काँग्रेसको क्रियाशील सदस्यहरुको सङ्ख्या यस अघिको भन्दा दुई लाखले बढ्ने
काँग्रेसको आसन्न तेह्रौँ महाधिवेशनमा क्रियाशील सदस्यको सङ्ख्या यस अघिको भन्दा दुई लाखले बढ्ने भएको छ ।
विसं २०६७ मा सम्पन्न बाह्रौँ महाधिवेशनमा तीन लाख १७ हजार क्रियाशील सदस्य थिए । पार्टीले यो पटक आसन्न महाधिवेशनमा नीतिगत तहमै विद्यमान सङ्ख्यामा शतप्रतिशत थप गर्ने लक्ष्य राखेको थियो ।
“शतप्रतिशत थप्ने योजना भए पनि वितरित सदस्यताको अन्तिम छानबिन गरिँदा लगभग दुई लाखको सङ्ख्यामा सदस्यता थपिएर सदस्य सङ्ख्या पाँच लाख नाघ्ने भएको छ,” पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले बताउनुभयो ।
क्रियाशील सदस्यता सङ्ख्या अत्यधिक हुने जिल्लामा झापा, चितवन, कास्की, काठमाडौँलगायतका छन् । झापामा बाह्रौँ महाधिवेशनमा ११ हजार क्रियाशील सदस्य थिए । काठमाडौँमा नौ हजार मात्र रह्यो । यसअघि थोरै सदस्यता भएको जिल्लामध्येका एक मुस्ताङमा २४९ सदस्य भएकामा यसपटक ५०० पुग्नसक्ने देखिएको पार्टी कार्यालय स्रोतले जनाएको छ ।
राणा शासन विरुद्धमा सङ्गठित हुने क्रममा जननायक बिपी कोइरालाको सक्रियतामा २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको गठन भएदेखि नै क्रियाशील सदस्यताको प्रचलन रहेको हो ।
बिपीको सक्रियतामा २००३ कात्तिक १५ मा बनारसमा बस्ने नेपालीलाई सङ्गठित गरी देवीप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस नामक संस्था बनारसमा गठन गरिएको थियो । यसको प्रथम अधिवेशन २००३ माघ १२ र १३ गते भएको थियो ।
“तत्कालीन अवस्थामा काँग्रेसका २५ जना साधारण सदस्यले मनोनयन गरेको एक जना व्यक्ति राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि बन्ने र सो व्यक्ति नै क्रियाशील सदस्यका रुपमा रहने व्यवस्था थियो,” मुख्य सचिव तिवारीले भन्नुभयो ।
तिनताका काँग्रेसको एउटा साधारण सदस्यले दिनको न्यूनतम तीन घण्टा पार्टीका लागि काम गर्नुपर्ने व्यवस्था लागू गरिएको थियो । विसं २००६ सालमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच एकीकरण भएपछि सदस्यता विस्तारलाई थप व्यवस्थित बनाइयो ।
देशभित्रको चरम दमनका कारण आफ्ना चार–चार वटा महाधिवेशन विदेशी भूमिमा गरेको काँग्रेसले पाँचौँ महाधिवेशन स्वदेशमा सम्पन्न गरेसँगै सदस्यता वितरण कार्य थप व्यवस्थित बनाउने प्रयास गरेको थियो । भूमिगत अवस्थामा बिपीको हस्ताक्षरयुक्त क्रियाशील सदस्यता जिल्लाका पार्टी सभापतिमार्फत उपलब्ध गराइन्थ्यो ।
विधानअनुसार सदस्यता प्राप्त गर्ने योग्यता पुगेका व्यक्तिले क्रियाशील सदस्यता पाउन २०० रुपैयाँ शुल्कसहित पार्टीमा आवेदन दिन सक्छन् । नवीकरणलाई एकसय रुपैयाँ शुल्क बुझाउनुपर्छ । नयाँ सदस्यता शुल्क सबै केन्द्रमा बुझाउनुपर्छ । नवीकरण शुल्कको ४० प्रतिशत केन्द्रमा पठाउनुपर्छ ।
नवीकरण बापतको ६० प्रतिशत शुल्क २०–२० प्रतिशतका दरले गाउँ÷वडा, क्षेत्र र जिल्लामा सङ्गठनको काममा खर्च गरिन्छ ।
युरोप, अमेरिका, अष्ट्रेलिया, एसियाका जापान, दक्षिण कोरिया, हङ्कङलगायतमा जनसम्पर्क समितिबाट वितरण हुने नयाँ सदस्यताका लागि २५ अमेरिकी डलर र नवीकरणका लागि १२ दशमलव ५० डलर सदस्यता शुल्क तोकिएको छ ।
पार्टीको आसन्न महाधिवेशनको पूर्वसन्ध्यामा यस पटक क्रियाशील सदस्यता वितरण फागुन मसान्तमा सकिएर केन्द्रमा आउने क्रम जारी रहेको छ ।
सङ्गठनको नेतृत्वमा पुग्ने आधारशीलाको रुपमा लिइने क्रियाशील सदस्यता वितरणको विषय नेपाली काँग्रेसभित्र सधैँ चर्चाको विषय बन्ने गर्छ ।
नेतृत्वमा आफ्नो स्थान सुनिश्चित पार्न आफ्ना पक्षधरलाई वितरण गर्ने र आफू एवम् आफ्नो पक्षलाई जिताउने होडका कारण काँग्रेसको आन्तरिक राजनीति महाधिवेशनताका निकै चलायमान हुनेगर्छ ।
काँग्रेसमा साधारण सदस्यताको व्यवस्था भए पनि त्यसले खासै अर्थ राख्दैन । क्रियाशील सदस्यता पार्टीका गाउँ, नगरका वडा हुँदै क्षेत्र, जिल्ला र केन्द्रको पदाधिकारीका लागि अत्यावश्यक मानिन्छ । पार्टीको विधानले नेतृत्वमा जान क्रियाशील सदस्यतालाई बाध्यतात्मक बनाइदिएको छ ।
विधानअनुसार पार्टीको केन्द्रीय सभापति बन्न महाधिवेशन प्रतिनिधिहरुमध्येबाट कम्तीमा पन्ध्र वर्ष निरन्तर क्रियाशील सदस्य भएको व्यक्ति हुनुपर्छ । दश वर्ष निरन्तर क्रियाशील सदस्य भएका महाधिवेशन प्रतिनिधिहरु मध्येबाट महामन्त्री र कोषाध्यक्ष तथा सदस्यहरु बन्न सक्ने व्यवस्था छ ।
विधानले नै क्रियाशील सदस्य पार्टीकोे महत्वपूर्ण अङ्ग मानेको उल्लेख गर्दै सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले भन्नुभयो – “ पछिल्ला समयमा सदस्यताको आकाङ्क्षीको सङ्ख्या बढेको छ, पार्टीको विधान अनुरुप सदस्यताका चाहनेहरुलाई त्यो उपलब्ध गराइनु पर्दछ ।”
गत महाधिवेशनले क्रियाशील सदस्यतालाई समाजको तल्लो तह दलित, जनजाति तथा विपन्न वर्ग र समुदायमा पु¥याउने नीति लिएअनुरुप क्रियाशील सदस्यता वितरण भइआएको विभाग प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो ।
अघिल्लो महाधिवेशनमा ५५ हजार महिला क्रियाशील सदस्य थिए । यो सङ्ख्या आसन्न महाधिवेशनमा बढ्ने अनमान गरिएको छ । अबको महाधिवेशनले क्रियाशील सदस्यताका सम्बन्धमा पनि थप निर्णय लिने विभाग प्रमुख ढुङ्गानाको भनाइ छ ।
नेतृत्व हत्याउने सोचले पछिल्ला अवस्थामा भइरहेको सदस्यता वितरणले सदस्यताको महत्व र गरिमालाई दिन प्रतिदिन कमजोर बनाउँदै गएको गुनासो पनि पार्टीभित्र उत्तिकै छ । महाधिवेशनमा आफ्नो नेतृत्व स्थापित गर्ने सोचले पार्टीका नेताहरु ग्रसित बन्ने गरेको नेपाल प्राध्यापक सङ्घका सभापति रामेश्वर उपाध्यायले बताउनुहुन्छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति नेपाली काँग्रेसको क्रियाशील सदस्यता प्राप्त गर्न योग्य व्यक्तिहरु कैयन् भएको बताउँदै उपाध्यायले भन्नुभयो, “देशको प्रजातान्त्रिक आन्दोलनमा सात दशकदेखि निरन्तर सङ्घर्षरत काँग्रेसको नेतृत्वमा को आउने भन्ने कुरा ठूलो होइन । सदस्यता इमान्दार कार्यकर्ताले सहज रुपमा पाउनु पर्छ । नेतृत्व मात्रै हत्याउने सोचले भीडतन्त्र निम्त्याउनु हुँदैन ।” स्रोत हम्रकुरा डट कम