रमितेलाई रमाइलो : छायाँदत्त न्यौपाने ( लघु निबन्ध )

रमितेलाई रमाइलो : छायाँदत्त न्यौपाने ( लघु निबन्ध )

कपन अनलाइन

काठमाण्डौ ,असोज २३।

अचेल रमाइलो छ । बन्दाबन्दीले निमुखाको ढाडे सकेर रमाइलो । महलले झोपडीका घाम छेकेर अन्धकार फालेको रमाइलो । बजार भाउ ह्वात्तै आकासिएर झन् उल्कापात रमाइलो ।
अचेल राजनीति झन् बर्ता रमाइलो छ । देशको नीति नियम उधिनेको रमाइलो । कानुन मान्ने निमुखाले हो, चुनावमा बाकस हत्याउन र नाराजुलुसमा ढुङ्गा हान्न प्रयोग हुने लठैतले होइन । कार्यकर्ता कानुनभन्दा माथि उनीहरूलाई कानुन लाग्दैन ! चन्दा दिने धनाढ्यका लागि त कुनै कानुन छँदै छैन । विदेशीले यहाँको संविधान मान्नै पर्दैन ? महाशयलाई यहाँ भन्दा बर्ता रमाइलो कति चाहियो ?
अख्तियारले समातेर कारबाही गर्छ निमुखा, प्रहरीले पक्राउ गर्छ निमुखा, अदालतले सजाय गर्छ निमुखा ! राजनीतिक पार्टीमा पहुँच भाका वा नेताका आफन्त वा प्रशस्त घुस दिने सामथ्र्य भाका कसैलाई कानुनले छुन सक्छ ? छ कतै उदाहरण ? विदेशी हस्तक्षेप उस्तै छ । राजनीतिक गर्छौं भन्ने विलासीहरूका आ–आफ्नै पार्टी नामका डम्फु बज्छन् उनीहरू त्यसै अनुसार नाच्छन् । कही नभा जात्रा हाँडी गाउँमा ? परराष्ट्र नीति पनि पार्टी अनुसार फरक फरक ? अनि त योभन्दा ठुलो रमाइलो के हुन सक्छ ? लौ भन्नुहोस् महाशय आफै !
जनता जाबो एकछाके न हो ! जताको भान्सा स्वादिलो त्यतै लपक्क !न नीति नियमको ख्याल न सामाजिक काइदा कानुनको हेक्का ! जता मल्कु उतै ढल्कु ! न विचारको बिउ छ न विवेकको बिरुवा ? छ त स्वार्थ, लोभ, कपट, धुत्र्याईं भरिएको प्रतिस्पर्धा ! यतिविघ्न रमाइलो अन्त कतै देख्नु÷सुन्नु र भोग्नुभा छ महाशयले ?
अरू धेरै शाखा छन् भनेर तर्क गर्नुहोला ! अस्पतालमा जानुहोस् निमुखाका नाम छुट्याइएको सुविधामा लठैत वा धनवान्कै हालीमुहाली पाइन्छ ! शिक्षामा गए छात्रवृत्ति पाउने सम्पत्तिवाला वा राजनीतिक शक्तिवालाको हैकम नगन नृत्यमा मस्त देखिजन्छ । वित्तीय संस्थामा सर्वसाधारण नै तास्सिएको हुन्छ । अरबौं नाफा बाँडफाँड गर्ने संस्थाले गर्दै आएको भाषा संस्कृतिको जगेर्ना पनि खुम्चिएर मासिकबाट द्वैमासिक, त्रैमासिक हुँदै अर्धवार्षिकमा सीमित भएका नमुना छन् । वाङमय विनाको समृद्धि कस्तो होला ?
आहा यहाँ त कस्ता कस्ता गजबका रमिते भित्रिएका छन् कि अचेल, जहाँ जाऊ जता हेर रमितै रमिताको बोलबाला छ । टाढा किन जानू ? घररपरिवारमै सोझा सदस्यलाई निमोठेर बहादुर बन्ने रमाइलो संस्कार छँदै छ नि ! यही उत्तम होडबाजी मुलुकभरि !
अस्तु

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।