आफ्नो धर्ती : डा.राजेन्द्र परदेशी (लखनउँ, भारत)
कपन अनलाइन
काठमाडौं,बैशाख ९ ।
सबेरै उठेर ठाकुरले गोरुका डुँडमा दाना हालिदिए । गोरु खान थाले उनी घुम्न लागे । उनकी पत्नी पनि उठिसकेकी थिइन् । ठाकुर घुमेर आइपुग्दा उनले मोई पारिसकेकी थिइन् । उनले भनिन्– ‘गोपालका बा ! अलिकति माई–भात खाऊ । दिउँसो कति बेला मुखमा सितो पर्ला भन्ने के थाहा ।’ भन्दै बस्नका लागि पिरा ओछ्याइदिइन् । पिरामा बस्तै ठाकुरले भने– ‘गोपालकी आमा, गोपाललाई दिउँसो पठाइदिनू । ऊ आउँछ अनि म खाना खान आऊँला । हिजोआज खलो त्यसै छोड्न सकिने छैन है ।’ ‘ठिक छ, पठाइदिन्छु’ भन्दै थाली उनका सामु राखिदिइन् । केही नबोलीकन ठाकुर मोई र बासी भात खान लागे। उता गोरुले पनि दाना खाइसकेर डुँड चाटिरहेका थिए । सायद तिनले पनि अब बेलुका नभई केही खान पाइँदैन भन्ने बुझिसकेका थिए । खलामा दाईं गर्दा गर्दै घाम तालुमाथि आइपुगे तर पनि गोपालको अत्तोपत्तो थिएन । लखतरान् भएर ठाकुरले जगतलाई खलो जिम्मा लगाए र उनी घरतिर हिँडे ।
एक त बिहान खाएका भातले सकिएको र घामले टाउको पनि चर्किंदै थियो । त्यसैमाथि गोपालसँग उठेको रिस । दैलामा पाइला राख्तै ठाकुरले ठुलो स्वरमा भने– गोपालकी आमा ! कहाँ छौ ? ‘अरे, केही भन्छौ कि खाली कहाँ छौ भनेर सोध्छौ मात्रै’ पानी ल्याएर अगाडि राख्दै भनिन् । ‘तिमी किन रिसाउँदै छ्यौ ? मैले गोपाल कहाँ छ भनेर सोधेको पो त । हात धुँदै ठाकुरले सोधे । ‘एक थाली घिचेपछि कोठामा पसारिएको छ नि अन्त कहाँ हुन्थ्यो ?’ चुलाबाटै व्यंग्य गर्दै पत्नीले भनिन् । ‘अनि तिमीले उससँग खेतमा जा भनेर किन नभनेकी’ ‘म त उति बेलैदेखि खेतमा गएर बाउलाई भात खान पठाइदे भनिराखेकी छु नि टेर्दैन ।’ ‘अनि उसले के भन्यो त ?’ ‘के भन्थ्यो ? म चर्का घाममा उभिन पनि सक्तिनँ अरे । धेरै गर्मी हुन्छ अरे ।’ ‘ए अब उसका लागि खेत–खलामा बिजुलीको पङ्खा लगाइदिनुपर्ला ।’ ‘ऊ त अब खेतीसेती गरिँदैन भन्दै थियो ।’ ‘अनि के गर्छ अरे त ?’ ‘म नोकरी गर्छु, खेती गर्दिनँ भन्थ्यो ।’ स्थिति स्पष्ट गर्दै पत्नीले बताइन् । किसानको छोराले पढेपछि सुकिलो बन्नकै लागि आफ्नै धर्तीलाई बिर्सिन्छ र आफ्नै पहिचान गुमाउँछ ।
यस्तै कल्पना गरेर ठाकुरको आङ जिरिङ्ग भयो । उनको मन गोपालको विचार जानेपछि पीडाले छट्पटायो । बोले– ‘गोपालकी आमा अर्काको जुठो सोहोर्नु राम्रो लाग्छ । तर आफ्नो लाग्दै ।’ गएर उसलाई भन किसानका घरमा जन्मिएको छस्, आफ्नो धर्ती नबिर्सेस् । धर्ती आमा रिसाइन् भने लाखौँ कमाए पनि पेट भरिँदैन ।’
(अनुवादः मञ्जुश्री के.सी. प्रधान)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक