चार मुक्तक : चन्द्रा न्यौपाने

चार मुक्तक : चन्द्रा न्यौपाने

कपन अनलाइन
काठमाडौं कार्तिक २।
थर्किने तन चर्किने मन कहनु कसरी ?
मुटुमा किला असह्य पीडा सहनु कसरी ?
रूपमा मान्छे, मान्छेकै भक्ष्य, बन्दिंदा पिशाच,
मानव भनी गर्वमा पनि रहनु कसरी ?

विध्वंसकारी प्रकृतिको रौद्र रूप यो नापिन्छ खै कसरी ?
अपूरणीय क्षति असह्य पीडाबीच हाँसिन्छ खै कसरी ?
देशै रोइरहेको आकुलव्याकुल परिस्थिति छ विषम,
शोकैशोकले चुर्लुम्म विक्षिप्त यो मन थामिन्छ खै कसरी ?

सकल मानवमा मानवीय भावना जगाउनु छ जसरी पनि
बल्किरहेका यी घाउहरूमा मलम लगाउनु छ जसरी पनि
मानवीय जुनी जसोतसो बाँची होइन खालि खरानी बन्नमात्र,
ढाल बनी आइपरेका अड्चनहरू भगाउनु छ जसरी पनि ।

यो विषम परिस्थितिमा हातमा हात काँधमा काँध मिलाएर
भवसागर अश्रुभेल रोक्दै च्यातिएका मनमुटु सिलाएर
बढ्नु छ अघि आला घाउहरूलाई नूनचूकबाट जोगाउँदै,
चह¥याइरहेका पिलाहरूलाई शीतल मलम दिलाएर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।