गुमनाम बस्ती : हेम पोखरेल (लघुकथा )

गुमनाम बस्ती : हेम पोखरेल (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,साउन २८।

‘यहाँ त घरहरु थिए हैन हाकिमसाव ?’ एउटा पहाडको छेउमा पुगेपछि कारिन्दाले हाकिमलाई भन्यो ।
घर नक्सा स्वीकृत दिने हाकिम र उनको कारिन्दा पैदल हिँड्दै त्यो बाटो जाँदै थिए ।
‘हो ! यहाँ भएका यी सबै घरहरुको नक्सा मैले नै स्वीकृत दिएको हो । अढाई, तीन आनाका टुक्रामा नक्सा स्वीकृत गरेर यहाँ त ठूलो बस्ति थियो । अहिले त पहाड बनेछ यो कसरी सम्भव भयो ?’ हाकिमले पनि छक्क पर्दै जिज्ञासा राखे ।
त्यतिबेलै त्यो पहाडको टुप्पोमा केही मान्छेहरु देखिए । ती मान्छेहरूसँग यो पहाडको बारेमा बुझ्न पहाडको फेदीबाट हाकिमसाव बेस्सरी कराएर भने ः ‘तपाईंहरु यहीँको हो ?’
माथिबाट आवाज आयो : ‘हो हजुर !’
‘कसरी यस्तो पहाड भयो ? यहाँ त ठूलो बस्ती थियो ।’ कारिन्दाले तलबाट ठूलो स्वरमा सोध्यो ।
माथिबाट जवाफ आयो : ‘फोहोरको ब्यबस्थापन गर्न नसक्दा तलबाट फोहोरले घर पुर्दै ल्यायो । हामी क्रमशः माथ्लो तला सर्दै अहिले टुप्पोमा आइपुगेका छौं ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।