बुढानिलकण्ठमा दुर्व्यवहार प्रकरण : प्रेस स्वतन्त्रता हनन कि मुद्दाको राजनीतिकरण ?

बुढानिलकण्ठमा दुर्व्यवहार प्रकरण : प्रेस स्वतन्त्रता हनन कि मुद्दाको राजनीतिकरण ?

कपन अनलाइन

काठमाण्डौ ,साउन ५/श्यामराज  गौतम (यशराज)

बुढानिलकण्ठ नगरपालिकाका मेयर कार्यलयमा पत्रकार मित्र सन्तोश भण्डारीलाई अभद्र व्यवहार गरियो । उनले आफ्नो फेसबुकको स्ट्याटसमा एउटा पोष्ट हाले । त्यहि पोष्टलाई आधार मानी बुढानिलकण्ठ केन्दृत विभिन्न अनलाईन सञ्चार माध्यमले समाचार बनाए ।

कुनै कुनै पत्रकार संगठनले त बिज्ञप्ति नै प्रकाशन गरेको देखियो । यो घटनाको पछाडी कारण जे सुकै होस । कसैले पनि कसैलाई अभद्र व्यवहार गर्नु कानुनी रुपमा दण्डनिय हुन्छ । त्यस्तो गर्न हुदैन । तर प्रसङ्गमा जोडिएका ब्यक्ती पत्रकार रहेछन । सञ्चार माध्यमको तरङ्ग, दल निकटसंगठनको  बिज्ञप्तिले गर्दा केही प्रश्नको उत्तर खोज्न मन लाग्यो ।

के यो सच्चै प्रेस स्वतन्त्रताको हनन भएको हो त ? के त्यो ब्यक्ती पत्रकार नभएको भए संचार माध्यमले यति नै प्राथमिकता दिन्थ्यो होला ? कि राजनितिकरण हुन लागेको हो ? आदि ईत्यादी प्रश्नको बारेमा उत्तर खोज्ने प्रयासमा नेपालको संविधान २०७२ को सञ्चारको हक तथा स्वतन्त्रताको हक सम्वन्धी ब्यबस्था, पत्रकार आचारसंहिता २०७३ मा पत्रकारका बारेमा के कस्ता कुराहरु लेखिएका रहेछन भनेर बुझ्ने इच्छा जागृत भयो ।

पत्रकार आचारसंहिता २०७३ मा पत्रकार भन्नाले “संचार प्रतिष्ठानमा ब्यबस्थापकिय तथा प्रशासकिय अधिकार प्राप्त गरेको ब्यक्ती बाहेक संचार सम्वन्धी ब्याबसाय वा सेवालाई प्रमुख ब्यबसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पुर्ण वा आंशिक समय काम गर्ने ब्यक्ती सम्झनु पर्दछ” भनिएको छ । साथै यसको ब्याख्या गर्ने अन्तिम अधिकार काउन्सिलमा रहने छ, भनिएको छ ।

तथापी यसै ब्याख्याको आधारमा हेर्ने हो भने पत्रकार हुँ भन्नको लागि पत्रकारिताको अध्ययन हुनु पर्ने वा काउन्सिलको कुनै परीक्षा उतिर्ण गर्नु पर्ने वा कुनै प्रमाणपत्र हासिल गर्नु पर्ने, कुनै प्राबधान नै छैन । काउन्सिलमा दर्ता भएका कुनैपनी सञ्चार प्रतिष्ठानले जसलाई पनि पत्रकार नियुक्त गर्न सक्ने रहेछ ।

तसर्थ पत्रकार कुनै अमुक प्रमाणपत्रधारी ब्यक्ती होइन रहेछ। यो त केबल एउटा पद मात्र रहेछ । जस्तै कोहि खरिदार होला, कोहि मेनेजर होला, कोहि मज्दुर होला । त्यस्तै पत्रकार पनि पद रहेछ । प्रहरी, शिक्षक, बैंकर्स जो जति छन ती सबै सेवा मुक्त भए पछि भुतपुर्व हुन्छन तर यो पत्रकारिता सेवामा नहरे पनि पत्रकार नै हुने अमुक शक्तिको रुपमा गलत व्याख्या पो भयो कि ? नगरपालिकामा अन्य सेवाग्राही पनि जान्छन त्यहाको बेथितिको मारमा अन्य ब्यक्ती पनि परेका होलान । तिनिहरुको बारेमा न कुनै संचार माध्यमले स्थान दिएको सुनिएको छ ।

