सत्य नै सुन्दर : त्रिलोचन (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ४ ।

१. रहन्छ जैले तक लोभ जालो
बन्दैन संसार कतै उज्यालो
मानिन्छ जैले तक दाम नामी
रोकिन्न कैल्यै लुटको सुनामी ।

२. जानिन्न जैले तक लाज भन्ने
भेटिन्न बाटो सु–समाज बन्ने
देखिन्न जैले सपना सचेत
हुँदैन केही रचना समेत ।

३. बिग्रे जहाँका अगुवा समेत
विकारको रुप त्यहाँ बिराट
होला सदाचार जहाँ सुरम्य
पक्कै त्यहाँ देश छ भव्य रम्य ।

४. हिँडिन्न बाटो छ त्यहाँ समस्या
चिनिन्न माटो छ त्यहाँ समस्या
जानिन्न बेला छ त्यहाँ समस्या
मानिन्न अर्ती छ त्यहाँ समस्या ।

५. उत्साहमा ह्रास सुहाउँदैन
उमङ्गमा त्रास सुहाउँदैन
विवेकमा स्वार्थ रमाउँदैन
अशोकमा शोक हुँदै हुँदैन ।

६. पुगिन्छ टाढा सत–मार्ग धाए
असत्यले गीत त्यहाँ नगाए
त्यै सत्य हो सुन्दर यो धरामा
चम्कन्छ त्यै उज्वल टाकुरामा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।