जिन्दगी : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन ७ ।
१. आगो हो जिन्दगी पोल्छ, हुन्न व्यर्थै चलाउनु
धागो हो जन्दगी चुँड्छ, हुन्न तान्दै बढाउनु
छाँगो हो जिन्दगी झर्छ, सक्नुपर्छ समाउन
वर्षा हो जिन्दगी भिज्दै, सक्नुपर्छ रमाउन।
२. जिन्दगी त नदी नै हो, जो बग्छ नसुतीकन
जिन्दगी त चुलीझैँ, हो जो उठ्छ नझुकीकन
जिन्दगी हो स्वयं चङ्गा, जो उड्छ फर्फराउँदै
जिन्दगी हो स्वयं थुँगा, जो फूल्छ मुस्कुराउँदै ।
३. हो माया जिन्दगी भित्री, मनको तहमा पसे
हो छाया जिन्दगी प्यारा, पुर्खाको प्रेमले बसे
हो पाखा जिन्दगी सारा, घाम पानी सजाउँने
हो आँखा जिन्दगी सिङ्गै, धर्ती धाम चियाउँने ।
४. जहाँ छ तिर्सना चोखो जिन्दगी भरिलो त्यहाँ
जहाँ छ सिर्जना चोखो जिन्दगी दरिलो त्यहाँ
जहाँ छ प्रेरणा चोखो जिन्दगी रसिलो त्यहाँ
जहाँ छ भावना चोखो जिन्दगी हँसिलो त्यहाँ ।
५. जिन्दगी यो कतै भन्छन् छोटो छ मात्र प्यास हो
अड्केको छ कता कस्तो, जिन्दगी मात्र श्वास हो
भनिदिन्छन् कतै कोही, जिन्दगी मात्र आस हो
नजाने जिन्दगी आफैँ, मृत्यु हो सर्वनास हो ।
६. मूललाई गई सोधौँ, जिन्दगी कुन हो भनी
फूललाई गई सोधौँ, जिन्दगी धुन हो भनी
बरु बुझ्न सकेहुन्थ्यो, जिन्दगी गुन हो भनी
तर भन्नु हुँदैहुन्न, जिन्दगी रुन हो भनी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक