म रूख : रामकुमार पण्डित क्षेत्री (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार २५ ।
लोकतन्त्रको खम्बा देशको जगमा गाडिए पनि
म ढलपलढलपल हुन्छु
उत्तरले फुके पनि झुक्छ
दक्षिणले फू गरे पनि लत्रिन्छु
पश्चिमले आँमात्र गर्नुपर्छ
मेरा हाँगा थरथर हुन्छन्
त्यति देख्दादेख्दै
यो देशका राजनीतिकर्मीहरू
मेरो अग्लो कदमाथि
चढ्न हानथाप गर्छन्
भुँडी भर्न हाँगाबिँगा काट्छन्
कार्यकर्तालाई रिझाउन पात लुछेर बाँड्छन्
मुखले चाहिँ लोकतन्त्रको गुणगान गाउँछन्
यो मेरो शरीर
समयको फेरोले
धेरै घेरो लाइसक्दा
पहिले भन्दा कमजोर भयो,
चराचुरुङ्गीले असुरक्षा भोगे
कति त परदेशिए
मेरो जिउको टुप्पोमा
उत्तर कोरियाली नेता
किम जोङ उन जस्तो मानव चढे हुन्थ्यो
हरेक पातपातले न्याय पाउँथ्यो
उत्तर दक्षिण र पश्चिमको “फू” त के
उनीहरूको धम्कीको विरुद्धमा
चट्रयाङ जस्तै गर्जिन्थ्यो,
आणविक हतियारले
मेरो पातैपात र हाँगाले बनेको
जिउको सुरक्षा गर्थ्यो
उमेर अनुसार स्याहार संभार गर्थ्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक