विभाजन :राजु क्षत्री अपुरो (लघुकथा)

विभाजन :राजु क्षत्री अपुरो  (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,असोज २३।

ऊ पेशाले कृषक थियो । थुप्रै भेडा बाख्राहरू पालेको थियो । दिनानुदिन उसको खोरमा भेडाबाख्राहरूको संख्या बढ्न थाले । चरणको अभाव हुँदै गयो ।
उसको गाउँपारि एउटा ठूलो जङ्गल थियो । जङ्गल र गाउँको बीचमा एउटा नदी थियो । नदीमा पुल थिएन । एक्लैले पुल बनाउन असमर्थ थियो, ऊ ।
भेडाबाख्रा भोकले कराउँथे तर ऊ विवस थियो । भोकले आत्तिएका भेडा बाख्राहरू पारी घाँसको लोभले नदी तर्न खोज्दा केही बाख्राहरू बगाएको
उसले आफ्नै आँखाले देखेको थियो ।
अब ऊ सँग अब एउटै विकल्प थियो, कि त भेडा बाख्राको संख्या घटाउने, कि त नदीलाई दुई तीन भागमा विभाजन गर्ने। उसले दोश्रो उपाय रोज्यो ।
ऊ नदीको आधा पानी तर्काउन दिन रात खटियो। ठुला ठुला ढुङ्गाको सहारा लिएर नदीको आधापानी अर्कै तिर मोड्न सफल भयो ।
अन्ततः पानीको बेग कम भयो। उसका भेडाबाख्रा पारी जङ्गलमा सजिलै पुगेर चर्न थाले ।
पारी जङ्गलमा विचरण गर्ने केही मांसाहारी प्राणीहरू बाहेक अरुलाई भने यो कुरा पटक्कै चित्त बुझेको थिएन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।