तपोवन यात्रा : सुदीप पोखरेल ( यात्रा संस्मरण )

तपोवन यात्रा : सुदीप पोखरेल ( यात्रा संस्मरण )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २४।

बाइसौँ स्रष्टा पदयात्रामा सहभागी हुने अवसरले म निकै पुलोकित भएँ । यो पदयात्रा स्वस्थ सिर्जनाका लागि समर्पित साहित्य यात्रा हो । प्रत्येक महिनाको पहिलो शुक्रबार विभिन्न स्थानहरूको अध्ययननअवलोकनका साथमा आफ्ना सिर्जना प्रस्तुत गरी सम्पन्न गरिने यस पदयात्रामा म प्रथम पटक सहभागी हँुदै थिएँ ।

पदयात्राको दुई दिन अघि नै पाटन क्याम्पसका सहकर्मी आदरणीय डा. धनप्रसाद सुवेदी सरले फोन गरेर शुक्रबार क्याम्पसमा पठनपाठन समाप्त भएपश्चात् त्यतैबाट पदयात्रामा निस्कनु पर्छ भनी सल्लाह गर्नु भएको थियो । त्यसै अनुसार शुक्रबार क्याम्पसमा हाम्रो भेट भयो र त्यहँबाटै पदयात्राका लागि आवस्यक पर्ने खानेकुरा, फलफुल आदि पाटनढोकामा किन्यौँ ।

यो पदयात्राको गन्तव्य ओसो तपोवन रहेको थियो । सबैजना बालाजु बाइपासमा जम्मा भएर त्यहाँबाट ओसो तपोवन तर्फ यात्रागर्ने पूर्व निधारित कार्यक्रम रहेको थियो । पाटन क्याम्पसबाट निस्किएर धन सर र म हरिहरभवन पुग्यौँ र बसपार्क जाने बसको प्रतिक्षा गयौँ । करिब आधा घण्टाको प्रतीक्षापछि साझा बस चडेर हामी गन्तव्यतर्फ लाग्यौँ ।

बसयात्राका क्रममा हामीले विभिन्न शैक्षिक, सामाजिक र राजनीतिक विषयमा कुराकानी पनि गयौँ । हामीलाई बालाजुमा आइपुग्न दिएको समय करिब एक घण्टा अगाडि नै सकिसकेको थियो । धन सरलाई लगातार फोनका घण्टीहरु आइरहे ।

म प्रथम पटक सहभागी भइरहेको हुनाले धन सरबाहेक अरु पदयात्रीमध्ये कतिलाई मैले चिनेकै थिइँन भने कतिजनासँग मेरो सामान्य चिनजान मात्र थियो, कतिजानाको नाममात्र सुनेको थिएँ । मनमा अनेक कुतूहल, उमङ्ग र नवीन उत्साहाका साथ म जिवनकै प्रथम सोद्दश्यपूर्ण, सङ्गठित पदयात्रमा सहभागी भइरहेको थिएँ । हामी चडेको साझा बस हरिहरभवनबाट करिव ४५ मिनेटमा नयाँबसपार्क पुग्यो । हाम्रो भेट हुने स्थान बालाजु बाइपासको अष्टनारायण चलचित्रहल अगाडि
थियो । बसपार्कबाट हामीले बाटो काटेर बालाजु बाइपास पुग्यौँ । अघिदेखि हाम्रो प्रतीक्षा गरिरहनु भएका पदयात्री तथा आदरणीय साहित्यकार शीतल गिरीज्यूले हाम्रो स्वागत गर्नुभयो । हामी दुई बाहेक ६ जना अरु स्रष्टायात्री अगाडि नै जम्मा भइसक्नु भएको रहेछ ।

यसरी हाम्रो आठ जनाको पदयात्री समूह २२ औँ यात्रामा निस्कन तम्तयार थियो । त्यस पदयात्रामा शीतल गिरी, डा. धनप्रसाद सुवेदी, डिल्लीराम अर्याल, जसध्वज गुरुङ, एन बि जनकपुरी, डा . भट्टराई , शान्ति सापकोटा र म सहभागी
थियौ।

