सहकारी किन डुबे ?

सहकारी किन डुबे ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २१ / बुद्धि प्रसाद घिमिरे (बिपिन )

सह भनेको संगै र कारी भनेको काम । यी दुई शब्दको मिश्रणबाट तयार भएको सहकारी भन्ने शब्दको अर्थ संगसंगै मिलेर काम गरौं भन्ने बुझिन्छ । सहकारी ऐन अनुसार दर्ता भएका बचत तथा ऋण सहकारीको उदेश्य भनेको आफ्नो कार्यक्षेत्र भित्र स्थायि रुपमा बसोबास भएका ब्यक्तिहरुलाई सदस्य बनाई हुनेसंग निश्चित प्रतिशतमा ब्याजमा बचत लिने र आबश्यकता पर्नेलाई केहि प्रतिशत मार्जिन राखि लगानी गरी लगानीबाट आएको ब्याजको नाफालाई राज्यलाई तिर्नपर्ने कर रकम तिरी बाँकी रकम बिभिन्न कोषहरुमा बर्गिकरण गरी केहि नाफा सबै सदस्यहरुलाई बाढ्ने नै हो ।

त्यसको अलावा अन्य वित्तिय सेवा प्रदान गर्दै आफ्ना सदस्यहरुको आर्थिक सबलीकरणमा जोड दिनु रहेको छ । पैसा दिएर मात्र सदस्यहरुको आर्थिक उन्नती हुँदैन उनिहरुलाई पैसा उपभोग तथा आयआर्जनका शिपहरु दिन सके सदस्यहरुको निरन्तर आर्थिक उन्नती हुन्छ । आजकाल दिनदिनै सहकारी डुबे, भागे भनेर बिभिन्न समाचार आइरहेका छन् । करोडौं रकम जोखिम भयो भनेर समाचार पढ्छौं । आखिर किन यस्तो भयो त ? केहि समसामयिक यथार्थता यस्तो छ ।
१) हामिले सहकारी नै बुझेनौ की ?

सहकारी पेशा या ब्यवसाय जे भनेपनि एकको लागि सबै भनेर संचालन हुनुपर्ने संस्था हो । सहकारीमा सदस्य बन्नुभन्दा पहिला सहकारीको काम पनि बुझ्न जरुरी हुन्छ । आखिर सहकारीले गर्ने के त ? बचत र ऋण मात्र कदापि होइन । जुन उदेश्य राखेर संस्था दर्ता भएको हो त्यहि अनुसार काम भएको हो की हैन भनेर हेर्ने गरौं । सदस्य बन्न लाग्दा संस्थाका संचालक तथा कर्मचारी मात्र चिनेर नगरौं । तपाईले जम्मा गरेको रकम कसले कहाँ कसरी चलाइरहेको छ त्यो पनि बुझ्न सकेदेखि तपाई धेरै सुरक्षित बन्न सक्नुहुन्छ । हामि अधिकांस सदस्यहरुको बानी के हो भने १०० रुपैंयाको शेयर किनेपछि त्यहाँको सदस्य बनिन्छ ।

बचत गर्यो  भने ब्याज बढी पाइन्छ । पैसा पनि घरमा नै लिन पनि आउँछ दिन पनि आउँछ । यस्तो सर्भिस भए पछि किन अन्त जानु भन्ने हुन्छ । संस्थामा जाने भनेको बोलाए र भत्ता आउने रहेछ भने बार्षिक साधारण सभामा १ पटक गएर सहि गर्ने परिवहन भत्ता बुझ्ने खान दिए खाने नदिए फर्किएर आउने यतिमात्र गर्ने अधिकांस हामि हौं ।

