साहित्य सुवास लक्ष्मीप्रसाद देवकोटा : गंगा लिगल (कविता )

साहित्य सुवास लक्ष्मीप्रसाद देवकोटा : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ४ ।

ज्ञान अति नै चोखो अनि
आनन्दानुभुतिको नामाकरण हो
यो मीठो शब्दले
जीवन जीवन्त बनाई दिन्छ
ज्ञान बिनाको जीवन
शुन्यतामा झुन्डिरहेको भान हुन्छ ।

ज्ञान् हामी मानवले सानो भन्दा
सानो वस्तुबाट अनि ठूला
वस्तुबाट पनि न लिन सक्छौ
त्यो सानो गुलाबको फूल किन नहोस
लक्ष्मीप्रसाद देवकोटाले
यसरी उदाहरण दिएका छन् ।

‘फुल्दो गुलाबबीच ज्ञान् अनेक खुल्छन
उद्यानमामा गई बस सब तत्व खुल्छन’
आहा कति गौण कति माधुर्यमयले
ओतप्रोत भएको भावना, पोखीएको चिन्तन
वास्तवमा फक्रेको गुलाब
सौन्दर्य प्रतीक मात्र नभएर
ज्ञानको प्रतीक पनि हो ।

केही छिन घोरिएर भावुकतावश
गुलाब फूलमा एकोरिएर हेर्ने हो भने
त्यहाँ अनन्त ज्ञानको भण्डार
परिपूर्ण भएको भान हुन्छ
त्याग, बलिदान, उदारता, निश्चलता
निर्मलता अनि कञ्चनता माधुर्यता
शैत्य, गाम्भीर्य अनि रमणीयता
त्यसमा झल्कने मुस्कानले
अनगिन्ती अबिरल शीतल जलरुपी
खुशीयालीले अभिशेष गरेको भान हुन्छ ।

जसले जीवनका कुविचार कुभावना
अनि कुसंगतिलाई निर्मुल पार्दछ
यसको अध्ययनद्वारा सम्पूर्ण अन्धकार नाश पारी
ज्ञानरुपी प्रकाशले मानवलाई
उदात्त जीवन जिउन मद्दत गर्दछ ।

हुन त फूलको जीवन क्षणिक हो तर
यसबाट प्राप्त ज्ञान अजम्बरी हो
यसबाट ज्ञानको प्यास
मेटाउन सक्नुले जीवनलाई
गरिमामय बनाउनु मात्र होइन
मानव जगतलाई नै
कीर्तिवान र अमर बनाउन सहयोग गर्दछ ।

फुलले मान्छेलाई आकर्षित गरे झैँ
लक्ष्मीप्रसाद देवकोटा फूल भएर
राष्ट्रमात्र नभएर
विश्वलाई नै आकर्षित गर्ने
केन्द्रबिन्दु बनेका छन्

‘आफू मिटाई अरुलाई दिनु जहाँ छ’
जस्ता अति उदाहरणीय
आदर्शमय भावना पस्केर
अनि हृदयस्पर्शी, सुवासिय फूल दिएर
मानव हृदयको स्पन्दनलाई
आफुतिर आकर्षित गर्न सफल भएका छन्

सुरक्षा प्रतीक काँढाहरु
गुलाबको अमर कीर्तीसँगै
यिनी पनि अमर छन्
किनकी यी दुई अपरिहार्यताको नाम हो
यसरी लक्ष्मीप्रसाद देवकोटाले साहित्यभित्र रहेर
अनन्त ज्ञानको मार्गदर्शन गरेका छन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।