बस्छु माटो पुजेर : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २५।
१. जन्मी माटो वर पर कुदेँ, जिन्दगी बुन्न थालेँ
माया गर्ने जन मन यहीँ सुस्तरी चिन्न थालेँ
पाल्ने प्राणी सरस धरती, बुझ्न थालेँ बढेर
प्यारो जन्मस्थल छ म सधैँ, बस्छु माटो पुजेर ।
२. माटो बाटोसँग त दरिलो, जीवनीको छ नाता
माटो पाटो, मन र मुटुको, सिर्जनाको विधाता
हुर्क्यो प्यारो वय भयविना, यै छ चोखो भनेर
जानेँ साथी म त बुझ सधैँ, बस्छु माटो पुजेर ।
३. माटोले नै मृदुल मनको बास बाँड्दो रहेछ
माटोले नै अतिसय मिठो गाँस बाँड्दो रहेछ
खेल्ने डुल्ने चउर यसले दिव्य छाती दिएर
माटो कै हूँ कुसुम म सधैँ बस्छु माटो पुजेर ।
४. पाएँ छाया शिखर तलको काख प्यारो धराको
पाएँ माया म कन त यही लाख प्यारो धराको
माटो टेकी टुकुटुकु हिडेँ बोल्न जानेँ उठेर
मेरो सारा सुखमय पला बस्छु माटो पुजेर ।
५. यो माटोमा जरुर रिपुको पाइला पर्न दिन्न
मेची काली कलुष मनका आउलान् तर्न दिन्न
चाँदी जस्ता शिखर प्रिय छन् हेर्छु जैल्यै उठेर
छन् आनन्दी मसँग दुनियाँ, बस्छु माटो पुजेर ।
६. मेरो बस्ती वरपर सधैँ कोइली गुन्गुनाऊन्
साना नानी चुलबुल गरी साँझमा छुन्मुनाऊन्
झर्ना नाचुन् कलकल नदी, गीत गाऊन् कुदेर
मेरो देवालय म त यही, बस्छु माटो पुजेर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक