ओ पैसा : त्रिलोचन आचार्य (कविता )

ओ पैसा : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १३।

ओ पैसा ! तँ जता जान्छस् मानिस धाउँछन् उतै
तँ के होस् सबले चिन्छन् जन्म लिन नपाउँदै
चाहिन्न कसले भन्नूँ तँ छैनस् छैन जिन्दगी
कस्तो चुम्बक जस्तो छस् तँ हैनस् हैन जिन्दगी ।१।

ओ पैसा ! तँ कति कुद्छस् पुगेको छस् कुना कुना
खोज्छन् आशक्त भै मान्छे कि तँ गर्छस् टुना मुना
हुन्छन् युध्द नमिलेको खोजी गर्दा चुना चुना
किन बस्छस् गई आफैँ अचारको दुना दुना ।२।

ओ पैसा ! कहिले कुद्छस् सत्ता हल्लाउँने गरी
आफ्नै इज्जत फ्यालेर भत्ता हल्लाउँने गरी
कता कैले कता कैले भेल पु¥याउँने गरी
छोपेर नाकको डाँडी जेल पु¥याउँने गरी ।३।

ओ पैसा ! किन बस्दैछस् देश हैन विदेशमा
किन दौडिँन चाहन्छस् अनेकौँ रङ्ग भेषमा
किन छस् फुर्तिलो चट्ट गाँजा भाङ्ग चरेशमा
झुत्रेका साथ बस्दैनस् पुग्छस् ठुला नरेशमा ।४।

ओ पैसा ! तँ बसेको छस् सिरानीतिर प्यारले
तिनैलाई बनाउँदै खरानी व्यवहारले
आफ्नै भक्तहरूलाई चिर्दा खुकुरी धारले
दुख्दैन किन त्यो छाती किन झुक्दैन हारले ।५।

ओ पैसा ! जहिल्यै राख्छस् बङ्गलातिर पाइलो
लुक्दै हिँड्दा कुबाटोमा बन्दैनस् कहिल्यै लुलो
हेर्छस् दर्बारमा मात्रै चियाउँन्नस् चिसो चुह्लो
छैन दासहरूलाई लुकाउन कतै दुलो ? ।६।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।