संस्थाको गतिबिधि बारे अलिकति पनि ज्ञान हामिमा छैन र हुँदैन पनि । यदि यो कुरामा मात्र हामि जानकार भइदिने हो र महिनामा १ पटक मात्र संस्थामा गएर संस्थाको गतिबिधि बुझ्ने हो भने पनि धेरै सुरक्षित हुन्छ । हामिले यति पनि बुझ्न पर्छ की कुनै संस्थाको शेयर किनेर सदस्य बनेपछि त्यो संस्थाको हिशाब किताब हामिले पनि हेर्न पाउनुपर्छ, यसको नाफा घाटाको हिस्सेदार हामि पनि हौं भनेर बुझ्न पर्छ । संस्था घाटामा गएमा भोली हामिले लगानी गरिएको शेयर रकमको पैसा फिर्ता नआउन पनि सक्छ है भन्ने कुरा स्पष्ट बुझ्न र बुझाउन सक्नुपर्दछ।
२) कसरी डुबे त सहकारी:

सहकारीको उदेश्य बिपरित एकै परिवार या नातागोताका ब्यक्ति मात्र मिलेर संस्था संचालन गर्ने, संस्थाका संचालक तथा कर्मचारीहरुले आफूखुसि लगानी गर्ने, सदस्यमा कारोबार केन्द्रित नभई चिनेजाने तथा आशेपाशेलाई बिना सुरक्षण धेरै लगानी गर्ने, बचतको अधिकाँश रकम आफैंले घर जग्गा तथा शेयरमा लगानी गरी आफूमात्र कमाउ भनि चलाउने, सुरक्षणमा लगानी गरिएका ऋण पनि समयमा उठ्न उठाउन नसक्ने जस्ता बिभिन्न कारणले गर्दा संस्था जोखिममा गईरहेका छन् ।

संस्थाको मुख्य आम्दानी भनेकै सदस्यहरुको बचत लगानी गरी उक्त लगानीबाट प्राप्त ब्याज हो । यदि लगानी गरिएको ब्याज तथा सावाँ रकम समयमा उठ्न सकेन भने बचत कर्तालाई फिर्ता दिने पैसा हुँदैन । सदस्यको बचत रकमको ७० देखि ८० प्रतिशत रकम लगानी गरिएको हुन्छ । हाल बजारमा देखिएको आर्थिक मन्दिले गर्दा घर जग्गा लगायत कुनै पनि ब्यापार ब्यवसाय राम्ररी संचालन हुन सकेका छैनन् ।

जसले गर्दा लगानी गरिएको ऋण रकम समयमा किस्ता तथा ब्याज तिर्न सकिरहेको छैन । अहिलेको अबस्थामा मिडियाको माध्यमबाट जस्तोसुकै समाचारहरु सबैको हातमा तुरुन्त पुगिहाल्छ । फलानो सहकारी डुब्यो रे या बोलिचालीको भाषमा भन्नुपर्दा फलानो फाइनान्स भाग्यो रे भनेर भन्छौं । त्यहि सुचनालाई हेरेर हामि आत्तिएर संस्थामा बचत रकम निकाल्न जान्छौं । संस्थाको गतिबिधि बुझ्दैनौं । यदि सबैले एकैचोटि बचत रकम निकाल्न गएपछि संस्थाले बचत फिर्ता गर्न सक्दैन । अनि हामि आफ्नो बल बुताले भ्याएसम्म सबै उपाय लगाउन थाल्छौं । यदि सहि तरिकाले संस्था चलिरहेको भएता पनि सबै बचतकर्ता सदस्यहरु एकैचोटि बचत फिर्ता लिन आएमा फिर्ता दिन समस्या हुन्छ । हामि सदस्यले यति कुरा बुझ्न जरुरी छ ।
३) सरकारको कर्तब्य तथा दायित्व के त?

