नवीन सोचमा उपन्यास नूतन : रामकुमार पण्डित क्षेत्री ( समालोचना )
कपन अनलाइन
काठमाण्डौ , फागुन १४ ।
जन्मभूमि गुल्मी भएका ऋषिराम भुसाल नेपाल सरकारको उपसचिव भई कार्यरत राष्ट्रसेवक हुन् । भुसालजीले मुक्तक, कविता आदि लेखेर फेसबुकमा पोष्ट गर्दै थिए । आफूले रचेको सिर्जना सैद्घान्तिक कसीमा भिडाउने हिम्मत गर्दै थिए । त्यसरी परिचय भएपछि मैले उनका मुक्तकहरू हेर्दै गएँ । उपयुक्त सुझाव दिदैँ गएँ ।
साहित्यिक भावको भेल उनीभित्र छँदैथियो । सिद्घान्तले बाटो बनाएपछि सो भेलले उपयुक्त दिशा पक्डिएर कतै सिञ्चाइमा लाग्यो कतै नदीतर्फ उन्मुख भयो । हाल प्रतिष्ठित पत्रपत्रिकाहरूमा उनका मुक्तक, कविता र लघुकथाहरू छापिदैँ आएको पाइन्छ भने केही महिनाअघि मात्रै उनको उपन्यास ‘नूतन’ पाठकसामू आइपुगेको छ ।
नेपाली भाषाको जननी संस्कृत भाषा हो । संस्कृत साहित्यका विद्वानहरू, भरतमुनिको “नाट्य शास्त्र”, भामहको “काव्यालङ्कार”, दण्डीको “काव्यादर्श” र विश्वनाथको “साहित्य दर्पण”मा उपन्यास शब्दको प्रयोग भएको भेटिए पनि संस्कृत साहित्यको सामुन्द्रिक भण्डारमा उपन्यास भेटिन्न । नेपालीमा हाल लेखिदैँ आएको उपन्यासको आरम्भ र प्रभावको स्रोत पश्चिमी साहित्य हो भन्ने भनाइमा दुई मत छैन । भाषागत सन्दर्भमा हिन्दी, बङ्गाली आदि भाषा हुँदै अङ्ग्रेजीबाटै नेपाली उपन्यास लेखन परम्परा आएको हो ।
पश्चिमी साहित्यमा गद्याख्यानको रूपमा सन् १५८६ मा टमस मेलोरीको “मोर्ते द आर्थर” नामक औपन्यासिक विशेषता भएको पुस्तक प्रकाशन भएको थियो । यसमा रूपकीय र जीवनीपरक अंश अत्यधिक भएकोले वास्तविक पहिलो अङ्ग्रेजी उपन्यास, ड्यानियल डिफोको सन् १७१९ मा प्रकाशित “रोविन्सन क्रुसो”लाई मानिन्छ ।
तर संसारमै आधुनिक सन्दर्भमा पहिलो र पूर्ण उपन्यास जापानी आख्यानकार मुरासाकी सिकिबु(सन् ९७८–१०१६)द्वारा लिखित “गेन्जी मोनोगतारी” अर्थात् “गेन्जीको कथा”लाई मानिन्छ । यस भनाइलाई अङ्ग्रेजी साहित्यकै अध्येता डोनाल्ड केनीले पुष्टी गरेको पाइन्छ । नेपाली साहित्यमा आख्यानका दृष्टिले शिवदत्तको “वीरसिक्का (वि.सं. १९४६) लाई पहिलो उपन्यास मानिन्छ ।
सदाशिव अधिकारीले “नरेन्द्रमोहनी” वि.सं. १९५२ र चन्द्रकान्ता (१९५६) नेपाली भाषामा अनुवाद गरेर उपन्यास क्षेत्रलाई गुन लगाए । उनकै महेन्द्रप्रभा (१९५९) प्रकाशनको दृष्टिले पहिलो मौलिक उपन्यास मानिन्छ ।
प्रकाशनको दृष्टिकोणबाट गिरीशवल्लभ जोशीको वीरचरित्र (१९६०) उपन्यास दोस्रो मौलिक उपन्यास मानिन्छ तर अन्य कोणबाट यही उपन्यासलाई नेपालको पहिलो मौलिक उपन्यास भनेर मान्नेहरू पनि छन् । नेपाली उपन्यास लेखनको करिव डेढ सय वर्षे इतिहासका पानाहरूमा सयौँ उपन्यासहरूले आफूलाई परिचित गराइसकेका छन् । ऐतिहासिक, पौराणिक, सामाजिक, तिलस्मी, प्रेमाख्यान, आदर्श, मनोविज्ञान आदि परिवेशहरूबाट ती उपन्यासहरू पाठकसामू परिचित छन् ।
साहित्यमा सिद्घान्त स्थिर हुँदैन ।
जगतमा पहिले साहित्य सिर्जना भए र त्यसैको आधारमा सिद्घान्तहरू तय भए । हाल एन्ट्रोपी सिद्घान्त साहित्यमा प्रचलित छ । प्रणालीगत रूपमा चलायमान हुने विषयमा भन्दा अप्रणालीगत रूपबाट चलायमान हुने विषयमा यो एन्ट्रोपी सिद्घान्त आकर्षित हुन्छ । उपन्यासमा पनि यही अवस्था लागू हुन्छ । किनभने कथा वा उपन्यासका विन्दु वा बाटा हजारौँ हुन सक्दछन् ।
साहित्यकार विनयकुमार शर्मा नेपालले डा. रामप्रसाद ज्ञवालीको उपन्यास समालोचना(२०७०) को भूमिकामा लेखेका छन्, “उपन्यास कुनै पनि सिद्घान्त, कुनै पनि विषयवस्तु, जतिसुकै पात्र र जुनसुकै घटनामा लेख्न सकिने हुँदा यसलाई कसैले बाँध्न सकेन । उपन्यास आकारमा बाँधिन सक्ला तर प्रकारमा बिल्कुल बाँधिन सक्तैन । प्रत्येक उपन्यासमा केही न केही नवीन प्रयोग भइरहेकै छन् र हुँदै पनि जानेछन् ।”
अङ्ग्रेजी शब्द ल्यखभ िको अर्थ नवीन भएझैँ विनयकुमार शर्मा नेपालले आफ्नो भनाइमा नवीन प्रयोग जोडेका छन् । नेपाली वृहत् शब्दकोशको अनुसार “धेरै अध्याय वा खण्डहरूमा लेखिने लामो साहित्यिक कथा, चरित्र प्रधान गद्य महाकाव्य नै उपन्यास हो ।” त्यस्तै प्रेमचन्दको शब्दमा “म उपन्यासलाई मानव चरित्रको चित्र मात्र सम्झिन्छु ।
मानव चरित्रमाथि प्रकाश पार्नु र त्यसको रहस्य खोल्नु नै उपन्यासको मूल तत्व हो ।” अतः उपन्यास जीवन र जगतको रोचक ढङ्गमा व्याख्या गरिएको कलात्मक, नवीन सोच भएको गद्यआख्यान हो ।
ऋषिराम भुसालको प्रस्तुत नूतन उपन्यास पहिलो पुस्तकको रूपमा प्रकाशन हुँदै छ । यहाँ कलात्मक ढङ्गमा बीस परीक्षेदसम्म कथा बुनिएको छ । पात्रहरू चाहिँदो मात्रामा सिर्जना भएका छन् । भाषा शैली आकर्षक छ । पहिलो पुस्तक त्यो पनि आजको परिवेशमा वृहत विधा मानिने उपन्यासजस्तो क्षेत्रमा उनको लेखनी शैली विशिष्टताले भरिएको छ ।
यहाँ परंपरागत रूपमा उपन्यासको सार सङ्क्षेप खिचेर, पुस्तक भित्रका पात्रहरूलाई पहिल्यै पाठकमाझ परिचित गराउनुभन्दा पुस्तकको विशेषता आवश्यक मात्रामा बताउनु नै उचित ठानिएको छ ।
उपन्यासमा हुनुपर्ने तत्वमा, कथावस्तु, पात्र र चरित्र, परिवेश, कथोकपन,भाषाशैली र उद्देश्य हुन् । कथावस्तुमा एउटी अबोध टुहुरी बालिकालाई देखाइएको छ । जसको जन्मदै आमा परलोक गएकी हुन्छिन् भने बाबु यसै लोकको कता–कता । उनलाई आफ्नै मामाले पालेका हुन्छन् । उनी गाउँको परिवेशमा हुर्कदै जाँदा, आफ्नै नाता भित्रका महिला पात्रहरूबाट प्रतादीत हुन्छिन् ।
कहाँसम्म भने बाल्याजीवनलाई डोहो¥याउँदै गर्दा मुर्छित हुनेगरी शारीरिक यातना भोग्छिन् । उपन्यासको प्रमुख पात्र नूतनको कथाभित्र अनेकौँ पात्रहरू आउँछन् कोही सहयोगीको भूमिकामा देखा पर्दछन् त कोही दुष्ट प्रवित्तिमा ।
