धोका : अन्जु शर्मा
कपन अनलाइन
काठमाडौं,बैशाख ९ ।
कुशेऔंशी बाको मुख हेर्ने दिन थियो । राम्जिले बालाई मनपर्ने लबेदा सुरूवाल किन्यो । उसले सोच्यो बालाई आकस्मिक खुशी दिन्छु । ऊ खबर नगरी घरतर्फ दौडियो ।
घर बाहिरबाट भित्र गुनगुन महिलाको आवाज आयो । राम्जि छक्क पर्यो । सोच्यो, ‘हैन, आमा बितेको एकबर्ष भएकै छैन । यो को महिला हो ?’ उसले कनसुत्ली लगाएर भित्रका कुरा सुन्ने प्रयास गर्यो ।
भित्रबाट बाको आवाज प्रष्ट सुन्यो, ‘तिम्रा लागि त्यो राम्जिकी आमालाई निदाउने औषधी नदिएको भए; राम्जिलाई पढाइ ठूलो कुरा भन्दै बाहिर नपठाएको भए यो सम्भव थियो र ?’
‘माने हजुरलाई, त्यसैले त प्रेम अन्धो हुन्छ भन्छन् ।’ आफ्नै कान्छी सानिमाको आवाज पनि सुन्यो । ऊ कपडाको पोकोसहित डङरङ्ग पछारियो ।
‘हैन के को आवाज ?’ कृष्णसरले ढोका खोले । राम्जि बेहोस भएर लडेको थियोे ।
‘ओहो ! छोरा राम्जि ! के भो बाबू तँलाई ?’ छोरालाई अंगाल्न खोजे ।
‘केही भा छैन बा, केवल धोका भयो ।’ भन्दै ऊ बाको हाट झट्कार्दै उठ्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक