आस्थाको वेदव्यास : शितल गिरी
कपन अनलाइन
काठमाण्डौ ,असोज ८।
पौरस्त्य संस्कृतिको प्राणतत्व वेद हो । यो यथार्थलाई आर्घमेधाले मुक्तकण्ठले स्वीकार गरेको छ । पौरस्त्य धर्म, दर्शन, अध्यात्म, आचार–विचार, रीति–नीति, विज्ञान–कला— यी सबै वेदबाट अनुप्राणित छन् । जीवन र साहित्यको कुनै यस्तो विधा छैन जसको वीउ वैदिक वाङ्मयमा पाइदैन । समष्टि रूपमा पौरस्त्य साहित्य, जन–जीवन एवं सभ्यताको आधारभूमि वेदलाई नै भन्दा कुनै अत्युक्ति हुनेछैन । प्रश्न उठ्नु स्वभाविक हो वेदको प्रादुर्भाव कसद्वारा कहिले भयो ? यस सम्बन्धमा स्मृति वचन— ‘अनादिनिधना नित्या वागुत्सृष्टा स्वयम्भुवा’ रहेको छ । यानीकी आस्तीक जनको विश्वासमा ‘वेदवाणी अनादि, अनन्त र सनातन’ हो ।
व्यासको आशीर्वादले सन्तानको चाहना गर्ने महिलाको सन्तान हुनुपर्ने हो किनभने उनी वेद जस्तो कुरोलाई वीभाग गरेका ऋषि हुन् । तर उनले पञ्चम वेद मानिएको महाकाव्य महाभारतमा सत्यवतीलाई भनेका थिए, ‘अम्बिकाले मेरो कुरूप दुर्गन्धयुक्त शरीर तथा कुवेश सहन् गर्न सकिन् भने त आजै गर्भवती बन्नेछिन् ।’ व्यासलाई थाहा थियो विचित्रवीर्य की दुबै रानिहरू, अम्बिका र अम्बालिका रूप–यौवन सम्पन्न छिन्, तिनीहरू उनीजस्तो कालो–मैलो पुरुषको साथमा, जसको शरीरबाट दूर्गन्ध निस्कीरहन्छ र जो यथार्थमा कुरूप छ, त्यस्तासँग सहवास गर्नको लागि सहमत हुदिनन् । स्थिति वास्तवमा त्यस्तै नै थियो । सत्यवतीले धेरै थोक भनेर सम्झाई बुझाईकन अम्बिकालाई पुत्रलाभार्थ व्यासको साथमा सहवास गर्नका लागि फकाउनु पर्यो ।
व्यासले लेख्नुभएको महाभारत, आदिपर्व, अध्याय १०५ अनुसार सत्यवतीले आफ्नी छोरा–वुहारी अम्बिकालाई एकान्तमा लगेर भनेकि थिइन्— ‘हे कौशल्ये ! तिमीलाई धर्म युक्त सल्लाह दिन्छु, त्यो मनन गर । मेरो दुर्भाग्यले गर्दा भरत–वंशको अन्त हुदैछ । भीष्मले मलाई दुःखित पाएर, आफ्नो पिताको वंश नाश हुन थालेको देखेर यस कुलको वृद्धिको लागि एउटा उपाय बताएका छन् । हे छोरी ! त्यो उपाय तिम्रो अधीनमा छ, यसकारण तिमी त्यस उपाय पालनगरेर मेरो अभीष्ट सिद्ध गर । अन्त हुन थालेको यो भरत–वंशको उद्धार गर । हे सुन्दरी ! तेजमा तिमी इन्द्र समान छोरा जन्माउ । त्यस कुमारले हाम्रो कुलको यो वीशाल राज्य सम्हाल्नेछ ।’ सत्यवतीले त्यस धर्मचारिणीलाई धर्मानुसार विनम्र पूर्वक कुनै किसिमबाट सहमतीमा ल्याईन् र ब्राह्मण, देवर्षि र अतिथिहरूलाई भोजन गराइन् । यथार्थमा अम्विका सत्यवतीले धेरै अनुनय–विनय गरेकी हुँदा नै व्यासको साथमा समागम गर्न तयार भएकी हुन् ।
