अब खाने र खुवाउने दुबै समातिने

कपन अनलाइन

काठमाण्डौ ,असार २५।

आर्थिक वर्ष सकिनै लाग्दा अधिकांश पालिका, आयोजना र समितिहरू बील भरपाईको जोगाडमा लागेका छन् । चालु आर्थिक वर्ष २०७७/०७८ को १० दिन मात्र बाँकी हुँदा विशेषगरी मुलुकभरका स्थानीय तहमा रकम कलम मिलाइएका सूचनाहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको श्रोतको दावी छ ।
जताततै कोरोना महामारी र बाढी पहिरोको कारण सडक मार्ग अवरुध्द भएकाले सूचना पाए पनि टिम त्यहाँ तत्काल पुग्न नसक्ने अवस्था बनेको हो । विगतमा पनि यसैगरी असार लागेपछि बील र कागजात मिलाउने अभियान नै चलेको थियो । यसबीच भएका निर्माण र खरिदको भुक्तानी गर्ने क्रममा ती कागजातको सहारा लिने गरिएको बताइन्छ ।
अख्तियार स्रोत भन्छ, ‘एउटा कोठामा बसेर यसो गरे, उसो गरे भन्ने खबरहरू आइरहेको छ । तर परिस्थितिले तत्काल त्यहाँ पुग्नसक्ने अवस्था छैन ।’ अर्कोतर्फ स्टिङ अपरेशनमा अदालतले अवरोध नगरेको स्रोत बताउँछ । ‘घुस खाने र खुवाउने दुबैलाई एकैसाथ पक्रनु मात्र भनिएको हो’, अदालतको आदेशको व्याख्या गर्दै आयोगका एकजना उच्च अधिकारीले बताए । विगतलाई हेर्दा असार महिनामा भएका निर्माण र खरिद कार्यको भुक्तानीसँग सम्बन्धित केसहरू निकै बढी हुने गरेको छ ।सामाचार साभार :जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।