धार्मिक, सांस्कृतिक पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना, प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कार दिइने

धार्मिक, सांस्कृतिक पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना, प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कार दिइने

कपन अनलाइन
काठमाडौं भदौ २१।

धर्म, संस्कृति, अध्यात्म, पुरातत्व, इतिहास, भूगोललगायत नेपाली मौलिकतालाई प्रवद्र्धन गर्ने विषयमा कलम चलाउने नेपाली पत्रकारलाई पुरस्कृत गर्ने गरी धार्मिक, सांस्कृतिक पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना शुभारम्भ गरिएको छ ।
धार्मिक, सांस्कृति पत्रकार समाज, नेपाल (रेक्जोन) नेतृत्वमा पुरस्कार अक्षय कोष स्थापना शुभारम्भ गरिएको हो । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ निवासी कोमलप्रसाद लामिछानेले बीज स्रोतका रुपमा रु ५० हजार दिएपछि पुरस्कार कोष शुभारम्भ गरिएको हो ।
पुरस्कार कोष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वाग्मती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले संस्कृति बचाउन संस्कार महत्वपूर्ण विषय भएकाले त्यसको संरक्षणका पक्षमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन र प्रेरणा दिन पुरस्कार कोषले योगदान गर्ने विश्वास व्यक्त गरेका छन  । वैदिक सनातन धर्म, संस्कृतिको रक्षा गरिनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले समाजले धर्मलाई अङ्गालेपछि नै यसको रक्षा हुने बताए  ।
“प्रदेश सरकार बनेको साँढे आठ वर्ष भइसक्दा पनि प्रदेशले अधिकार पाएको छैन, यसबीचमा सङ्घबाट सबैतिर हस्तक्षेप भएको छ, यातायात क्षेत्रको अव्यवस्था सबैभन्दा बढी अव्यवस्था देखिएको छ, यस्ता विषयमा प्रदेशलाई काम गर्ने गरी संविधानको मर्मअनुसार भूमिका दिनुपर्छ”–मन्त्री प्रजापतिले भने  ।
पूर्व गृह राज्यमन्त्री एवं नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले पत्रकारितामा धर्म, संस्कृति लोप हुँदै गएको विधा भएकाले यस क्षेत्रमा काम गर्न सहज नभएपनि यसमा काम गर्न आवश्यक रहेको बताए  । विश्वलाई वैदिक बनाउन सीमारहित राष्ट्रको कल्पना गरेर ‘विश्वशान्तिराष्ट्रम्’ स्थापना भएको जानकारी पनि उहाँले दिए । यही भावना अनुसार वैदिक विश्व बनेपछि रामराज्य बन्ने महर्षि महेश योगीको विश्वासलाई मूर्त रुप दिन ‘विश्वशान्तिराष्ट्रम्’ ले काम गरिरहेको पूर्व मन्त्री बास्कोटाले सुनाए  ।
पुरस्कार कोषका लागि बीज स्रोत उपलब्ध गराउनुभएका लामिछानेले पत्रकारितामा धर्म, संस्कृतिको विधा पछि परेको देखेपछि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको सुनाउनुभयो । पुरस्कार कोषमा अरु रकम थप गर्न पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाए  ।
नेपाल संस्कृत विश्वविद्यालयका प्रा डा ध्रुवप्रसाद भट्टराईले शिक्षामा कमजोरी भएकाले अन्य क्षेत्रजस्तै धर्म, संस्कृतिमा पनि विकृति आएकाले शिक्षा सुधार गर्नुपर्नेमा जोड दिए  । धार्मिक, सांस्कृतिक व्यक्तित्व धर्मराज बरालले नेपालमा धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदा स्थल धेरै भएपनि त्यसको प्रचारप्रसार नभएकाले धार्मिक पर्यटक पनि बढ्न नसकेको उल्लेख गर्नुहुँदै पत्रकार समाजले यस्ता स्थलका विषयमा जानकारी हुने गरी समाचार सामग्री सार्वजनिक गर्नुपर्ने बताए ।
नागेश्वर एवं बाणेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष प्रकाश रायमाझीले गुठी व्यवस्थालाई व्यावसायिक बनाउँदा समस्या आएको बताउँदै यसतर्फ सरोकार भएका निकायको यसमा ध्यान जानुपर्ने बताए  । विश्व हिन्दू महासङ्घका महासचिव शम्भुहरि बास्तोलाले नेपालको मौलिक पहिचान विश्वसामु स्थापित गर्न संविधानबाट धर्म निरपेक्ष शब्द हटाई धर्म सापेक्ष राष्ट्रका रुपमा स्थापित गर्नुपर्ने बताए  ।
समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले पुरकार कोषमा सहयोग जुटाएर वृद्धि गर्दै लगिने जानकारी गराए  । विसं २०८४ को पौष शुक्ल पूर्णिमादेखि प्रत्येक वर्ष धार्मिक, सांस्कृतिक पत्रकारिता पुरस्कार दिने गरी कोषलाई अघि बढाउने उनले बताए  । कार्यक्रममा समाजका कार्यवाहक महासचिव जयराम सापकोटा र पूर्व महासचिव किशोरप्रसाद ढुङ्गेलले नेपालमा धार्मिक, सांस्कृतिक पत्रकारितालाई प्रवद्र्धन गर्न संस्थाले काम गरिरहेको जानकारी गराएका थिए  ।
नेपाली आम सञ्चार माध्यमका मूल धारमा रही धर्म, संस्कृति, अध्यात्म, पुरातत्व, इतिहासलगायत नेपाली मौलिकतालाई प्रवद्र्धन गर्ने गरी पत्रकारिता गरिरहेका पत्रकार सङ्गठित भई विसं २०८१ पुस २९ गते पौष शुक्ल पूर्णिमाका दिन धार्मिक, सांंस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) स्थापना भएको थियो । स्थापना कालदेखि धार्मिक, सांस्कृतिक पत्रकारितालाई प्रवद्र्धन गर्ने गरी संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।