व्यासमा अलौकिक शक्ति हुँदो हो त आशीर्वाद दिएकै भरमा छोरो जन्मिदो हो त सत्यवतीले कल्पीदै अनुनय गर्नु पर्ने थिएन । यसबाट प्रष्ट हुन्छ व्यासले अम्बिकाको साथमा समागम गर्यो ।
महाभारत, आदिपर्व, अध्याय १०६ अनुसार अम्विकाले नियोग–समयमा ऋतु–स्नान गरेपछि सत्यवतीले तिनलाई सजाइएको शैयामा बसाएर विस्तारै भनिन्— ‘हे कौशल्ये ! आज आधीरातमा तिम्रो जेठाजु यहाँ आउनेछन् । तिमी खुसी मनले उनको प्रतीक्षा गर्नु ।’ यो सामान्य कुरो सबैलाई थाहा नै छ नारी ऋतुवती भएपछि स्नान गरेपछि मात्रै पुरुष–प्रसंग यानी गर्भ–धारण गर्न योग्य हुन्छिन्, आधीरातको समय सहवासको लागि उपयुक्त मानिएको छ । यदि व्यासको आशीर्वादले मात्र नै पुत्र–प्राप्ति हुनेथियो भने त उनी आफ्नो आशीर्वाद उपस्थित विशिष्ट व्यक्तिलाई साक्षी राखेर दिउसो नै अम्विकालाई दिन सक्दथे ।
मध्यरातमा ऋतु स्नाता अम्विकाको शयनकक्षमा व्यास जानु पर्ने कारण के हो ? यथार्थ थाहा भएको हुँदा आफ्नो आशीर्वादलाई कार्यरूपमा परिणत गर्नको लागि उनी व्यवहारिक स्वरूप दिन चाहन्थे । व्यासले त आमा सत्यवतीको आराधना पुरा गर्नको लागि अम्विकाको साथमा सम्भोग गरे । व्यासको वीभत्स रूप देखेर काशिराजकी छोरी अम्विका डराइन् र आखा मुदिन्, डराएर अम्वालिका पहेलो भइन् । व्याससँगको सम्भोगमा अम्विकाकी दासीमात्र यस्ती थिई जो तेस्रोपल्टको नियोगमा निर्भीक भएर साथै निःसंकोच भावले परितृप्त भइन् ।
व्रतशील महर्षि त्यस दासीको साथमा कामोपभोग गरेर अति प्रसन्न भए । यसरी प्रसन्न भएका व्यासले वेदलाई चार भागमा विस्तार गरेको हुँदा नै कृष्णवर्णका कृष्ण द्वैपायन व्यासको नामले प्रख्यात भए । उनले वेदलाई चार भागमा विभक्त गरेर आफ्ना चार प्रमुख शिष्यलाई वैदिक संहिता अध्ययन अध्यापन गराउँन लगाए । उनले आफ्नो प्रमुख शिष्य पैललाई ऋग्वेद, वैशम्पायनलाई यजुर्वेद, जैमिपनलाई सामवेद र सुमन्तुलाई अथर्ववेद संहिता सबभन्दा पहिले अध्ययन गर्ने जिम्मेवारी दिएका थिए ।
महाभारत युद्ध पश्चात् वेदव्यासले तीन बर्षको निरन्तर परिश्रमगरेर श्रेष्ठ महाकाव्य ‘महाभारत’ रचना गरेका थिए भनेर भनिन्छ । यो महाभारतलाई पञ्चम वेद पनि भनिन्छ र यसको प्रचार प्रसार गर्ने जीम्मा उहाँले शिष्य लोमहर्षणलाई दिएको बुझिन्छ । व्यासले वेदलाई चार भागमा बिभक्त गरेको सन्दर्भमा श्रीमद्भागवत (१।३।२१) मा लेखिएको छ— महर्षि पराशरद्वारा सत्यवतीबाट उत्पन्न व्यासले अर्थबोधको सहजताको लागि वेदको विभाजन गरे ।
यस्तै कार्यले वेदव्यास प्रति अहिले पनि आस्था छ । महर्षि वेदब्यास पौरस्त्य ज्ञान–गङ्गाको भगीरथ मानिएका छन् । यीनले भगीरथ जस्तै पौरस्त्य लोकसाहित्यको आदियुगमा हिमाच्छादित बदरिकाश्रममा अखण्ड समाधि लगाएर अध्यात्म, धर्मनीति र पुराण पहिले स्वयं आफूले साक्षात्कार गरेर साहित्य– साधनाद्वारा आर्षवाङ्मय पवित्र पार्नुको साथै लोक–साहित्यमा पनि गति प्रदान गरे । अनन्त उपासक महिमान्वित प्रतीक बनाइदिएको छ । वेदव्यास अलौकिक प्रतिभा सम्पन्न महापुरुष थिए । विद्वानहरूको परीक्षाभूमि ‘श्रीमद्भागवत’, समुज्ज्वल भावररत्नको निधि ‘महाभारत’ तथा ‘ब्रह्मसूत्र’ एवं ‘अष्टादश पुराण’ आदि उनको महत्ताको प्रत्यक्ष प्रमाण हो ।
यसकारण व्यासको प्रतिभालाई स्तुतिमा भनिएको छ— जीवनको चतुर्विध पुरुषार्थसँग सम्बन्ध राख्ने जे जती ज्ञान महाभारतमा छ, त्यती अन्यत्र छ, जे त्यहाँ छैन त्यो कहि पनि छैन । हुदो हो त महाभारतको प्रभाव अवश्य धुमिल बन्दो हो । त्यो आस्था होइन र हुन सक्दैन जसले लोक अहित गर्ने गर्छ । व्यासले जे गरे व्यक्तिगत स्वार्थभन्दा परहितको लागि गरे— हेर्दा असहज देखिए पनि त्यहाँ हितकै कुरो छ । आस्थाको सम्बन्ध व्यक्तिगत स्वार्थमा हुदैन । आस्था भनेको त्रास होइन । प्रेमदेखि अन्त आस्था कहि पनि हुँदैन ।
एकजना मित्रले भनेका थिए कि आस्था महाभारतमा छ, तर वेदव्यासमा छैन । म ति मित्रको अभिनन्दन गर्दछु । वेदव्यास मेरोलागि पनि त्यसैगरी अनावश्यक भएको भए लेख्न पक्कै बस्ने थिन । तर वेदव्यास जे छ आफ्ना सीर्जनामा छन् जहाँ छन् आस्थामा छन् । यसकारण उनका सीर्जना वास्तविक यसकारण यो संसारमा सबभन्दा अवास्तविक सर्जक हो ।
सर्जकलाई कसैले दार्शनिक अथवा धार्मिक भनेको र सर्जक भनेको पनि पाइदैन । सर्जकको गुणगान गाइन्छ नामको प्रशंसा गरिन्छ, र अन्ततः सीर्जनामा सीमित राखिन्छ । व्यक्ति अवास्तविक र सिर्जना वास्तविक भएको हुदा नै हुने गर्दछ । विरोधीको महान महिमा भनेको नै यही हो, उ यथार्थलाई आफ्नो आस्थाको यथार्थ आधार दिन्छ । उसले यस यथार्थ प्रकट गर्दछ वेदव्यासको कुनै भाषा वर्तमानमा छैन । आस्थामा नै उनको वर्तमान बाचेको छ । पौरस्त्य साहित्यमा जहाँ आस्था हुन्छ, त्यही वेदव्यास ।
पुराण–पुरुषको परम्परामा बसिष्ठ, शक्ति, पराशर र व्यासको नाम आएको छ । महापुरुषको व्यक्तित्व यती महान भएको पाइएको छ कि कसैले कुनै सीमामा आबद्ध गर्न सक्दैन । यसकारण व्यासको कार्यक्षेत्रको सीमा व्यापक रहेको दृष्टिगोचर हुन्छ । यसो त स्रष्टा र सीर्जना एउटै कुरा हो । समाजको सम्मुखमा सिर्जना गर्ने उमङ्ग हुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक