राष्ट्रिय महिला आयोगका पदाधिकारीहरुको एक वर्ष : आयोगलाई स्थापित गराउने प्रतिवद्धता

राष्ट्रिय महिला आयोगका पदाधिकारीहरुको एक वर्ष : आयोगलाई स्थापित गराउने प्रतिवद्धता

कपन अनलाइन
काठमाण्डौ ,माघ २२।

नेपालको जम्मा जनसंख्याको आधाभन्दा बढी रहेको महिलाहरुको साझा घरको रुपमा राष्ट्रिय महिला आयोगलाई स्थापित गराउने प्रतिवद्धता जनाइएको छ ।
आयोगका पदाधिकारीहरुले पदबहाली गरेको एक वर्षको अवसरमा आयोगले गरेको प्रगति, समस्या तथा भावि योजनाका बारेमा आज काठमाडौँमा आयोजित पत्रकार छलफलमा आयोगका आयुक्तहरुले महिला हिंसा निर्मूल बनाउन आयोगले जस्तोसुकै चुनौतिलाई सामना गरि अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । वर्तमान अवस्थामा महिलामा विभिन्न प्रकारका हिंसाहरुलाई नियन्त्रण गर्न थुप्रै चुनौती तथा समस्याहरु रहेको बताइएको छ । घरयासी तथा अन्य महिलामाथि हुने हिंसा तथा बेचविखन घरपरिवार तथा आफन्तबाट नै हुने गरेको पाइएको उल्लेख गरेको छ ।
एक वर्षे कार्यकालमा आयोगले महिलाहरुमा हुने दिनप्रतिदिनको हिंसा न्युनिकरण गर्न तीन वटै तहका सरकारसँग सहकार्य गरी व्यवस्थित र प्रभावकारी ढंगले संविधान प्रदत्त अधिकारलाई व्यवहारीक रुपमा लैजानुपर्ने आवश्यकता रहेको औंल्याउँदै हिंसा पिडित महिलालाई राहत, उद्धार तथा आर्थिक उपार्जनको आधार तयार पार्नुपर्ने निष्कर्ष निकालेको छ । आयोग महिलाहरुको आशा र भरोसाको केन्द्रको रुपमा रहनुपर्नेमा जोड दिँदै पदाधिकारीले आयोग महिलाहरुको घरको रुपमा स्थापीत हुनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष कमला कुमारी पराजुलीले आयोगको कार्यकाल भरिमा महिलाले गर्वका साथ समाजमा बस्न सक्ने अवस्था सिर्जना गर्ने प्रतिवद्धता जनाउनुभयो । हालसम्म आयोगले ४९ वटा जिल्लाहरुमा ७० वटाभन्दा बढी सचेतनामूलक तथा नीतिगत कामहरु गरिसकेको जानकारी गराउँदै अध्यक्ष पराजुलीले सम्बन्धीत निकायले दिएको सुझावको आधारमा आगामी दिनमा नीतिगत सुधार गरिने बताउनुभयो । वर्तमान अवस्थामा महिलाको अवस्था विषयक प्रतिवेदन तयार भइरहेको जानकारी गराउँदै अध्यक्ष पराजुलीले आयोगको स्थापना दिवशको दिन उक्त प्रतिवेदन सार्वजनिक गरी सोही आधारमा आयोगका आगामी रणनीतिहरु तय हुने बताउनुभयो ।
आयुक्त कृष्णकुमारी खतिवडाले आयोगले महिला हिंसालाई न्युनिकरण गर्न तथा महिलाले न्यायको लागि आयोगमा आइपुग्न र वास्तविक पिडालाई उजागर गर्न आफ्नै घर सम्झी काम गर्न सक्ने वतावरण तयार गर्न आयोग लागिरहेको बताउनुभयो । आयोगको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा विभिन्न समस्याहरु आइपरिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा आयोगको आफ्नै भवन तथा प्रादेशीक कार्यालयहरु स्थापना गर्ने जानकारी गराउनुभयो । तीनै तहका सरकारसँगको सहकार्य गरी देशभरका सवै स्थानीय तहमा आयोगको उपस्थिती गराई पिडित, असहाय महिलाहरुले आयोगले सहयोग गर्ने आफ्नै अभिभावकत्वको सेवा सवै स्थानीय तहको माध्यमबाट नै पाउने व्यवस्थापन गर्ने प्रकृया अगाडी बढाइएको उहाँले जानकारी गराउनुभयो ।
हिंसा पिडित महिलालाई राहत र पुनस्थापनाका कामलाई आयोगले विशेष रुपमा ध्यान दिई अगाडी बढ्न जरुरी रहेको उल्लेख गर्दै उहाँले महिलालाई रोजगारी, वासस्थान, क्षमता अभिवृद्धिलगायतका कामहरुमा तिव्र गतिमा कामहरु गर्नुपर्ने आश्यकता रहेको औंल्याउनुभयो । मुलुकमा महिला हिंसाका घटनाहरु कहालिलाग्दो रुपमा रहेको उल्लेख गर्दै उहाँले महिलाको समस्या वा हिंसालाई न्युनिकरण गर्न पुरुषको सहकार्य समेत अपरिहार्य रहेको बताउनुभयो । नेपालको व्यवस्था परिवर्तनमा महिलाले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गर्दैै उहाँले नैतिक र इमानको ठाउँमा वस्नुपर्नेमा समेत जोड दिनुभयो ।
आयुक्त विद्याकुमारी सिन्हाले महिला हिंसा ठाउँ र परिस्थती अनुसार फरक फरक रहेको उल्लेख गर्दै विशेष गरी मधेस प्रदेशमा धेरै घटनाहरु घटेपनि घर भित्रै लुकाउने समस्या रहेको बताउनुभयो । राजनीतिक पहुँचले वास्तविक पिडित महिलाहरुले अपेक्षाकृत रुपमा न्याय पाउन नसकेको उल्लेख गर्दै उहाँले कुनै पनि घटनाहरुको प्रतिवेदन आयोगले सार्वजनिक गरी त्यसलाई कार्यान्वयनमा लगेको दावी गर्नुभयो ।
आयोगको सचिव शैलजा रेग्मीले आयोगले हाल कानुनी तथा नीतिगत सुधारको बारेमा विशेष योजना बनाई अगाडी बढिरहेको उल्लेख गर्दै तेस्रो पञ्चवर्षिय रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको जानकारी गराउनुभयो । उहाँले आयोगले विगतमा गरेका कार्यसम्पादनहरुको बारेमा समेत स्पष्ट पार्नुभयो ।

तपाइँको प्रतिक्रिया ।