बालाजु बसर्पाकमा मेरो अरु पदयात्री सँग चिनापर्ची भयो । त्यसपछि हामीले यात्रामा आवश्यक पने केही खानेकुरा पुनः किन्यौँ । पदयात्रामा सहभागी हुने सदस्यका लागि ज्याकेट र ट्रयाकको व्यवस्था गरिएको रहेछ । संस्थाको लोगोसहितको उक्त पोसाकमा सबै जनाउपस्थित हुनुहुन्थ्यो । म प्रथम पटक सहभागी हुदैगरेकाले मैले त्यो पोसाक भने लगाएको थिइँन ।

सहभागीहरूले घरबाटै खानेकुराहरू कसले के खानेकुरा ल्याउने भनेर अगाडि नै निर्धारण गरिने र त्यसैअनुसार पदयात्री सदस्यले गर्ने व्यवस्था रहेछ । मैले चाहिँ घरमा बनाउन सम्भव नभएकाले फलफुल र केही खानेकुरा तथा चकलेटहरू किनेको थिएँ । पदयात्रा सुरु गर्नुअघि चियानास्ता गरेर निस्कने सल्लाह भयो । हामी सबै पदयात्रामा सहभागीहरूले त्यहीँको होटलमा चियानास्ता खायौँ ।

त्यतिगर्दा बिहानको करिब साढे आठ बजिसकेको थियो त्यपछि मैले केही बोतल पानी किनेर झोलामा राखेँ । अब हामी गन्तव्यमा जानका लागि तम्तयार भयौँ ।
बालाजुको अष्टनारायण हलबाट हाम्रो पदयात्रा प्रारम्भ भयो । शिवपुरी नागार्जुन राष्टिय निकुञ्जको किनारैकिनार हाम्रो यात्रा अगाडि बढ्यो । शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जको किनारमा लमतन्न परेर सुतेको शीतल सडक आफ्नो छातीमाथि हामीलाई हिँडाइरहेको थियो । अनेक किसिमका वनस्पति र बोटबिरुवाले हात हल्लाएर हामीलाई स्वागत गरिरहेका थियो ।

त्यस राष्ट्रिय निकुञ्जका अनेक भ्याउँकिरीहरूले हाम्रो आगमनका लागि स्वागतगान गाइरहेको प्रतीत हुन्थ्यो । एकातिर ढुङ्गाका विशाल पर्वतरूपी चट्टानहरू र त्यसमा विकसित भएको प्राकृतिक दृश्य तथा अर्कातिर मनोरम मानवबस्तीका दृश्यहरुले मानौँ पर्यावरण र मानिसका बिचमा अनुपम संयोजन सहितको अङ्कमाल भइरहेको छ भन्ने आभास हुन्थ्यो ।

सहरको धुवाँधुलो र कोलाहलबाट एकछिन भए पनि हामीले मुक्तिको श्वास फेरिरहेका थियौँ । प्रकृतिको सन्दर काखमा केही युवायुवतीहरू अपरिमित प्रेमको आलिङ्गनमा रत भइरहका दृश्यहरू देखिन्थे । प्रकृतिको काखमा रमाउन चाहनेहरूको सुविधाको लागि सडकका दायाँ किनारामा विभिन्न होटल र रेस्टुरेन्टहरू स्वागतार्थ लामवद्ध देखिन्थे ।

करिब पाँच किलोमिटर हामीले यस्तै प्राकृतिक पर्यावणमा फोक्सोभरि श्वास लिएर यात्रा गरेका थियौँ । त्यो मार्ग लप्सीका रुख तथा अन्य विभिन्न वनस्पतिहरूले आच्छादित थियो । अत्यन्त सुरम्य मार्ग । आन्दमय शीतलताले युक्त । त्यस जैविकमार्गमा हामीले करिब एक घण्टा व्यतीत गयौँ । जसध्वज गुरुङ पर्यावरणमैत्री चेतनाले युतm हुनुहुदो रहेछ ।

