ट्विटर र फेसबुकमा आक्रोश

काठमाडौं, जेष्ठ १५ –

चार बर्षदेखि संविधान आउने आशामा बसेका सर्वसाधारण फेसबुक र टि्वटरको ‘वाल’ मा पीडा र आक्रोश पोखिरहेका थिए- ‘अव त आशा नै के रह्यो र ? धिक्कार छ नेताहरू तिमीलाई ।’ यो आक्रोश संविधान नआउने निश्चित भएपछि राजन लम्साल नेपालीले लेखेका हुन् । अनि आक्रोशितहरू उनको ‘स्टाटस’मा कमेन्ट लेखे ।

दुई बर्षमा संविधान बनाउने जिम्मा दिएको संविधानसभाको म्याद चार बर्ष पुगेपनि अन्तिम क्षणमा पनि देश संविधान विहीन अवस्थामा पुग्नु परेको भन्दै धेरैले गालि गरिरहेका थिए । आक्रोशित सर्वसाधारणहरू ‘वाल’मा अव के हुन्छ भन्ने प्रश्न गरिरहेका थिए ।

संविधान निर्माणका लागि हालसम्म ९ अर्ब रुपैयाँ खर्च भयो । तर हात लाग्यो शुन्य भन्ने समाचार आएपछि धेरै जना आक्रोशित देखिए, फोकटमा खर्च भयो भन्दै । ‘हाम्रा संसदले जनताको घरमा पुगेर भरेको प्रश्नावली अहिले मुसाले कहाँ काटिरहेको होला,’ ऋषिकेश दाहालले फेसबुकमा लेखेका छन, ‘यिनीहरूले ४ बर्षमा ९ अर्ब सकेर मुसाको भोज तयार गरे ।’

खर्चकै बारेमा रानु राना लेख्छन्, ‘संविधान घोषणा भएन भने ४ बर्षसम्म सभासद भए वापतको तलब भत्ता एक-एक हिसाव गरेर राज्यको ढुकुटीमा फिर्ता ल्याउनु पर्छ ।’

दिनभर संविधान आउने आशामा टिभी हेरेका बाबुराम अर्यालले नआउने खवर पाएपछि ‘स्टाटस’ लेखे, ‘अब संविधान नआउने भएपछि मैले टिभी बन्द गरिदिए । तर मेरी सासु आमाले सोधिन, ‘जनताले मान्छन् त ?’ उनका साथीले तत्काल कमेन्ट गरे, ‘मेरी छोरीले सोधी बाबा संविधान आको भनेको यही हो ?’ केही अश्लिल शब्दहरू पनि फेसबुकमा प्रयोग भए । नेताहरूलाई व्यङ्ग गर्ने कार्टुनदेखि उनीहरूलाई गालि गरेको बनाएका तस्विरहरू फेसबुकमा आएका छन् ।

आशा र निराशा व्यक्त गर्ने धेरै जना फेसबुकमा देखिए । साझका ‘स्टाटस’हरू संविधानका बारेमा मात्र थिए । लाग्थ्यो, यसबेला कुनै पनि नेपालीलाई आफ्नो बारेमा सोच्ने फुर्सत छैन वा मन छैन । दिनभर संविधानको पछि लागेपछि साँझ हुस्सा बनेका काठमाडौंका आशिष ज्ञवालीलाई क्रिकेट सही लागेछ । अनि लेखे, ‘यो त नाटक नै भयो । बरु आईपिएल नै ठिक ।’

योगेश खपाङ्गी लेख्छन्, ‘बेला हुन्जेल लिखा मारेर बसे अनि अध्यारोमा विस्कुन सुकाउन खोजेर हुन्छ ?’ ‘कुन मुल लिएर आउछौ जनताको घरमा भोट माग्न ?’ जेठ १४ गते इतिहासको कालो दिन नहोस् भन्दै आशा गर्ने पनि फेसबुकमा थिए ।

प्रचन्डले संविधान नआउने भन्दै दिएको वक्तव्य राख्ने नेपालीहरू पनि यही ‘वाल’ मा थिए । अब के होला भन्दै आफ्नो अनिश्चित भविष्यबारेमा धेरै चिन्तित स्टाटस फेसबुक भित्तामा पोखिएको थियो । टि्वटरमा पनि संविधान नआएको भन्दै धेरैले आक्रोश पोखे । अनि अव मुलुकको अवस्था नकारात्मकतिर नगई सकारात्मक बाटोमा जाला भन्ने आशा पनि वालमा पोखिए । विहानदेखि शुरु भएको दुखि नेपालीको स्टाटस अझै सकिएको छैन ।

source: Kantipur Daily

तपाइँको प्रतिक्रिया ।