हिमालमा : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज १६।

नभ सागर निर्मल खुल्छ यहाँ
नव कान्ति अनेकन झुल्छ यहाँ
नव सिर्जन कल्कल डुल्छ यहाँ
सुख दौलत झल्मल मिल्छ यहाँ ।।१।।

जसरी वनमा लयमा छ चरी
जग पुग्दछ रे जयमा त्यसरी
मन चढ्छ पहाड कतै नझरी
पदचाप यहाँ भयको कसरी ? ।।२।।

म त वादलका सँग डुल्छु त्यतै
र चुलीतिर निर्भय भुल्छु निकै
मन तान्छ सुधामृत हर्हरले
छु तरङ्गित है म त सिर्सिरले ।।३।।

घरका–परका न विभेद यहाँ
रचना गरिएछ कि वेद यहाँ ?
हुनुहुन्न कुनै छलछाम यहाँ
न त कानुनको छ लगाम यहाँ ।।४।।

धनको न कुनै छ रवाफ यता
मनको न कुनै छ अभाव यता
रिपुका डरको न त नाम यता
जन–सज्जनको सुख–धाम त्यता ।।५।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।