कांग्रेसले सभामुख सापकोटामाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं : टोपबहादुर रायमाझी

कांग्रेसले सभामुख सापकोटामाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं : टोपबहादुर रायमाझी

कपन अनलाइन

काठमाडौँ, माघ २१।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका छन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको पनि खुलाए । उनले भने,‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत् रुपमा चल्नुभएन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताएका छन् । यद्धपी आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन् । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं ।’
रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँगपनि गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ । त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन् । नेपाली जनताको समर्थन र सहारा चाहिएको छ । जनताको माहोल अहिले एमालेतिर छ । एमाले ईतिहासमा चाहे त्यो राजाविरोधी आन्दोलन होस वा पञ्चायतविरोधी, बुहदल ल्याउन होस वा गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको पार्टी हो । शान्ति प्रक्रिया र संविधान निर्माणमा एमालेको महत्वपूर्ण भूमिका छ । नयाँ संविधान बनेपछि एमाले अथवा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले विकास र समृद्धिका अभियान तिव्र रुपमा अघि बढाएको थियो, विकास निर्माणका काम अहिलेपनि अघि बढिरहेका छन् । राष्ट्रियता, सामाजिक सुरक्षा र न्यायको पक्षमा एमाले अग्रपँक्तिमा उभिएको छ । यो कारणले हामीलाई जनताले ठूलो समर्थन जनाएका छन्।’
उनले एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको पनि जिकिर गरे । उनले भने–‘एमाले यतिवेला परमादेशको कारण प्रतिपक्षमा छ । एमालेविरोधीहरुले महागठबन्धन बनाउने काम गरेका छन् । प्रतिपक्षीको विरोधमा सरकार पक्षकाले महागठबन्धन बनाएका छन् । उनीहरु अब पराजित मानसिकतामा छन् । एमालेले जित्छ त्यसैले गठबन्धन गर्नुपर्छ भनेर उनीहरुले भनेका छन् । उनीहरुलाई जनताको समर्थन छैन् । यो गठबन्धन लोभी÷पापीहरुको झुण्ड हो । केपी ओलीको नेतृत्वको सरकारको पालामा विकास र समृद्धिको अभियान तिव्र रुपमा अघि बढिरहेको थियो, तर अहिलेको सरकार आएपछि अर्थतन्त्र धरायशी भएको छ । जताततै खिचलो भएको छ । संकटको घडीमा पनि ओली सरकारले राम्रो काम गरेको थियो । तर, अहिलेको सरकारले केही काम गरेको छैन् । जनता अत्यन्तै निराश छन् ।’
उनले एमाले आफ्नो एजेण्डा लिएर अघि बढिरहेको बताउँदै आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बुहमत र शानदार विजयी हाँसिल गर्ने दाबी गरे । उनले भने,‘हामी विगतमा हामी सरकारको नेतृत्वमा हुँदा हामीले गरेका काम लिएर जनतामा जान्छौं । एमाले भनेको पूरानो होईन, नेकपापछिको एमाले हो । अहिलेको एमाले परिमार्जित नेकपा हो । एमाले नेकपाकै निरन्तरतामा छ । हामी पनि त्यहाँ छौं । हामी पार्टी एकताकै निरन्तरतामा छौं ।’
रायमाझीले अमेरिकी सहयोग सम्झौता एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे । उनले भने,‘हामी अहिले प्रतिपक्षमा छौं । एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुँगो लगाओस । संसद्मा टेबुल भएपछि हामी सोच्छौं। अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन् ।’ उनले प्रधानमन्त्री शेरहादुर देउवाले एमसीसी संसद्मा पेश गर्नुपर्ने पनि सुझाव दिए ।
उनले हार्ने मनस्थितिका कारण सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोजेको आरोप लगाए । उनले भने,‘स्थानीय तहको निर्वाचन त हुनुपर्छ । निर्वाचन गर्नैपर्छ नि, कानून र संविधान मान्ने हो भने निर्वाचन समयमै गराउनुपर्छ । स्थानीय तहको निर्वाचन सार्न यो गठबन्धनका नेताहरुले मरिहत्ते गरिरहेका थिए । तर, जनस्तरबाट चर्को दबाब आएपछि र विरोध भएपछि उनीहरु हच्किएका छन् । तत्काल निर्वाचनको मिति घोषणा हुनुपर्छ । उनीहरुले चुनाव जित्ने भएको भए निर्वाचन सार्न खोज्दैन् थिए नि । हार्ने मनस्थिति देखेरनै उनीहरुले गठबन्धन गरेर चुनाव सार्न खोजेका थिए । संविधानको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।’
उनले एमालेलाई पत्तासाफ गर्छु भनेर प्रचण्डले भनेको हो भने पहिले चुनाव गराउन सुझाव दिए । उनले भने,‘यदि प्रचण्डले एमालेलाई चुनावमा पत्तासाफ गर्छु भनेको हो भने पहिले चुनाव गराएर हेर्नुहोस, अनि को हुन्छ पत्तासाफ ? प्रचण्डको कुरा हावादारी कुरा हो । २०७४ सालको चुनावमा एमालेसँग नमिलेको भए माओवादीको हालत के हुन्थ्यो ? प्रचण्ड उकालो लाग्ने भए उहाँले किन गठबन्धनतिर लाग्नुपर्दथ्यो र ?’
उनले आफूहरुले पाँच दलीय गठबन्धन तोड्न नखोजेको पनि स्पष्ट पारे । उनले भने,‘हामीले पाँच दलीय गठबन्धन तोड्नुपर्छ भनेको छैन् । हामीलाई चाहिएको छ–चुनाव । हामी चुनाव चाहन्छौं ।’
उनले एमसीसीको सवालमा पहिले सरकार तात्नुपर्ने बताए । उनले भने,‘पहिले तावा तात्नुपर्छ, अनि रोटी पाक्छ, बिँड तात्यो भने हात पोल्छ । एमसीसीबारे पहिले सरकारले आफ्नो धारणा ल्याओस ।’
रायमाझीले नेपालमा जतिसक्दो छिटो ट्रान्समिसन लाईन आवश्यक रहेको सुनाए । उनले भने–‘नेपालमा हाईड्रोपावरको प्रोजेक्ट दिनप्रतिदिन सम्पन्न हुँदैछन् । अब चाहिनेभन्दा बढि उर्जा आउँदैछ । निर्यात गर्नुपर्छ भनेका छौं । भारत, पाकिस्तान, बंगलादेशसँग बजार खोज्ने हो। इसको लागि ट्रान्समिसन लाईन चाहिन्छ। यो बनाएनौं भने नेपालमा उत्पादित विजुली खपत हुँदैन् । यो लस हुन्छ। ट्रान्समिसन लाईन छिटो बन्नुपर्छ । एमसीसी सहमति गरेर पास गराउनुपर्छ ।’

तपाइँको प्रतिक्रिया ।