जूनतारा : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ४।
नभ बिच जब तारा, डुल्दछन् जून घेरी
छुन भनिकन आँखा, धाउँछन् चित्त चोरी
हर पल दिल खोज्दै हुन्छ त्यैँ दौडिएको
गगनतिर खुलेको, जूनतारा फुलेको ।
समयसँग यसैले फूलको नाउँपाओस्
मनुज अब यसैको, गीत मीठो सुनाओस्
सब विरह व्यथाहोस् पाइलो मेटिएको
टिप न कुसुमकाया, जूनतारा फुलेको ।
नदसँग छ किनारा कुद्न हाल्दै अँगालो
छ कुसुम भमराले चुम्नपालो कुरेको
निषिभर मन खोल्दै रात हाँस्दै रमेको
बस अब सब हेर्दै, जूनतारा फुलेको।
चमकचमकिएरै, जित्न कोहीनसक्ने
मनुजवहकिएरै, टिप्न कोहीनसक्ने
बृहत छ दुनियाँले, मार्न सक्दैन फेरो
अतिप्रिय रचना यो, जूनतारा फुलेको ।
लहलहलहराले हेर्न मुन्टो उठाए
छल छल छहराले राग मीठो सुनाए
छम छम धरतीले नित्य यैँ नाँच्नपायो
गर नजर खुलेको, जूनतारा फुलेको ।
प्रियबनिकन राख्ने बादलूले लुकाई
दिनभर नसकेको, घामले भेट्नलाई
चउरतिर रमाई हेर्न लौ निस्कएभो
नजर गरन साथी, जूनतारा फुलेको ।
अलगअलगथुँगा फूल्दछन् जोडिँदैनन्
मनुज जन कसैका हातले तोडिँदैनन्
नजिकबहुतबास्ना फैलिएझन् हुनेथ्यो
उठन उठ चियाऊँ, जूनतारा फुलेको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक