राप्रपा नेपालद्वारा देशब्यापी आन्दोलनको घोषणा

काठमाडौँ, २० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले केही राजनीतिक दलले संविधानसभाको नियमावली निलम्बन गरी संविधानको अन्तर्वस्तुमा पर्याप्त छलफल गर्न नदिएकामा खेद प्रस्ताव पारित गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले मस्यौदा समितिले गरेको निर्णयलाई हेरफेर गरी एकतर्फीरुपमा ‘समाजवाद’ तथा सविधान जारी भएपछि ६ महिनाभित्र स्थानीय निकायको चुनाव हुनुपर्ने विषयलाई वेवास्ता गरिएकामा दुःख व्यक्त गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गरेकामा पार्टीको ध्यानाकर्षण भएको बताउनुभयो । गत शुक्रबारदेखि शनिबारसम्म बसेको बैठकले हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै पूर्ण धार्मिक स्वतन्त्रता र समानतासहितको सनातन हिन्दू राष्ट्र स्थापनाका लागि सम्बन्धित सङ्घ संस्थासँग सहकार्य गरी अघि बढ्ने निर्णय गरेको छ ।

त्यसैगरी सो बैठकले हिन्दूत्वको जागरण तथा सामाजिक जागरणका लागि छिट्टै काठमाडौँमा बृहत सनातन धर्मसभा गर्ने निर्णय गरेको छ । बैठकले हिन्दू राष्ट्र, सङ्घीयता, गणतन्त्रका विषयलाई जनमत सङ्ग्रहबाट निर्णय लिन पार्टीले सशक्त भूमिका निर्वाह गर्नका लागि यही असार २२ गते देशव्यापी विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

पार्टीको सङ्गठन सुदृढीकरणका लागि आगामी असोज मसान्तभित्र देशका सम्पूर्ण गाविस तथा नगरपालिकामा सङ्गठन सुधारका लागि प्रयास गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा धुमबाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा भूकम्पपीडितलाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतमा दीर्घकालीन सुविधा पु¥याउन पार्टीले भूकम्पपीडित राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । रु एक करोड सङ्कलन गरिने सो कोषको अभिवृद्धिका लागि महामन्त्री चन्द्रबहादुर गुरुङको अध्यक्षतामा कोष अभिवृद्धि समिति गठन गरेको छ ।

यसैगरी बैठकले पार्टी उपाध्यक्ष धबलशम्शेर राणाले प्रस्तुत गरेको सङ्गठन सुदृढीकरण प्रस्ताव, महामन्त्री चन्द्रबहादुर गुरुङले प्रस्तुत गरेको सङ्गठनको भावी योजनासहितको कार्यपत्र तथा प्रशिक्षण विभाग प्रमुख सुशील श्रेष्ठले प्रस्तुत गर्नुभएको तीनमहिने विशेष प्रशिक्षण कार्यक्रम र स्थानीय निकाय परिचालन विभाग प्रमुख राजाराम श्रेष्ठद्वारा प्रस्तुत स्थानीय निकाय निर्वाचनलाई दृष्टिगत गरी छ महिने कार्यक्रम पारित गरेको छ । रासस

तपाइँको प्रतिक्रिया ।