सायम कलेजको सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता

सायम कलेजको सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता

कपन अनलाइन

काठ्मान्डौ माघ २।

सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ ।
लिग फागुनको अन्तिम साता हुने सायमका प्रिन्सिपल अशोकराज पाण्डेले बुधबार पुरानो बानेश्वरस्थित सायम कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । चारै टिममा सायममा बीबीए, बीसीएसआईटी र एमबीएमा अध्ययनरत विद्यार्थी रहने छन् ।
एक टिम खरिद गर्न सम्बन्धितले अधिक्तम १ लाख खर्च गर्नु पर्ने छ । खेलाडीलाई २ समूहमा वर्गीकरण गरिने छ । ग्रेड ‘ए’ मा रहेका खेलाडीका लागि न्युनतम ५ हजार देखि अधिक्तम २५ हजार रुपैयाँ मूल्य तोकिएको छ । ग्रेड ‘बी’ का खेलाडीको मूल्य न्युनतम ५ हजार देखि अधिक्तम १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । एक टिमले १२ खेलाडी किन्नु पर्ने छ ।
पत्रकार सम्मेलनमा मार्की खेलाडी पनि सार्वजनिक गरिएको थियो । सायम सुपर किङ्समा दिनेश बोहरा, सायम च्यालेन्जर्समा अभिषेक भण्डारी, सायम ब्लास्टर्समा रोहित पोदार र सायम नाइट राइडर्समा श्रृजलराज शर्मा मार्की खेलाडी रहेका छन् । खेल १५–१५ ओभरको हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए ।
प्रिन्सिपल पाण्डेले विद्यार्थीहरुलाई जिम्मेवारीबोध गराउने उद्देश्यले प्रतियोगिता व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरुलाईनै सुम्पिएको बताए ।
सायम च्यालेन्जर्सले सर्वाधिक २ पटक उपाधि जितेको छ । च्यालेन्जर्स पहिलो र तेश्रो संस्करणको उपाधि विजेता हो । दोश्रोमा सायम सुपर किङ्स र चौथोमा सायम ब्लास्टर्स च्याम्पियन बनेका थिए । खेलस्थल तत्कालका लागि मूलपानी क्रिकेट मैदानलाई प्रस्ताव गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।