न कुनै पेसागत संगठनले बिज्ञप्ति निकालेको देखिन्छ । प्रसंगले ती पत्रकार मित्र मेयरको कार्यलयमा समाचार संकलन गर्न गएका थिएनन् । उनी एउटा सामाजिक अभियन्ताको हैसियतले आफ्नो टोलमा भएको यातायातको समस्याको बारेमा छलफल गर्न गएका रहेछन । घण्टौ सम्म कुरे तर समय पाएनन । सायद जबरजस्ती प्रबेश गर्न खोजे, यसै क्रममा घटना भयो ।

त्यो कुरालाई आफ्नो फेसबुक स्ट्याटसमा लेखे अनि त्यहि फेसबुक स्ट्याटसले समाचारको स्थान पायो किनकी उनी पत्रकार पनि हुन । प्रेस स्वतन्त्रता संविधान प्रदत्त नागरिकको मौलिक हक हो । आचारसंहिताको प्रस्तावनामा उल्लेख छ; “बिचार र अभियक्ती स्वतन्त्रता, सुचनाको हक, प्रेस स्वतन्त्रतालगायत नागरिकको आधारभुत अधिकारको संरक्षण, सम्वर्धन र प्रचलनको लागि” भन्ने शब्द लेखिएको छ । मौलिक हक नागरिकको लागि हो । प्रेस स्वतन्त्रता नगरिकलाई सुसुचित गर्ने प्रयोजनको लागि हो ।

निजि वा अन्य कुनै प्रयोजनको लागि पत्रकार अहोदाको ब्यक्तीलाई भएको घटना प्रेस स्वतन्त्रतामा आघात गर्ने घटना बनाईन खोज्नु सहि व्याख्या होइन । हाम्रो समाजमा आफुलाई पत्रकार भनेर परिचयपत्र धारण गर्ने त्यस्ता ब्यक्तिहरु पत्रकारमा गनिएका छन, जसले पत्रकारिता भन्ने पनि छुट्टै बिषय हुन्छ, पत्रकारको आचारसंहिता पनि छ, भन्ने सम्म पनि जानकारी नहोला ।

लकडाउनको बेला त्यस्ता हजारौ परिचयपत्र तयार भए जसको उद्देश्य पत्रकारिता होइन केवल सुरक्षा निकायको आँखा छल्ने परिचयपत्र मात्र हो । संस्कृतको कर्मकाण्ड पढ्ने पनि पत्रकार । जग्गा दलाली गर्दै हिड्ने पनि पत्रकार । संचार गृहको आसेपासे सबै पत्रकार । राजनितीज्ञ पनि पत्रकार । जनतालाई सुसुचित गर्ने संवेदनशिल जिम्मेवारी बोकेका पत्रकार एउटा अमुक दलको भजन मण्डली हुनु नागरिक हकको उपहास हो । बिपक्षीको कुरालाई उछित्तो गर्ने, आफ्नोलाई ढाकछोप गर्ने । जब कुवा नै मैलो छ भने पानी कहाँ सफा हुन्छ र ।

तर बिडम्बना ती राजनीतिक दलका प्रबक्ता पनि स्वतन्त्र पत्रकार । अनि हामी त्यही समाचारमा बुरुक्क उचालिने जनता । अझ दुख लाग्दो कुरा त राजनितिक दल द्वारा सञ्चालित छुट्टाछुट्टै सञ्चार गृह हुने । राजनितिक दलको पारिश्रमिक बुझ्ने । राजनैतिक दलको संगठनको जिम्मेवार पदमा बस्ने ।

राजनितिक दलको प्रभावमा लिप्त हुने अनि कुरा भने प्रेस स्वतन्त्रताको गर्ने । पहिला आफै भित्रवाट स्वतन्त्र बन्नुहोस पत्रकार महोदय । अनि मात्र पत्रकारले प्रेस स्वतन्त्रताको कुरा गरेको सुहाउछ ।

(लेखक गौतम बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलका बासिन्दा हुन् )

तपाइँको प्रतिक्रिया ।