कवच : दुर्गा वनवासी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असोज २३।
बिरामी कुरुवा देवरलाई खाना पुर्याउन गएकी दिलमायाले निकैबेर पर्खिनु पर्यो अस्पतालमा । उसको ड्राइभर लोग्नेको हिजो दुर्घटनामा परेर अस्पताल लैजानु परेको । धन्न साहू असल
रहेछन् । अस्पतालमा भर्ना गरिदिए र सामान्य घाइते खलासी केटो हिजैदेखि कुरुवा बसेको । विचरी दिलमाया, डेरामा दुई छोरी छन् डेढ वर्ष र ६ वर्षका । त्यही ६ वर्षे बालिकाको काँधमा बहिनीको जिम्मेवारी दिएर आएकी । टाउकोमा गम्भीर चोट लागेको लोग्नेको भोलि हुने अप्रेशनको कागजी औपचारिकता पूरा गर्दागर्दै रातको साढे नौ भइसकेको थियो । घर नगए ती नाबालकको बिजोग हुने, त्यही भएर हतार हतार बाटो लागी । बाहिर कुनै सार्वजनिक सवारी साधन थिएनन् एक दुई वटा ट्याक्सीबाहेक । ट्याक्सी पनि कहाँ मान्छन् र गतिलो दाम नपाए, त्यही पनि रातिको कुरो ! बाटामा बत्ती बलेकै थिए, करिव ४५ मिनेट लाग्ला, हिसाब
गरी अनि छिटोछिटो पाइला चाल्न थाली
मूल बाटो सकिएर गल्ली छिरेको केही बेरमै आफ्नो पछाडि कोही आए झैँ लाग्यो, यसो हेरेको त ३÷४ जना हुल्याहा रहेछन् । एक्ली महिला सुनसान रात ! चिच्याएर गुहार माग्न मन लाग्यो, फेरि सोची– को आउला र यो स्वार्थी दुनियाँमा आफ्नो ज्यान जोखिममा पार्न ? गुण्डाहरूसँग हतियार पनि त हुन सक्थ्यो । ऊ झन् छिटो हिँड्न थाली, उनीहरुले पनि गति बढाए । अत्यन्तै डराएकी थिई ऊ, ती हुल्याहाहरु सँगै आइपुगेका थिए । ऊ टक्क अडिई, उनीहरु पनि उभिए लगभग उसलाई घेरेर ।
‘तपाईंहरु किन मेरो पछि लाग्नुभएको ?’ आँट गरेर सोधी ।
‘फूलको पछि भमरा किन घुम्छन्, थाहा छैन ?’ एउटाले भन्यो र सबै गलल्ल हाँसे ।
‘ए, तपाईंहरु फूलको पछि लाग्नु भएको ? ठीक छ, आउनोस्, स्वागत छ तर यति सुनसान रातमा यसरी निस्फिक्री फुल्न सक्ने फूलको वास्तविकता थाहा छ ? आउनोस्, भोग्नुहोस् धित मरुन्जेल तर मलाई लागेको एड्स घरमा श्रीमतिहरुलाई चाहिँ नसार्नु होला है !’
उसको कुराले जिल्लाराम भएका हुल्याहाहरु अघिकै बाटो कुलेलम ठोके । ऊ पनि शान्तिको सास फेर्दै झन् छिटो पाइला चाल्न थाली ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक