युद्ध र क्रान्ति : राम आचार्य पुष्पप्रेमी
कपन अनलाइन
काठमाण्डौ ,असोज ८।
हेर्दा र पढ्दा उस्तै लागे पनि यी शब्दको अर्थ र परिभाषा फरक छ । युद्धले सृजना नष्ट पार्छ क्रान्तिले नयाँ सृजना रोप्छ । युद्धको उद्देश्यीय हार र जितमा पुगेर टुङ्गिन्छ तर क्रान्तिले परिवर्तनको दिशा बोध गराउँछ, जस्तै फ्रान्सेली राज्य क्रान्ति । युद्धको परिणाम अल्पकालमा टुङ्गिन्छ तर कान्तिको प्रभाव युग युगसम्म रहिरन्छ । युद्ध एउटा क्रुद्ध शासकको अकर्मड्यता वा ब्यक्तिको स्वार्थपूर्ण आक्रोसबाट सुरु हुन्छ तर क्रान्ति समाज रुपान्तरणको आवश्यकताले जन्माउँछ ।
त्यसैले नेपालमा १० वर्षेसम्म भएको बिद्रोह युद्ध थियो क्रान्ति होइन । अशिक्षित र अर्धशिक्षित नेपाली समाजले युद्धलाई क्रान्ति ठानेर सामाजिक रुपान्तरणको आशमा साथ समर्थन गर्नु भुल थियो । युद्धमा जन धनको क्षतिमा मात्र होइन हार्नेको भविष्य अन्योल हुन्छ, जित्नेको भविष्य उज्वल बन्छ । शासक र शासित बर्गमा गहिरो खाडल बन्छ ।
अन्ततोगत्वा नव सामन्तवादको उदय हुन सक्छ । नेपालमा भएको जनयुद्धले यहि स्थिति प्रष्ट पारेको छ । कथित जनयुद्धले हिजो सडकमा हुने महलमा पुर्यायो र घरमा बस्नेलाई दरवारमा भित्र्यायो । यो तथ्य बर्तमान नेपालका युद्धको मोर्चा समालेका नेताको यश, आराम, मोजमस्ति अनि युद्धमा बन्दुक, गोला बारुद बोकेर खटिएका असली लडाकुको जीवन शैलीबाट चित्रण गर्न गाह्रो नहोला ।
युद्धलाई मलजल गर्न समाजिक द्वेष उत्पन्न गर्न जरुरी हुन्छ, त्यसका लागि सामाजिक सद्भाव भत्काउन जातीय विद्वेश फैलाउनु, अथवा धार्मिक असहिश्रुणता नजन्माई, सामाजिक एकता खलल नपारी युद्ध सम्भव हुँदैन । वर्ग समन्यको नारा ठूलै लागे पनि व्यवहार गौण हुँहै जान्छ र जातीय महत्व फस्टाउदै जान्छ । जुन कुरा हेर्न
टाढा जानु पर्दैन नेपालकै सेरोफेरो हेरे पुगिहाल्छ । कालन्तरमा युद्धका कमाण्डरहरु आर्थिक तथा पदीय लालसाउन्मुख साथै भोगविलाष प्रति आकर्षित हुन थाले पछि युद्ध मोर्चा कम्जोर हुनजान्छ अनि प्रतिक्रान्तिको जन्म हुन्छ ।
जब प्रतिक्रान्ति बढ्दै जान्छ अनि युद्धका गोपनीयता भंग हुन थाल्छ साथै युद्धमोर्चा तितरबितर हुँदै जाँदा कमाण्डरहरु आफू सुरक्षित रहन शत्तासँग पदीय सम्झौता वा विदेश पलायन हुन थाल्छन र लडाकुहरु न भूत न भविष्यको अन्योलमा फँस्दै जान्छन । तर क्रान्तिको वृद्धिदर भने विज्ञानको संभावनिक प्रकृया जस्तै अघि बढिरहन्छ, दशकौसम्म पनि प्रभाव बढिरहन्छ जबसम्म परिवर्तनको लक्ष्य प्राप्त हुदैन । प्रतिक्रान्तिले कालन्तरमा वाद वा दर्शनको जन्म गराउँछ जुन देशकाल र परिस्थितिले मागेको माटो सुहाउँदो दर्शनको उदय हुन्छ ।
नेपालमा पनि कथित १० वर्षे जनयुद्ध जनताको आवस्यकता र चहानाले भन्दा ब्यक्तिको स्वार्थपूर्तिको आवेगमा उठेको परालको आगो मात्र थियो भन्ने समयले पुष्टि गर्दै आएको प्रष्ट देखिन्छ । किन कि त्यो युद्धले सत्ता परिवर्तनको सपना मात्र देखायो, परिवर्तन पछिको राज्य संचालनको अवयवको खाका तयार गर्नै सकेन । त्यसैले नयाँ गन्तव्य नभए पछि पुरानै सत्ता (संसदीय प्रणाली)सँग सम्झौता गर्न बाध्य भए । ठूलो संख्यालाई युद्धकालमा बाँडेको सपना चकानाचुर भयो ।
यदि अत्याधिक शिक्षित जनता थिए भने कथित जनयुद्धको राँको झोस्न सजिलो थिएन जति सजिलो अशिक्षित र अर्धशिक्षित जनतालाई आश्वसन बाँड्न सजिलो हुन्छ । त्यसैले सुदुर कर्णालीका रुकुम, रोल्पा रोजिएको स्पष्ट नै छ ।
एउटै युद्धमोर्चामा बसेर काम गरेर नेतृत्व, कार्यकर्ता र लडाकुहरु बीच शासक र शासित गरि दुई वर्गमा बिभाजन हुन पुग्नु नै प्रतिक्रान्तिको जड हो । आखिर त्यहि प्रतिक्रातिको बढ्दो प्रभावले नै तत्कालका नेत्वबर्गले जनविश्वास गुमाउदै गएको पाइन्छ । राज्य परिवर्तनको विश्व कालखण्डलाई निहाल्दा युद्धले दिएको प्रभाव वा दुस्प्रभाको परिणाम, युद्ध सकिएको १५÷२० वर्षमै देखा पर्नु नितान्त छोटो समय हो ।
यहि प्रतिक्रान्तिको सम्भावनाको सुषुप्त बिम्ब हुन सक्छन हर्क साम्पङ, वालेन र गोपाल हमाल । यिनीहरुलाई दल प्रतिको बितृष्णाको प्रतिरुपमा आँकलन गर्नु मात्र भुल हुन जान्छ । यिनीहरु प्रतिक्रान्तिले जन्माएको देश सुहाउँदो , जनचहानाले ल्याएको वाद वा दर्शनको प्रतिबिम्बको रुपमा विश्लेषण गर्नु बुद्धीमानी हो भन्ने पंत्तिकारको राय हो । किन कि अब आउने मंसिर ४ गते हुने निर्वाचनमा यहि वाद वा दर्शनले थुप्रै हर्कहरु, वालेनहरु जन्माउने निश्चित जस्तै देखिन्छ । यदि देशको आवस्यकताले, जनताको चहानाले र समयको मागले ल्याएको दर्शन हो भने अब आउने सबै हर्क र वालेनहरुलाई मेरो पनि शुभकामना ।