बाटो हराएपछि : त्रिलोचन आचार्य (कविता )

बाटो हराएपछि : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ ८।

१. के को उज्वल बन्छ भोलि सपना देख्नै डराएपछि
के को सुन्दर बन्छ काव्य रचना लेख्नै नपाएपछि
के को हार्दिक बन्छ जीवन स्वयं हाँसो हराएपछि
के को देश अगाडि पुग्दछ सधैँ बाटो हराएपछि ।

२. के आकाश खुला हुने मन भरी कालो सजाएपछि
के विश्वास सजाउने हृदयमा जालो सजाएपछि
के बाँच्नेतिर आस राख्नु घरमा राँको लगाएपछि
के होला मनभित्र शान्ति दिनमै बाटो हराएपछि ।

३. को लेख्ने भन भाग्य दैनिक युवा टाढा भगाएपछि
को देख्ने नव ज्योति त्यो गगनमा तारा नआएपछि
को गर्ने अनि राष्ट्र चिन्तन स्वयं माटो हराएपछि
को भर्ने ढुकुटी पुगिन्न घरमा बाटो हराएपछि ।

४. को रच्ने मन चित्तबाट कविता उत्साह भागेपछि
को टेक्ने अब टाकुरा विरहले सङ्कल्प नाघेपछि
को उठ्ने छ खुली सबै विरहको किल्ला गराएपछि
को राम्रो छ भनौँ यता पथतिरै बाटो हराएपछि ।

५. हो सारा युग सार त्याग सब हो भन्ने नजानेपछि
हो प्यारा मन हार हो बहुत हो भन्ने नमानेपछि
माफी हुन्न कदापि यो समयको पाटो चराएपछि
यात्राको गति हुन्छ के हरघडी बाटो हराएपछि ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।