बाटोमा भेटिएका फोहोरहरुको व्यवस्थापन गर्दै हिँडिरहनु भएको दृश्य हाम्रा लागि महान् प्रेरणा थियो । शिवपुरी पदमार्गको दायाँपट्ठि रहेको विस्तृत आकारमा फैलिएको नेपालटार परबाट निकै आकर्षक देखिन्थ्यो । त्यस फाँटमा लगाइएका हिउँदे बालीनालीहरू निकै चिताकर्षक र मनमोहक थिए ।
बालाजु बाइपासबाट हिडेको एक घण्टापछि हामी शिवपुरी नागार्जुनको महामार्ग छिचोलल्दै काठमाण्डौको पुरानो बस्ती मुड्कु भन्ज्याङ पुग्यौँ। हामीले केहीबेर त्यहाँ आराम गयौँ । मुड्कु भन्ज्याङकै एक होटलमा चिया खायौँ ।

हामीले लगेका खानेकुराहरू सबैले बाँडेर त्यहीँ खायाँै । राष्ट्रिय निकुञ्जको किनारैकिनार गरिएको यात्राले हामीलाई पुनतजिगी त दिएकै थियो, खाना खाएपछि झन् स्फूर्ति र ऊर्जा प्राप्त भयो । करिब ४५ मिनेट जति खानामा समय खर्च गरेपछि १०.३० तिर त्यहाँबाट हामी हाम्रो गन्तव्य ओसो तपोवनतर्फ प्रस्थान गयौँ ।

करिब आधा घण्टा जति हिँडेपछि हामी ओसो तपोवन पुग्यौँ । त्यहाँको सुरम्य प्राकृतिक वातावरणले हामीलाई अलौकिक आनन्द प्राप्त भयो । हाम्रो त्यस तपोवन भ्रमण तथा ओसो आनन्द अरुणसँग भेटघाटको व्यवस्थापन मीना श्र्रेष्ठज्यूले गर्नु भएको थियो । करिब दिउँसोको १२ बजेतिर हामी ओसो तपोवन प्रवेश गयौँ । सुरुमा प्रतीक्षालयमा केही समय व्यतीत गयौँ ।

त्यहाँ ओसो र ओसोसँग समबन्धित विभिन्न पुस्तकहरूको भव्य पुस्तकालय रहेछ । प्रतीक्षालयमा हामीले केही समय ओसोको पुस्तक पढ्यौँ । त्यसपछि तपोवनभित्र प्रवेश गयौँँ । तपोवन अत्यन्त आकर्षक र व्यवस्थित रहेछ । तपोवन प्रवेश गर्नु अगावै तपोवनका गतिविधि, त्यहाँ पालना गर्नुपर्ने नियमहरूको जानकारी हामीलाई दिइएको थियो ।

तपोवन प्रवेशको ठाउँठाउँमा शान्त रहन आग्रह गरिएका पोस्टरहरू टाँसिएका थिए । जङ्गलभित्र व्यवस्थित रूपमा बनाइएका तपस्थल, ध्यानकेन्द्र, मृत्युको बोध गराउने घाट आदिले हामीलाई छुट्टै आत्मिक अनुभव गरायो ।

तपोवन परिसरमा रहेका सुन्दर बगैँचाहरू, त्यहाँ फुलेका अनेकथरी फूल, तलाउ, आदिले मनमा छुट्टै आनन्द र ऊर्जाको सञ्चार भयो । तपोवनभित्रका ध्यान केद्रहरूमा मानिसहरू शान्तभावमा ध्यान गरिरहेका दृश्ले फरकपनको अनुभव गरायो । जतिजति तपोवन घुम्दै गयो त्यति नै फरकआनन्द र ऊर्जाको सञ्चार भयो ।

हाम्रो अर्को कार्यक्रम ओसो आनन्द अरुणसँग भेटघाट गर्ने, आफ्ना रचना सुनाउने थियो ।तपोवनको परिभ्रमणपश्चात् हामी तपोवनभित्रकै सुन्दर प्रतीक्षालयमा अरुण आनन्दसँग भेट गर्न प्रतीक्षामा बस्यौँ । करिब १२.४५ तिर ओसो आनन्द अरुणको प्रतीक्षालयमा आगमन भयो । उहाँले हामी सबैको स्वागत गर्नुभयो ।