सहकारी संस्थाहरुको अनुगमन तथा निरिक्षण गर्ने भनेर सरकारले हरेक गाउँपालिका, नगरपालिका, प्रदेश तथा केन्द्रमा सहकारी विभाग भनेर संचालन गरेको हुन्छ । ति विभागहरुको काम भनेको सहकारीको गतिबिधि अनुगमन गरी सुशासनको बाटोमा हिड्न मार्गनिर्देश गर्दै खराब संस्थाहरुलाई सुधार तथा नियन्त्रण गर्नु नै हो ।

तर विडम्बना भन्नुपर्दा त्यस्ता विभागहरुमा दक्ष जनशक्तिको अभाव तथा भएका कर्मचारीहरु पनि आर्थिक लालचामा फसि सहि तरिकाले संस्था सुपरिबेक्षण हुन सकिरहेको छैन । यो समस्या सहकारी संस्थामा मात्र नभएर बैंक तथा अन्य बित्तिय क्षेत्रमा पनि हुन्छ र छ पनि । तर बैंक बित्तिय संस्थाको निरिक्षण तथा सुपरिवेक्षण नेपाल राष्ट्रबैंकबाट हुने गर्दछ । बैंक तथा फाइनान्स कम्पनिहरु अफ्थ्यारो अवस्थामा गएका उक्त संस्थाहरुलाई लगानी गरेर हुने रहेछ भने लगानी गरेर उकास्ने यदि त्यो पनि नहुने अवस्थामा पुग्यो भने आफैंले नियन्त्रणमा लिई संचालन गरी सुधार गरेर फेरी दक्ष संचालकलाई जिम्मा दिने गर्दछ ।

सहकारीमा यस्तो अबस्था भएन जसले गर्दा दिनदिनै समस्या बढीरहेको छ । साथै बैंक तथा बित्तीय संस्थाबाट ऋण लगानीहुन पूर्व अन्य संस्थामा ऋण लिएको छ की हैन भनी कर्जा सुचना केन्द्रबाट जानकारी दिने गरिन्छ । ऋण नतिर्ने तथा बित्तिय अपराध गर्ने ब्यक्तिलाई कालोसुचिमा समाबेश गरिन्छ ।

समयमा कर्जा नतिर्ने ऋणीको धितो लिलाम गर्नको लागि कर्जा अशुली न्यायाधिकरण गठन गरिएको छ त्यसले उठाउन्छ । तर यस्ता कुनै पनि सुबिधा सहकारी संस्थाले उपभोग गर्न पाउदैन केबल ऐनमा मात्र सीमित रहेको छ । जसले गर्दा सदस्यहरुले धेरै ठाउँबाट ऋण लिई समयमा त्यो ऋण नै तिर्दैनन् । यसको लागि यथासक्य छिटो काम हुनु पर्दछ ।
४) अवको विकल्प:

सहकारी संस्था खराव हैन नाम बदनाम गराएका त्यहाँका केहि सदस्यहरुले नै हो । अफ्थ्यारोमा साथ दिने भनेको सहकारी नै हो । नेपालीहरुको अहिले पनि बैंकसंगको पहुँच धेरै टाधा छ । त्यसैले सहकारीमा कारोबार गर्दा संस्थाका संचालक तथा कर्मचारी मात्र चिनेर भन्दा पनि संस्थाले गरेका गतिबिधिहरु, संस्थाका आर्थिक, सामाजिक, राजनितिक तथा अन्य पाटाहरु बुझेर सदस्य बन्ने बानी बसालौं । डुबेका संस्था पनि सदस्यहरु मिल्यो भने उकास्न सकिन्छ ।

संस्थामा सानो सानो बचत गर्दै गर्यो भने भोलि भोलिलाई त्यसैले दिगो रुप लिन्छ । सबै सदस्यले कमसेकम पनि महिनामा १ पटक आफ्नो संस्थामा गएर बचत तथा ऋणको कारोवार गरौं । संस्थाको कारोवारको सम्पूर्ण विवरण माग गरेर हेरौं । चित्त नबुझे सोधौं । जानेको कुरा सिकाउँ कमजोरी भेटिएमा खवरदारी गरौं । संचालक हामी सदस्यहरुले नै बनाउने हो । सक्षम र राम्रा ब्यक्ति चुनेर संचालक, लेखासमिति छानौं । मुख्य त खबरदारी नै गरौं ।

तपाइँको प्रतिक्रिया ।