भूकम्पको समयमा सञ्चार माध्यमको भूमिका प्रभावकारी
काठमाडौँ, २८ जेठ । गत वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पका समयमा सञ्चार माध्यमले निर्वाह गरेको भूमिका प्रभावकारी मानिएको छ ।
मानवीय जवाफदेहिता अनुगमन अभियान(हामी)ले यहाँ आज पत्रकार सम्मेलन गरी भूकम्प प्रभावित जिल्लामा गरेको अनुगमनको प्रारम्भिक प्रतिवेदनअनुसार भूकम्प प्रभावित जिल्लाका सरकारी तथा निजी सञ्चार माध्यम रेडियो, पत्रपत्रिका र टेलिभिजनले भूकम्पका समाचार प्रकाशन÷प्रसारणलाई नै प्राथमिकता दिएको पाइएको जनाएको हो ।
अभियानका संयोजक मीनबहादुर शाहीले भूकम्पबाट प्रभावित कतिपय मोफसलका सञ्चार माध्यमले पनि त्रिपालमुनी उपकरण राखेर भएपनि सर्वसाधारणलाई सूचना र सान्त्वना दिएको बताउनुभयो ।
प्रतिवेदनअनुसार भूकम्प प्रभावित जिल्लाका खासगरी उत्तरीनाका खोल्न कुनै प्रयास नभएको हुँदा उद्धार र राहत वितरणमा अहिले पनि समस्या देखिएको छ ।
“कतिपय स्थानमा अझै पनि उद्धार थालिएको छैन । गोरखाका सात वटा गाविसमा कुनै पनि यातायातका साधन जान नसक्ने अवस्था छ । दोलखाको सिँगटीलगायतका क्षेत्रमा उद्धार बाँकी रहेको छ ।, ” प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी प्रभावित परिवार तथा जनताले घर सर्वेक्षणमा गएका इन्जिनियरले जथाभावी घरको वर्गीकरण गरेकोप्रति गुनासोसमेत गरेका छन् । राहत वितरणका नाममा कतिपय सङ्घ÷संस्थाले खान अयोग्य चामल वितरण गरेको संयोजक शाहीले बताउनुभयो । अधिकांश भूकम्पपीडितले सेना, सशस्त्र र जनपथलगायत सबैखालका सुरक्षा निकायले खेलेको भूमिकाको प्रशंसा गरेको बताउनुभयो ।
अभियानले प्रभावितको पहिचान गरी तुरून्त परिचयपत्रको व्यवस्था गर्नुपर्ने, घर सङ्ख्या र परिवार सङ्ख्या स्पष्ट छुटिने परिभाषा तयार गर्नुपर्ने, खेती योग्य स्थान, घर बनाउन मिल्ने स्थान खुल्नेगरी माटोको परिक्षण तत्काल गरिनुपर्ने माग गरेको छ ।
मानवअधिकारकर्मी चरण प्रसाई, सुवोध प्याकु¥याल र पूर्वसभासद् विनोद पहाडीले राहत वितरणमा समानता ल्याउनुपर्नेमा जोड दिनुभयो । रासस