आनन्द अरुणसँगको त्यस भेटलाई व्यवस्थित बनाउन एउटा सामान्य औपचारिक किसिमको कार्ययोजना बनाइयो । त्यस कार्यक्रममा सभाध्यक्षका रूपमा शीतल गिरी रहनुभयो । विशेष अतिथिका रूपमा मीना श्रेष्ठ रहनुभयो । त्यस कार्यक्रमको सञ्चालन डा. धनप्रसाद सुवेदीले गर्नुभयो । सुरुमा परिचयात्मक कार्यक्रम राखियो ।

ओसो आनन्द अरुणले अभिरुचिपूर्वक सबैको परिचयात्मक सूचना ग्रहण गर्नुभयो । त्यसपछि उहाँले स्रष्टा पदयात्राका बारेमा विभिन्न जिज्ञासा निक्कै अभिरुचिपूर्वक राख्नुभयो । त्यसपछिको कार्यक्रम स्रष्टाहरूका सिर्जना प्रस्तुत गर्ने थियो । सहभागी सबै स्रष्टाहरुले आफ्ना रचनाह प्रस्तुत गर्नुभयो ।

सबैका रचनाहरू उहाँले अभिरुचिपूर्वक सुन्नुभयो । ओसो आनन्द अरुणले ओसो र उहाँको दर्शनका बारेमा जानकारी गराउनुभयो । ओसो तपोवन स्थापना गर्नुको उद्देश्य तथा आगामी योजनाहरू प्नि सबैसमक्ष जानकारी गराउनुभयो ।करिब एब घण्टासम्म ओसो आनन्द अरुणसँग हामीले व्यतीत गयौँ । त्यसपछि ओसो तपोवनका तर्फबाट हामीलाई चियाखाजाको व्यवस्था भयो ।

ओसो आनन्द अरुणले पनि हामीसँगै बसेर खाजा ग्रहण गर्नुभयो । उहाँको भव्य, शालीन र शान्त व्यक्तित्व  अत्यन्त आकर्षित थियो । दिव्य मुस्कानसहितको मधुर बोली र तेजस्वी आँखा हाम्रा लागि पे्ररणका स्रोत थिए ।

करिब दुई बजेतिर हामी ओसो तपोवनबाट बिदा भएर बाहिर निस्कियौँ । ओसो तपोवनबाट बाहिर निस्कँदा पनि तपोवनभित्र प्राप्त भएका आत्मिक महान् शान्ति, प्रसन्नता तथा दिव्यानुभूति बाँकी नै थियो । मेरा लागि त यो यात्रा झन् अकल्पनीय, अद्भूत र प्रेरणप्रद थियो ।

ओसो तपोवनबाट बाहिरिएपछि हामी ओसो तपोवन भन्दा माथितिर रहेको भ्युटावर अवलोकन गर्न त्यसतर्फ लाग्यौँ । करिब बिस मिनेट जतिको पैदलयात्रा पछि हामी त्यहाँ पुग्यौँ । भ्युटारबाट काठमाडौँ उपत्यकाका विभिन्न भागहरू देख्न सकिने स्थान, ललितपुर र भक्तपुरको  दृश्यावलोकन गर्न सकिने रहेछ ।

करिब आधाघण्टा जति हामीले त्यस भ्युटावरमा व्यतीत गयौँ । त्यसपछि हामी भ्युटावरबाट तल झरेर जङ्गलैजङ्गल मुडकु भन्ज्याङ निस्कियौँ । त्यसपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको किनारैकिनार करिब एक घण्टा जतिमा पुनः हामीले यात्रारम्भ गरेको बालाजु बाइपास आइपुग्यौँ । त्यसपछि अर्को पदयात्रामा भेट्ने वाचाका साथ सबै आ–आफ्नु गन्तव्यतिर लाग्यौँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।