिउरा भिजाउँदै
बडेमानको अक्षरमा
आफूले माखो मारेको घोषणा गरेर
विराजमान् भएका छन्, देशको मुटुमा
त्यसैले त !
पारी क्षितिजमा, सम्भावनाको घाम डुबेर होला
आजकाल गाँउघर रोएका छन् ।
किताब बिसाएर, गैँती उठाउन हिडेकाहरुबाट
डोको बिसाएर, बोझ उठाउन हिडेकाहरुबाट
असुलेको असर्फिले, मुलूकको मुहारभन्दा अगाडि
आफ्नै मुहार सिंगारेर,
बिलासिताको पोखरीमा डुब्ने, पाखण्ड प्रवृत्ति मौलाउँदा
देश दुखेर होला ! बिछोडमा आफन्तको, भक्कानु फुटेर
आजकाल गाँउघर रोएका छन् ।
धारो पानी कम, बेथिति ज्यादा बगाउँछ
बिजुली प्रकाश रोकेर आफ्नै
लुकाउन बेइमानी खल्ती
सम्राज्य रोप्छ अन्धकारको
लमतन्न सडक, पत्र पत्रमा
बोकेर स्वार्थको कमन्डलु
तन्कन्छ बडाहाकिमको दरवार
शिक्षा, युगलाई बन्धक बनाएर
निमोठी रहेछ सन्ततीको गला र
रोपिरहेछ नजरानाको बिज
स्वास्थ्य, चिरेर निमुखा गोजि
सिलाउँछ मनमानिको थैली र
थुन्छ सदा सदाको लागि, झुपडीको दैलो
त्यसैले त !
देश बनाउनेहरु, अमिलो मन् बोकेर
फेरि पनि देश बनाउन
बिदेशका चोक र गल्लीहरु चाहरी रहेका छन् ।
आफ्ना सन्तानको बियोगमा
आजकाल गाँउघर रोएका छन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक