सहकारी ठगी मुद्दाका फरार अभियुक्त महर्जन पक्राउ

सहकारी ठगी मुद्दाका फरार अभियुक्त  महर्जन पक्राउ

कपन अनलाइन
काठमाण्डौ ,माघ २२।

ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सोही ठाउँस्थित साईनिङ स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका लेखा-समिति संयोजक ४८ वर्षीय पंचमान महर्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतको २०७३ असार १९ गतेको फैसलाले ठगी मुद्दामा ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो ।

उक्त संस्थामा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४ सय ७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र संचालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजन वाहेकको ब्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको भन्ने मुद्दामा पंचमान समेतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटी गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै उनीउपर अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।