बाँच्नको लागि मान्छे बेश्यावृत्तिमा हेलिन बाध्य पारिएको घटना हाम्रो समाजमा यत्रतत्र पाइन्छ तर प्रस्तुत उपन्यासमा यदि मान्छेले दह्रो मनका साथ अठोट गर्दै सङ्घर्ष गर्ने हो भने त्यस्तो घृणित पेशा गर्नु नपर्ने उदाहरण देखाउन सक्षम छ । बाँच्नको लागि नूतन रेष्टुरेन्टसम्म पुग्न बाध्य हुन्छिन् तर उनीभित्रको सकारात्मक सोच र व्यवहारको कारण त्यस्तो पेशा अङ्गाल्नु पर्ने बाध्यता आउन खोजे पनि पन्छाउन सफल हुन्छिन् । सामुद्रिक आँधीमय जीवनमा पनि उनी काम गरेर बचेको समयमा अध्ययन गर्छिन् ।
जीवन बग्दै गर्दा खहरेजस्तो उनको जीवनले समुद्र चुम्ने मौका पाउँछ । झारपातजस्तै अत्यन्तै न्यून उनको जीवन, ढुङ्गा फोरी उम्रिएको पीपलझैँ झाँङ्गिन्छ । वियोगान्तबाट सुरु भएर उपन्यास संयोगान्तमा टुङ्गिन्छ । उपन्यासले गरिबी, स्वअध्ययन, सङ्घर्ष, वैदेशिक रोजगारी र तिनका सुखदुःखका पाटोहरू एवं मानव बेचविखनजस्ता पक्षको अत्यन्तै मिहिन ढङ्गले चित्रण गर्दछ । यसैबाट उपन्यासको उद्देश्य पूरा भएको पुष्टी हुन्छ ।
वैदेशिक रोजगारीमा गएको पात्र वर्षौपछि स्वदेश फर्किएर, आफ्ना घरका परिवारवीच मेल गराउँदा पाठकका आँखा रसाउने गरी वार्तालाप हुन्छन् । पेशा सानो गर्दैमा सानो भइन्न, त्यसलाई इमानदारी र कर्तव्यपालनले ठूलो बनाउन सकिन्छ भन्ने उदाहरण यस भित्रका पात्रहरूले देखाउन सक्षम छन् । जिज्ञासापूर्ण लेखनको साथै मनोरञ्जन र वीचवीचमा सिर्जिएका स्वभाविक द्वन्द्वले उपन्यास वजनदार देखिन्छ । गुल्मीको विकट गाउँबाट कथावस्तु सुरु भएर अन्तराष्ट्रिय क्षेत्र दुबईसम्म पुग्दछ ।
पात्रहरू जुन ठाउँमा पुग्दछन्, त्यस ठाउँको कलात्मक वर्णनले पाठकलाई मोहित पार्दछ । काहाँ होला, गुल्मीको झिमरुक, काहाँ होला बाङ्ग्रे खोला र मदानेहरू, काहाँ होला दुबईका झिलिमिली सहर, अहिल्यै नै घुमेर आउँआउँ लाग्ने भाव पाठकमा उत्पन्न गराउन सक्षम छ । सरल भाषा शैली भइकन गम्भीर वर्णन र कतैकतै स्थानीय भाषा बोलिनुले उपन्यासको भाषा सुबोध र ह्रृदयस्पर्शी लाग्दछ । यहाँ केही नमुना प्रस्तुत गरिन्छ ।
“आकाशका बादल हेरेँ, आफ्नी आमाको छायाँ त्यही बादलमै देखेँ, रोएँ, चिच्याएँ ।” –पृ …
“भरी गाग्रोमा अन्तिम थोपा परे पनि पानी पोखिन्छ भनेजस्तै मलाई अब माइज्यूले केही बोल्दा पनि साह्रै बिजाउन थालेको थियो ।” –पृ …
“दुःखमा पनि सुखमा पनि साथ दिइरहने रामले सुग्रिवलाई र सुग्रिवले रामलाई साथ दिएजस्तो एकले आर्कालाई साथ दिदैँ सम्बन्धमा निखारपन ल्याउँदै बसेका थिए …नूतन र अनीता ।” –पृ…
यसरी पात्रको चरित्र र प्रवृत्तिलाई आवश्यकता अनुसार प्रकृतिको लयमा मिलाइनु र मिथकीय पात्रको प्रयोगले भाषा मधुर हुन पुगेको छ । उपन्यासको कथा धेरै जस्तो आत्मकथन(पूर्वस्मृति) शैलीमा बगेका छन् भने केही अंश वणनात्मक शैलीमा ।
अहिलेको वास्तविकता बोल्ने यो पुस्तकभित्र आंचलिकता, जनजाती र सल्वार्टनजस्ता सकारात्मक पक्ष झल्किन्छन् । यसरी पहिलो लेखाइमै नवीन सोचको उपन्यास भएकोले अत्यधिक सफलता प्राप्त गर्ने सङ्केत देखिएकोमा उपन्यासकारलाई हार्दिक बधाई साथै आगामी दिनमा अझै सशक्त उपन्यास कृतिहरू पाठकमाझ आउन् भनी शुभकामना अर्पित गर्दछु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक