तेस्रो आँखा : इन्दिरा चापागाईँ (लघुकथा )

तेस्रो आँखा : इन्दिरा चापागाईँ (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,साउन २८।

राजधानीमा साउनको हरियाली रमझम बढि नै देखिन्थ्यो । प्रिया र प्रविनको गएको वैशाखमा मात्र विवाह भएको थियो । संस्कारी पत्नी पाएर प्रविन दङ्ग थियो । विवाह पछिको पहिलो साउन पत्नीलाई अविस्मरणीय खुशी दिन चाहन्थ्यो, ऊ ।
‘लौ साउने ब्रत र तिजको किनमेल गर । मेरो अफिसमा अलि व्यस्तता छ । भाउजुलाई लिएर किनमेल गर्न जाऊ है ।’
प्रियाले मुसुक्क हाँस्दै ‘हुन्छ’ भनी ।
साउनको महिना थुप्रै महिलाहरु हरिया लुगा चुरा मेहँदी लगाएर खुसी हुँदै मन्दिर हिडेका देखिन्थे । कोही नाचेका र कोही मन्दिर पस्न लाइन लागेको दृष्य निकै मनमोहक लाग्थ्यो ।
एक सोमबार प्रविन अफिसबाट चाँडै घर आइपुग्यो । प्रिया साँझ बत्ती बालेर आरती गर्दै थिई । पतिलाई पनि भगवानलाई झैँ आरती गरी।ऊ सदा झैँ सामान्य लुगा र हल्का श्रृङ्गारमा थिई । प्रविन छक्क पर्यो  ।
‘खै के के किन्यौ ? देखाउँदिनौ त यत्रो दिन भैसक्यो ।’
‘सबथोक छ, के किन्नु प¥यो र ? मुस्कुराउँदै भनी ।
‘मैले त तिम्रो कुरा केही बुझिँन’
‘म जत्तिको बुज्रुकले त समाजलाई राम्रो सन्देश पो दिनु पर्यो । हुने मान्छेले तामझाम गरिदिए पछि नहुनेलाई कति चोट पर्दो हो ।’
‘तिमीलाई हरियाली रुपमा देख्नै पाइन । हरिया लुगा चुरा र मेहँदीले तिमीलाई कस्तो राम्रो सुहाउँदो
होला । कि भगवान्लाई खुशी पार्नु र मेरो आयु बढाउँनु छैन, तिमीलाई ?’
‘भ्रम मात्र हो हजुर । त्यसो गर्दा न भगवान खुशी हुन्छन्, न त हजुरको आयु नै बढ्छ ।’ छक्क पर्दै सोध्यो, ‘यतिका महिला सबैले लगाएका छन् । यसले के चाहिँ हुन्छ त ?’
‘यी सब सामान भारतमा बन्छन् । करोडौँको निर्यात गरेर भारत खुशी हुन्छ । करोडौँको आयात बढ्दा नेपालको अर्थतन्त्र चाहिँ कमजोर हुन्छ । तेस्रो आँखा खोलेर हेर्नुस् त हजुर ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।