नयाँ कम्युनिष्ट पार्टी गठनको प्रक्रिया शुरु :माओवादी वैद्य पक्ष

गोलमेच सम्मेलन मार्फत संविधान र अन्तरिम सरकार बनाउनु पर्ने माग

एकीकृत माओवादीको वैद्य विचार समूहले नयाँ कम्युनिष्ट पार्टी बनाउने प्रक्रिया सुरु भईसकेको जनाएको छ । वैद्य विचार समूहका केन्द्रीय सदस्यहरुको दुइ दिने वैठकपछि आज कुपण्डोलमा आयोजित पत्रकार सम्मेलनमा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले असार १ गते हुने राष्ट्रिय भेलाले नयाँ कम्युनिष्ट पार्टी गठन गर्ने दाबी गर्नुभयो । आफुहरु पार्टी फुटाउने पक्षमा नरहेको भन्दै उहाँले सम्झौता गरेर अघि बढ्न सकिने अवस्था पनि नरहेको स्पष्ट पार्नुभयो । अब विचार मिल्नेहरु एक ठाउँमा आउने बेला भएको उहाँको भनाइ थियो ।

विश्वका जुनसुकै देशमा समेत वन्दुक उठेको प्रशंग उठाउँदै वैद्यले शान्तिपूर्ण रुपले अघि बढ्ने क्रममा अबरोध भएमा फेरि बन्दुक उठाउन पछि नपर्ने बताउनु भयो । बर्तमान सरकार असंवैधानिक भन्दै उहाँले सर्वपक्षीय गोलमेच सम्मेलन गरी त्यहीबाट संविधानको खाका तयार पार्नु पर्ने र अन्तिरम सरकार गठन गर्नुपर्ने माग गर्नुभयो ।

संविधान सभाबाट संविधान बन्न नसक्नुमा विवाद समाधान उपसमितिको नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री बाबुराम भट्टराई सवैभन्दा बढी जिम्मेवार रहेको वैद्य पक्षको आरोप रहेको छ । पत्रकार सम्मेलनमा माओवादी महासचिव रामबहादुर थापाले संवैधानिक उपसमितिमा रहेका दलका शिर्ष नेता र सभामुख सुवास नेम्वाङले संविधान नबन्नुको जिम्मेवारी लिनुपर्छ भन्नुभयो ।

वैद्य पक्षले संविधान सभा विघटन गरी फेरि संविधान सभाको निर्वाचन घोषणा गर्नुलाई हास्यास्पद र नौटंकीको संज्ञा दिएको छ ।

तपाइँको प्रतिक्रिया ।